क्विटो । इक्वेडरको एउटा जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झड्पको क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन् ।
उनीहरूका अनुसार इक्वेडरको दक्षिण–पश्चिमी सहरको गावाकिल भन्ने स्थानमा रहेको जेलमा बन्दीका बिचमा झड्प भएको थियो । सो झड्पमा परेर बुधबार केहीको ज्यान गएको थियो । घाइतेलाई अस्पताल राखिएकोमा थपको मृत्यु भएको थियो ।
सो जेलमा प्राय लागुऔषध कारोबारीलाई राखिएको छ । उनीहरूका दुई पक्षका बिचमा सो झड्प भएको बताइएको छ । त्यस झड्पमा परेर अरू केही घाइते भएका पनि यहाँको जेल सेवाका अधिकारीहरूले जनाएका छन् ।
उक्त जेलमा रहेका दुई पक्षका बिचमा झड्प भएपछि प्रहरीले बलप्रयोग गर्नुपरेको थियो तर ती दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधार तोडफोड गर्न खोजेको थिए ।
यस देशमा यसै वर्षको फेबु्रअरीदेखि देशका विभिन्न जेलमा तोडफोड सुरु गरेका छन् । तीमध्ये अधिकांश जेल लागुऔषधका कारोबारी राखिएका जेलका रहेका छन् ।
यसरी भएका भिडन्तमा परेर फेबु्रअरीदेखि अहिलेसम्म कम्तीमा पनि चार सय जनाले ज्यान गुमाएको यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयले जनाएको छ । (रासस÷सिन्ह्वा)