तेहरान । इरानले रुसलाई हतियार नपठाएको दाबी गरेको छ । इरानका विदेशमन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।
रुसयुक्रेन द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको स्पष्ट गरेको छ ।
इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उहाँका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराउनुभएको हो । अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि इरानले रुसलाई हतियार पठाउने कुनै पनि योजना छैन भन्नुभएको इरानी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालै मात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको सत्रुतापूर्ण व्यवहार रहेको बताउनुभएको थियो । (रासस/सिन्ह्वा)