पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सेप्टेम्बर ३०, २०२२ शुक्रबार युक्रेनी भूभाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको दाबी गरेको छ ।
उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भूभाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेकोसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ट्विट गर्दैरुसको चार युक्रेनी क्षेत्र गाभ्ने कदम अवैध भएको, यसले अन्तर्राष्ट्रिय कानुन र युक्रेनी सार्वभौमिकताको गम्भीर उल्लङ्घन गरेको बताएका छन् ।
‘फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भूभागमा पूर्ण स्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुन: प्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिने छ’ उनले ट्विटरमा लेखेका छन् ।
रुसी कदमको पश्चिमी व्यापक आलोचना
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई छिटो र गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
उक्त कदमलाई अवैध भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैँ युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिक रूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुन: प्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने बताएका छन् ।
सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले सेप्टेम्बर ३०, २०२२ शुक्रबार लुगान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियालाई आफ्नो क्षेत्रको हिस्सा घोषणा गरेको थियो । (रासस–एएनआई)