• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

पूर्वीय विश्वको भौतिकवादप्रतिको दृष्टिकोण


  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  •  प्रकाश थापा मगर

    Advertisement

    मानव समाजको इतिहासअनुसार पृथ्वीको एक ठाउँबाट अर्को ठाउँमा विचरण गर्नु मानिसको प्राचीन प्रवृत्ति नै थियो । प्राचीन मानवको उत्पत्ति मध्य–एसिया वा अफ्रकामध्ये जहाँ भएको भए पनि त्यहाँबाट विश्वभरि नै फैलिने क्रम सुचारु रहेको थियो । त्यस क्रममा प्राचीन मानव नेपाली भूगोलसम्म आइपुगेका थिए । हालको बुटवलमा प्राचीन मानवको बङ्गरा भेटिनुबाट यो तथ्य पुष्टि हुन्छ । यसरी मानव समाजको इतिहासमा नेपाल पनि प्राचीन भूमि हो भन्ने प्रष्टै छ ।

    विश्वमा मानवको मूलतः तीन प्रजाति (नश्ल) पाइन्छन्– आर्य, मङ्गोल र निग्रो । त्यसमध्ये निग्रोको उद्गमभूमि अफ्रिका नै हो भन्ने प्रष्टै छ । मानवशास्त्रीहरूका अनुसार आर्य र मङ्गोलको उत्पत्ति भने युरोप र एसियाको मध्यभागमा पर्ने ककेसस पर्वत शृङ्खलाको दुईपट्टिबाट भएको मानिन्छ । ककेसस पर्वत शृङ्खलाको एक भागबाट आर्य र अर्को भागबाट मङ्गोल प्रजातिको उत्पत्ति भएर विश्वभरि फैलिएको मानिन्छ ।

    विश्वका यी तीन प्रजाति संसारभरि फैलिने क्रममा मानव सभ्यताको निर्माणको क्रम पनि साथसाथै चल्दै गएको थियो । आर्य प्रजाति बेबिलोन (हालको इरानसेरोफेरो) हुँदै विश्वभरि फैलिएको मानिन्छ । उनीहरू वर्तमान इरान, अफगानिस्तानसेरोफेरो हुँदै भारतीय उपमहाद्वीपमा प्रवेश गरेका थिए । पश्चिमबाट कस्मिरसम्म आइपुगेपछि आर्यहरूको एउटा हाँगो कुमाऊँ–गढवाल हुँदै नेपाली “हिमवत्खण्ड” तर्फ प्रवेश ग¥यो । त्यसको अर्को हाँगोले भने सिन्धु नदीसेरोफेरोमा रहेर सिन्धु सभ्यता निर्माण ग¥यो । कालान्तरमा त्यही सिन्धु सभ्यताले हिन्दु धर्म स्थापना ग¥यो, त्यसका साथै हिन्दु सभ्यता पनि ।

    कुमाऊँ–गढवाल हुँदै नेपाली भूगोलमा प्रवेश गरेका आर्यहरू खस कहलिए । उनीहरू गैरहिन्दु जातिसमूहका थिए । उनीहरू वर्तमान जुम्लाको सिञ्जा उपत्यकाको सेरोफेरोमा आइपुगेपछि त्यहीँ सामन्ती राज्य स्थापना गर्न पुगे । त्यही सेरोफेरोमा उनीहरूले खस सभ्यता निर्माण पनि गरे । तर खसहरू त्यहीँ सीमित रहेनन् । उनीहरू पश्चिमबाट पूर्वतिर तीव्र गतिमा फैलिएका थिए । त्यस क्रममा उनीहरू काठमाडौँ उपत्यकामाथि पनि पटक पटक आक्रमण गर्न आइपुगेका थिए । ठिक त्यही समयमा नेपालमा आर्य प्रजातिको मात्रै बसोबास थिएन, उत्तरतिरबाट आएका मङ्गोल प्रजाति पनि उनीहरूभन्दा पहिलेदेखि नै आएर बसोबास गरिरहेको थियो । उत्तरबाट आएका किराँत सभ्यता, त्यसका साथै मगर, गुरुङ, नेवारहरू र दक्षिणतिरबाट आएको मानिएका लिच्छवी सभ्यता, त्यसका साथै थारूजस्ता बेग्लाबेग्लै सभ्यता र जातिसमूह नेपालमा सहवरण गरिरहेकै थिए ।

