बेइजिङ । चीनले अफगानिस्तानको तालिबान सरकारलाई समर्थन गरेको छ । विश्वका धेरै देशले तालिबान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।
चीनले तालिबान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ ।
चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिबानलाई प्रारम्भिक सहयोगस्वरूप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताउनुभयो । उहाँले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालीन सहयोगको रूपमा समेतमा व्याख्या गर्नुभयो ।
सहयोगअन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधिजन्य पदार्थलगायत पनि रहने प्रवक्ताले जानकारी दिनुभयो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसक्नुभएको छ । तर खोप कहिले उपलब्ध हुन्छ भन्नेबारे यकिन हुन सकिरहेको छैन । (रासस÷एएनआई)