बेइजिङ । चीन र अमेरिकी विदेशमन्त्रीमाझ आइतबार फोनवार्ता भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनमाझ फोनमा कुराकानी भएको सिन्ह्वाले जनाएको हो ।
उहाँहरूमाझको फोनवार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयमा कुराकानी भएको छ । यसका अतिरिक्त उहाँहरूमाझ अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको छ ।
त्यस क्रममा उहाँहरूमाझ अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।
अमेरिकी सेनाहरू त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताउनुभएको थियो । साथै उहाँले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठुलो सङ्ख्यामा रहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्ने चुनौती बाँकी नै रहेको पनि बताउनुभयो ।
यस्तो अवस्थामा सबै विश्व समुदाय र संयुक्त राज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उहाँले बताउनुभयो ।
हाल अफगान नागरिकलाई उनीहरूको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उहाँहरूबीच कुराकानी भएको बताइएको छ ।
आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरूको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीले के कस्तो नीति अख्तियार गर्ने छन् ? त्यसमा अफगानिस्तानको भविश्य निर्धारण हुने पनि उहाँमाझ कुराकानी भएको थियो ।
अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरू आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरूलाई सुरक्षित आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्वसमुदाय र संयुक्त राष्ट्र सङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताउनुभयो । (रासस/सिन्ह्वा)