    नेपालमा मात्र होइन, संसारभरि मानव समाज यसरी नै फैलिने क्रम चलेको थियो । त्यसै क्रममा सभ्यता, उपसभ्यता निर्माण हुँदै गएका पनि थिए । त्यही क्रममा दर्शन, धर्म, नैतिकता, संस्कार, संस्कृति, मनोविज्ञान, कानुन, आचारविचारजस्ता मानव निर्मित प्रवर्गको पनि स्थापना हुँदै गएको थियो । जुन भूगोलमा जुन शासक वर्गको वर्चस्व कायम हुँदै गयो, उनीहरूले आफूले मान्दै आएको सनातन धर्म र दर्शनको पनि व्यापक प्रचार गर्दै गए । अर्को अर्थमा जनतामा लाद्दै गए । कतिपय राजा÷महाराजाहरू परम्परागत धर्म वा दर्शन परित्याग गरेर भिन्न धर्म वा दर्शनसम्म अपनाउन पुगे । यस सिलसिलामा दक्षिण एसियामा पनि कैयौँ हिन्दु राजाहरूले बौद्ध दर्शन अपनाएका उदाहरण पनि छन् । धर्म परिवर्तनको यो प्रचलन अहिलेसम्म पनि यथावत नै छ ।

    पछिल्लो केही समययता विश्वमा वर्गसङ्घर्षले राज्यक्रान्तिको स्तरसम्म सफलता पाउन सकेको छैन । सर्वहारा वर्गको आधिकारिक राजनीतिक पार्टी कम्युनिस्ट पार्टीको सङ्गठन र सङ्घर्षको अवस्था विश्वभरि नै कमजोर छ । त्यसैको फाइदा उठाएर साम्राज्यवादले पुँजीवाद र बचेखुचेको सामन्ती प्रवृत्तिलाई समेत आफूअनुकूल संरक्षण गरिरहेको छ । सर्वहारा वर्ग र अन्य उत्पीडित सामाजिक प्रवर्ग आफूमाथिको उत्पीडनका विरुद्ध साम्राज्यवादसित सङ्घर्ष गरिरहेका छन् । कतिपय मामिलामा सफलता पनि प्राप्त गर्न सकेका छन् । फेरि पनि साम्राज्यवाद वर्तमान विश्वको शासक व्यवस्थाको रूपमा कायमै छ । उसलाई विश्वव्यापी रूपमा टक्कर दिने वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद नै हो । त्यसको कमजोर अवस्थाको परिणामस्वरूप साम्राज्यवादले आफूलाई वर्तमान विश्वको तात्कालिक विकल्पसमेत भएको दावी गरिरहेको छ । नेपालमा प्रा. चैतन्य मिश्रले जसरी पुँजीवादको विकल्प पुँजीवाद नै हो भन्ने धारणा व्यक्त गरिरहेका छन्, त्यो त्यही वर्तमान विश्व सन्तुलनको स्वाभाविक अभिव्यक्तिभन्दा बढी केही होइन ।

    जहाँ पुँजीवादी व्यवस्था थियो, पछि ती देशहरूमा साम्राज्यवादी व्यवस्था अस्तित्वमा आएको छ । जहाँ सामन्ती व्यवस्था थियो, त्यहाँ पुँजीवादी व्यवस्था अस्तित्वमा आएको छ । यस क्रममा पुँजीवादले सामन्तवादका अवशेषलाई आफूअनुकूल उपयोग गर्न थालेको छ । युरोपमा साम्राज्यवादले चर्चलाई संरक्षण गर्नु, भारतमा साम्राज्यवादले हिन्दू धर्मलाई संरक्षण गर्नु, त्यस क्रममा धर्म निरपेक्षतामाथि समेत हमला गर्नु यही प्रवृत्तिका द्योतक हुन् । विरोधी व्यवस्थाको रूपमा सर्वहारा वर्ग प्रभावशाली स्थितिमा मैदानमा नभएपछि पुँजीवादले केही बेग्लै ढङ्गले आफूलाई सुदृढ गर्न थालेको लक्षण यसबाट पाउन सकिन्छ । त्यस क्रममा इतिहासको आफ्नै विरोधी व्यवस्था सामन्तवादको अवशेषलाई समेत उपयोग गर्न थालेको पाइएको छ ।

