काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको फुटपाथबाट ठेला खोसिदिएपछि समस्यामा परेकी शर्मिला तामाङले रोजगारी दिनुपर्ने राज्यले उल्टै उठिबास लगाएको बताएकी छन् ।
बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भनिन्, ‘के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउने ?’
तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महागरले अमानवीय व्यवहार गरेको बताइन्। आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन् ।
थापाथलीस्थित प्रसुति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजरा चलाउँदै आएकी थिइन् ।
हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाईले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन् । रामेछाप मन्थली घर भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कस्लाई भन्ने भन्दै भावुक भइन् ।
गाउँको जग्गा जमिन बाँजो राखेर किना फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्ने मान्छेहरुलाई उनले प्रश्न गर्दै भनिन्, ‘गाउँघरमा हामीले व्यापार व्यवसाय वा जमिनमा खेती गर्ने वातावरण चाहिँ खोई त ?’
काठमाडौं महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका हुन्।
नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले विना बिकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र साहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनी विरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरे ।