मस्को । क्रिमियालाई रुससँग जोड्ने मुख्य सडक र रेलपुलमा कारबम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।
मस्कोका अधिकारीका अनुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्रिमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रुसी समाचार एजेन्सीले जनाएका छन् ।
विस्फोटपछि क्रिमियाली पुलको रेल र सडक दुवै भागमा यातायात स्थगित गरिएको छ । विस्फोटका कारण केर्च स्ट्रेटमा यात्रा गर्ने क्रममा मालवाहक रेलमा आगो लागेको थियो ।
तमान प्रायद्वीपबाट आउँदै गरेको एउटा विस्फोटक पदार्थ राखिएको ट्रकमा शनिबार बिहान ६ः०७ बजे क्रिमियाली पुलको सडक भागमा विस्फोट भएको थियो । बिस्फोटका कारण क्रिमियाली प्रायद्वीपतर्फ जाँदै गरेको रेलको इन्धनको सातवटा ट्याङ्कीमा आगो लागेको थियो ।
‘विष्फोटका कारण पुलको दुई भाग आंशिक रूपमा भत्किएको छ‘ रुसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिनुभएको छ ।
रसियाको फेडरल एजेन्सी फर सी एन्ड इनल्यान्ड वाटर ट्रान्सपोर्टका अनुसार केर्च स्ट्रेटपार गर्ने नेभिगेसन मार्गमा कुनै अवरोध आएको छैन ।
यस बम आक्रमणका लागि राष्ट्रियता विरोधी तथा आतङ्ककारी समूहमाथि आरोप लगाइएको मस्कोका अधिकारीले जानकारी दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरिएको र २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण लैजानका लागि र साथै त्यहाँ सेना लैजानका लागि एक प्रमुख यातायात साधन थियो । रुसले युक्रेनमा लडाइँ भए पनि पुल सुरक्षित रहेको बताएको थियो । (एजेन्सी)