    इतिहासमा युरोपमा चर्च नेतृत्वको सामन्तवादका विरुद्ध पुँजीवाद मैदानमा ओर्लिएको थियो । अन्ततः सामन्तवादलाई पराजित गर्दै धर्म निरपेक्षतालाई संस्थागत गर्नमा पुँजीवादले सफलता प्राप्त गरेको थियो । त्यही धर्म निरपेक्षता आज विश्वव्यापी रूपमा धेरै देशहरूले अपनाएका पनि छन् । आज त्यही युरोपको पुँजीवादले साम्राज्यवादमा परिणत भएपछि चर्चको गतिविधिलाई सहयोग गर्ने नीति अपनाएको छ । आज युरोपका चर्चहरूले इसाई धर्म प्रचारको नाममा विश्वभरि जातीय, क्षेत्रीय सद्भाव भड्काउन डलरको खोलो बगाइरहेका छन् । यो अभियान चर्चको मात्र होइन, साम्राज्यवादको पनि हो ।

    यतिखेर युरोपीय साम्राज्यवादले चर्चलाई माध्यम बनाएको प्रष्टै छ । चीनका विरुद्ध नेपाल, भारत र पाकिस्तानजस्ता देशलाई उपयोग गर्ने नीति अमेरिकी साम्राज्यवादकै हो भन्नेबारे थप चर्चा गरिरहनु पर्दैन । तर यस अभियानमा पनि चर्च नै इसाई धर्मको माध्यमबाट प्रस्तुत भएको छ । इसाई मिसनरीहरूले तीव्र गतिमा इसाई धर्मको प्रचारको साथसाथै अमेरिकी र युरोपीय साम्राज्यवादको पक्षमा काम गरिरहेका छन् । यही कारण हो– एकातिर चर्चले विश्वभरिका साम्राज्यवादी इन्ट्रेष्ट रहेको भूगोलमा निर्धक्कसाथ काम गरिरहेको छ भने अर्कातिर, साम्राज्यवाद आफ्नो राजनीतिक अभीष्ट चर्चमार्फत् समेत सहयोग पुग्नेमा ढुक्क छ । यही कारण हो– साम्राज्यवाद र चर्च यतिखेर विश्वभरि सुक्ष्म, शान्त र निर्भयतापूर्वक आफ्नो उद्देश्यअनुरूप विचरण गरिरहेका छन् । अहिले सर्वहारा राज्यसत्तामा नभएका बेला उनीहरू विश्वको दोहन गर्न तीव्र गतिमा डौडिरहेका छन् । अन्ततः त्यसको निशानामा विश्वका सर्वहारा वर्ग छन् ।

    पुँजीवादी–साम्राज्यवादी देशहरूको सन्दर्भ प्रष्टै छ । तर पूर्व समाजवादी देशहरूको अवस्था पनि त्यही प्रकारको हुन गएको छ । त्यहाँ आधारभूत रूपमा पुँजीवादको पुनस्र्थापना भइसकेको छ । तर पनि तुलनात्मक रूपले रुस र चीनजस्ता नयाँ साम्राज्यवादी मुलुकहरू आवरणमै भए पनि फरक ढङ्गले हिँड्न चाहान्छन् । त्यसरी फरक ढङ्गले अघि बढ्ने क्रममा उनीहरूका सामु न्यूनतम रूपमा अथवा आन्तरिक क्षेत्रबाट कुनै अवरोध छैन अर्थात् यी देशको वर्गसङ्घर्षमा सर्वहारा वर्ग आक्रामक र प्रखर अवस्थामा छैन । त्यही कारणले गर्दा उनीहरू निर्धक्कसाथ दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छन् । अमेरिकी तथा युरोपियन साम्राज्यवादका सामु चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अवधारणा यसैको प्रकट रूप हो । विभिन्न अन्तर्राष्ट्रिय मामिलामा रुसको भूमिकाले पनि त्यही तथ्यतर्फ इङ्गित गर्दछ ।

