काबुल । अफगानिस्तानमा व्यावसायिक हवाइ उठान सुरु हुन थालेको छ । त्यस क्रममा पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ ।
तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो ।
इस्लामाबादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रु भन्दा बढी धेरै विमानका कर्मचारी रहेको जनाएका छन् । पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि आइतबार बताइएको थियो ।
पाकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमित गर्ने जनाएको थियो ।
अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका छन । पिआइएबाहेक अरू देशका विमान कम्पनीले भने उडान सुरु गरेका छैनन् । (रासस/एएफपी)





