काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेला खोसेपछि भक्कानिदै ठेला राखेको ठाउँसम्मै पुगेकी शर्मिला तामाङलाई धरानका मेयर हर्क साम्पाङले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
मेयर साम्पाङले पठाएको सो रकम शर्मिलालाई हस्तान्तरण गरेको भिडिओ ट्विटरमा सेयर गर्दै उनले लेखेका छन्, ‘बहिनी कहिल्यै हरेस नखानु, मान्छे त हरेक दिन जन्मन्छ र मर्छ । तर मानवता मर्नु हुँदैन । हामीले गर्ने राजनीतिले कसैको गास नखोसोस् । धनी त धनी भइहाल्यो नि, गरिबका लागि बन्नुपर्छ सरकार भन्ने मेरो भनाइ हो ।’
रकम लिँदै शर्मिलाले भनेकी छन्, ‘दाइ अहिले मेयर हुनुहुन्छ, अझ ठूलो ठाउँमा पुग्नू’

युएन पार्कनजिकै बागमती किनाराको सुकुम्वासी बस्तीमा बनाइएको झुपडीमा बस्दै आएकी शर्मिलाको ठेला बिहीबार काठमाडौं नगर प्रहरीले खोसेको थियो ।
थापाथलीस्थित प्रसूति गृहको दुई नम्बर गेट अगाडि पानीपुरी र चटपटे बेच्ने ठेला खोसिएपछि उनले रोएका र बिलौना गरेका भिडिओ अहिले भाइरल भइरहेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पछिल्लो समय फुटपाथ गरिने व्यापार बन्द गराउने अभियानमा छन् । त्यसका लागि उनले सडक र फुटपाथमा गरिने ठेलासहितको व्यापारलाई निषेध अभियान नै चलाएका छन्।
बालेनको कार्यशैलीको आलोचना गर्दै आएका साम्पाङले शर्मिलालाई एक महिनाको तलब दिने घोषणा त्यतिबेलै गरेका थिए ।