    अमेरिकी तथा युरोपीय साम्राज्यवादको डलर कूटनीतिका साथै त्यत्तिकै प्रभावशाली अर्को मध्यम चर्च बनेकै छ । चर्चले धर्मको नाममा विश्वभरि साम्राज्यवादको हितसाधन गरिरहेको छ । पहिले बेलायती साम्राज्यवादको संरक्षकत्वमा रहेर चर्च तत्कालीन उपनिवेशमा प्रवेश गरेको थियो । त्यस क्रममा स्वयं हाम्रो छिमेकी देश भारतमा इसाई धर्मको व्यापक घुसपैठ भएको थियो । बेलायती साम्राज्यवादको दबदबाकै समयमा भारतको पूर्वोत्तर क्षेत्र, दक्षिण क्षेत्र र वर्णाश्रम प्रभावित क्षेत्रमा इसाई धर्मको प्रभाव बढेर सामाजिक र सांस्कृतिक सत्ता कायम भएको थियो । अहिले पनि पूर्वोत्तर भारत मूलतः इसाई धर्मावलम्बी राज्यको रूपमा कायम छ । त्यही स्थिति केरलजस्ता राज्यहरूको छ । अहिले पनि भारत, नेपाल र भुटानमा गरिबी र वर्णाश्रमको अनुकूलतामाथि टेकेर इसाई धर्मको प्रचार बढ्दै गएको छ । त्यही प्रकारको अवस्था कुनै समय चीनमा पनि उत्पन्न भएको थियो ।

    अमेरिकी र युरोपियन साम्राज्यवादले चर्च राजनीति गरिरहेको विषयप्रति चीन, भारतजस्ता देशका शासक वर्ग अनभिज्ञ छैनन् । पछिल्लो समयमा चीनले चर्चका विरुद्ध अथवा इसाई धर्मको आक्रामक प्रचारका विरुद्ध प्रतिरक्षात्मक कदम उठाउन थालेको छ । उनीहरूले ताओ, कन्फ्युसियसका दर्शनहरूको प्रचार गर्न थालेका छन् । त्यस क्रममा उनीहरूले इसाई धर्म प्रसारका विरुद्ध दीर्घकालीन कार्ययोजनामा काम पनि गरिरहेका छन् । एक वा अर्को प्रकारले भारतको अवस्था पनि त्यस्तै छ । भारतमा काङ्ग्रेस आईको सरकार इसाईकरणप्रति त्यति कठोर थिएन । तर बहालवाला भाजपा नेतृत्वको सरकारले भने यसप्रति कठोर नीति अपनाउन थालेको छ । त्यसै पनि राष्ट्रिय स्वयंसेवक सङ्घको राजनीतिक मोर्चा भएका कारण भाजपाले हिन्दु धर्मको पक्षमा लामो समयदेखि काम गरिरहेको थियो । यसरी उसले अन्य धर्मको विपक्षमा काम गर्नु अन्यथा भएन पनि । तर दुःखको विषय यो छ– जबसम्म भारत, नेपाल, भुटानजस्ता देशमा गरिबी र वर्णाश्रमको अवस्था यथावतै रहने छ, तबसम्म भाजपाजस्ता पार्टीहरूको भरमग्दुर प्रयत्नका बाबजुद यस क्षेत्रमा इसाईकरणको विस्तारका लागि मलिलो भूमि भने उपलब्ध भइरहने छ । हिन्दू धर्मले मनुस्मृतीकृत वर्णाश्रमलाई स्वीकारिरहेको अवस्थामा परिस्थति त्यही प्रकारको रहने छ ।

