धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरालाई जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डललाई पूर्णता दिँदै नेकपा (एकीकृत समाजवादी)का सांसद तारालामा तामाङलाई मन्त्री र सोही दलका माया तामाङ (बोहरा) लाई र राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्री र राज्यमन्त्रीलाई शुक्रबार नै शपथ गराइएको छ ।
तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी हुनुभएको थियो । माधव नेपाल समूहमा रहेर भीम रावलसँग निकट रहेका तामाङ्ग एमाले कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । एमाले विभाजनपछि तामाङले एकीकृत समाजवादी रोज्नुभएको हो ।
यस्तै बझाङकी सांसद माया बोहरा भने एमाले ओली पक्षमा हुनुहुन्थ्यो । गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली समूहका ७ सांसदमध्ये एक बोहरा एमालेको विभाजनमा ओली समूह छोडेर एकीकृत समाजवादी पार्टी रोज्नुभएको हो ।
यो सँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ११ जना मन्त्री पुगेका छन् ।