तेहरान । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा सुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिचको भएको झडपमा सेप्टेम्बर ३०, २०२२ शुक्रबारका दिन १९ जनाको मृत्यु भएको छ ।
कुर्दिस महिला, महसा अमिनी अनुचित पोसाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो ।
इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ । इरानी प्रदर्शनकारी र प्रहरीबिच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो ।
इरानको सुन्नी अल्पसङ्ख्यकका उपासकहरूले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।
मस्जिदभित्र बाट खिचिएको एउटा भिडियोमा उपासकहरू बाहिर निस्किँदै गर्दा बाहिर बन्दुक पड्किएको आवाज सुनिएपछि भागदौड मच्चिएको थियो । (रासस–एएनआई)