    पछिल्लो समयमा नेपालमा पनि उपमहाद्वीपीय जागरण आउन थालेको छ । भारतले सम्पूर्ण दक्षिण एसियालाई हिन्दुस्तान वा आर्यब्रत माने पनि नेपाल त्यो भन्दा अलग्गै उपमहाद्वीप हो भन्ने अवधारणा विस्तारै व्यापक हुन थालेको छ । त्यसैले “भारतखण्डे जम्बुद्वीपे” जस्ता शब्दावलीको स्थानमा “हिमवत्खण्ड” शब्दावली प्रयोग हुन थालेको छ । विद्वान गोपीरमण उपाध्यायका अनुसार “भारतखण्डे जम्बुद्वीपेको” को स्थानमा “हिमवत्खण्ड” शब्दावली प्रयोग गर्ने पहिलो विद्वान मदनमणि दिक्षित थिए ।

    अब यो अभियान अझ अघि बढिसकेको छ । नेपालमा वामपन्थी शक्तिहरूको शक्तिमा वृद्धि हुनासाथै राष्ट्रियताको कोणबाट “हिमवत्खण्ड” को अवधारणाले महव पाउन थालेको छ । यस क्रममा २०७५ असार २९ देखि ३१ गतेसम्म “हिमवत्खण्ड कला साहित्य सम्मिलन” नै सम्पन्न भएको थियो । साहित्यकार भानुभक्त आचार्यको जन्मदिवसको अवसर पारेर सो “सम्मिलन” कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम “हिमवत्खण्ड” मा रहेका नेपालीभाषीहरू साहित्यकार, कलाकारलाई एउटै मञ्चमा उभ्याउनका लागि आयोजना गरिएको थियो । उक्त “सम्मिलन” साहित्यिक कार्यक्रम भए पनि त्यसले गम्भीरताका साथ सामरिक र समाजशास्त्रीय महत्व राखेको प्रष्टै छ । यसले “हिमत्खण्ड” मा नेपालीभाषीहरूको बेग्लै प्रयासलाई नै बताउँछ ।

    नेपालमा खसजातिलाई भारतबाट आएको विदेशी जातिसमूहको आरोप पनि लाग्दै आएको छ । विदेशी र कतिपय नेपाली विद्वानहरूले नै खसजातिलाई बाह«ौँ शताब्दीतिर नेपाल प्रवेश गरेका भारतीय आर्यसँगै मिसाएर यसखालको धारणा अगाडि ल्याएका छन् । तर पछिल्लो समय थुप्रै समाजशास्त्री वा अन्य विद्वानहरूले खसजातिलाई भारतीय आर्यबाट पृथक् जातिसमूहको रूपमा सप्रमाण तथ्य प्रस्तुत गरेका छन् । अब सःनियत तर्क गर्नेहरूको प्रसङ्गलाई एकातिर राखिदिने हो भने नेपालका खसआर्य बाह«ौँ शताब्दीभन्दा पहिले नै नेपाली भूगोलमा बसोबास गरिरहेको प्राचीन जातिसमूह भएकोमा द्विविधा नहुनुपर्ने हुन्छ । त्यससँगै खसआर्य समुदायमा अर्कोखालको जागरण आउन थालेको छ । त्यो हो– गैरहिन्दु खसआर्य सभ्यताको उत्खनन् । यतिखेर वर्णाश्रम र हिन्दु सभ्यताभन्दा पृथक् नेपाली भूगोलमा विकसित भएको खसआर्य सभ्यताको पुनरुत्थानका लागि एकखालको अभियान नै सञ्चालन भइरहेको छ । त्यो अभियानमा विचारधारात्मक भेद छैन । के वामपन्थी, के गैरवामपन्थी ? सबैखाले विद्वानहरू खसआर्य सभ्यताको पुनरुत्थानमा प्रयासरत देखिन्छन् ।

