अबुजा । नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएका छन् ।
अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोकोहराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरूको हात रहेको देखिएको हो ।
गत दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीहरू मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ । यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ ।
यहाँको बोर्नाे राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोकोहरामका दुई जना कमान्डर मारिएका छन् ।
उनीहरूका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्य गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकु कमान्डर मारिएका बताइएको छ ।
यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोकोहराम र अरू स्थानीय आतङ्ककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए । (रासस/सिन्ह्वा)