    हिन्दु धर्मको सबैभन्दा कुख्यात विकृति हो– वर्णाश्रम प्रणाली । त्यसअन्तर्गत जातीय छुवाछूतजस्तो घृणित परम्परा हिन्दु धर्मावलम्बीहरूमा विद्यमान छ । यो परम्परा खसआर्यमामा पनि प्रचलित छ । नेपालको इतिहासमा राजा जयस्थिति मल्लले नै वर्णाश्रम प्रणाली लागु गराएका थिए । अहिलेको समाजमा वर्णाश्रमको विकृतिले केही न केही रूप अन्य जात÷जातिहरूलाई पनि छोएको देखिन्छ । तर केही समययता प्रगतिशील पक्षले यसको विरोध गर्न थालेको छ । प्रगतिशील विद्वानहरूले जातीय छुवाछूतजस्तो भेदभावको विरोध गर्नु त स्वाभाविक विषय भयो, उनीहरूले अर्को कोणबाट पनि यस यस विषयवस्तुलाई उठाइरहेका छन् । उनीहरूको तर्क छ– खसआर्य सभ्यतामा वर्णाश्रम प्रणाली थिएन, जातीय छुवाछूत भेदभाव थिएन । त्यसकारण पुरानो परम्परालाई मान्ने हो भने पनि वर्णाश्रम प्रणालीलाई खसआर्यहरूले स्वीकार गर्नु आवश्यक छैन । उनीहरूको तर्क सही छ, प्रगतिशील छ र समाजशास्त्रीय तथ्यअनुसार पनि छ । यसरी तथ्यहरूबाट खसआर्य जातिसमूहसित वर्णाश्रमको सम्बन्ध विच्छेद हुन पुग्दछ ।

    कुनै पनि जातिसमूहले आफ्नो इतिहास खोतल्नु, त्यसमा रहेका प्रगतिशील तत्वहरूलाई अपनाउने प्रयास गर्नु असाध्यै राम्रो विषय हो । प्रगतिशील विचार राख्नेहरूले गर्नुपर्ने काममध्येको यो पनि एउटा हो । त्यसका साथै प्रगतिशील विचार समूहभित्र रहेका कम्युनिस्टहरूले के गर्ने ? के यत्तिमै सीमित हुने ? के उनीहरूले वर्ग र वर्गसङ्घर्षको सिद्धान्तलाई छोडिदिने ? जर्मनका माक्र्स–एङ्गेल्स र रुसका लेनिन–स्टालिनजस्ता आर्य प्रजातिका र माओजस्ता मङ्गोल प्रजातिकाले विकास गरेको भनेर माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा नै पृष्ठभूमिमा पारिदिने ? के माक्र्सवाद–लेनिनवादलाई पनि पश्चिमा विचार भनेर परित्याग गरिदिने ? युरोपबाट धर्म निरपेक्षता आएको भनेर त्यसलाई अस्वीकार गर्ने ? यी प्रश्नहरू हाम्रासामु छन् ।

    पश्चिमाहरूले साम्राज्यवाद र चर्चको माध्यमबाट विश्वभरि प्रभुत्व फैलाएपछि त्यसका विरुद्धमा विश्वव्यापी रूपमा आवाज उठ्ने गरेको छ । पूर्वीय विश्वमा पनि उनीहरूका विरुद्ध पूर्वीय सभ्यताको उत्खनन् र पुनरुत्थानको अभियान नै चलिरहेको छ । यसरी अगाडि बढ्ने क्रममा जसले भौतिकवादी दृष्टिकोणलाई आधार बनाइराखे, उनीहरू सही दिशामा छन् । तर जसले भौतिकवादी दृष्टिकोणलाई बेवास्ता गरेर एकोहोरा पूर्वीय सभ्यताको पक्ष लिन पुगे, उनीहरूमध्ये कतिपय हिन्दू धर्मभिरु नै बन्न पुगे । त्यसका साथै कतिपयले भौतिकवादी दृष्टिकोणसमेत परित्याग गर्न पुगे । यस क्रममा हाम्रा अगाडि मोहनचन्द्र अधिकारीको उदाहरण छ । कुनै समयका झापा विद्रोही मोहनचन्द्र यतिखेर नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सक्रिय छन् । यस प्रकारको भड्कावप्रति कम्युनिस्ट, वामपन्थी र प्रगतिशील पक्षहरू सचेत हुनु पर्ने आवश्यकता छ ।

    प्रष्ट शब्दमा भन्ने हो भने खसआर्य सभ्यताको पुनरुत्थान प्रतिक्रियावादी अवधारणा हो । यतिखेर वर्तमान विश्व साम्राज्यवादी चरणमा विचरण गरिरहेका बेला त्यसको विकल्प वैज्ञानिक समाजवाद हो । प्रगतिशील पक्षले आफूलाई त्यतैतिर अग्रसर गराउनुपर्दछ । त्यसका बाबजुद एउटा लामो समयसम्म देशभक्तिको महव रहिरहने भएकाले खस सभ्यताको उत्खनन् गरी त्यसमा रहेका प्रगतिशील पक्ष आत्मसात गर्नु सर्वथा उचित कार्य हो । तर त्यसो गर्ने बेलामा कम्युनिस्टहरूले वर्ग र वर्गसङ्घर्षको सिद्धान्तप्रति बेवास्ता गर्न सक्दैनन् । कारण– कम्युनिस्टहरूको कार्यभार वर्ग र वर्गसङ्घर्षको सिद्धान्तअनुसार सर्वहारा अधिनायकत्वमार्फत् वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापना गर्नु हो ।

    समाजशास्त्रीय, मानवशास्त्रीय क्षेत्रबाट समाज विकासको उत्खनन् गर्नु एउटा पक्ष हो । पश्चिमी सभ्यतालाई सर्वश्रेष्ठ दावी गर्दै पूर्वी सभ्यताको अवमूल्यन गर्ने प्रवृत्तिको प्रतिवाद गर्नु अर्को पक्ष हो । यी दुवै अभियानको महत्व छ नै । कम्युनिस्टहरूका लागि त्यो भन्दा प्राथमिक कार्यभार वर्ग र वर्गसङ्घर्षको सिद्धान्तअनुसार काम गर्नु हो । कम्युनिस्टहरूले कुनै पनि धर्म, जाति, लिङ्गको भेदभाव नगरिकन सर्वहारा वर्गलाई सङ्गठित गर्ने काम हातमा लिनुपर्दछ । नेपालको सन्दर्भमा एकथरिले नयाँ जनवादी क्रान्तिलाई न्यूनतम कार्यक्रम मान्दछन् भने अर्काथरिले नयाँ जनवादी क्रान्ति पूरा भइसकेको बताउँदै आएका छन् । यी दुईथरि विचारलाई एकछिन होल्ड गर्ने हो भने पनि वैज्ञानिक समाजवाद दुवैको साझा कार्यक्रम हो । वैज्ञानिक समाजवाद सर्वहारा अधिनायकत्वको आधारमा मात्र कायम हुन सक्दछ ।

    नेपालको सन्दर्भमा सबै प्रगतिशील तवहरूको आधारभूत कार्यभार सामन्तवादी प्रभावको अन्त्य गर्नु हो । २०६२–६३ को आन्दोलनबाट राजतन्त्रको अन्त्य भए पनि त्यसबाट सामन्तवादको एउटा हाँगोमात्र समाप्त भएको छ । यद्यपि, त्यसले पुनरुत्थानको प्रयास गर्दै छ । उत्पादन सम्बन्धको क्षेत्रमा अहिले पनि सामन्तवाद प्रबल छ, प्रभावशाली छ । फलस्वरूप चिन्तनको क्षेत्रमा पनि सामन्तवाद नै हावी छ । कम्युनिस्टहरूले द्वन्द्वात्मक भौतिकवादी दर्शन अपनाएको दावी गरे पनि व्यवहारमा अत्यधिक सदस्यहरूले आदर्शवादी दर्शनअनुरूपको व्यवहार अपनाएको पाइन्छ । यस प्रकारको अवस्थामा पूर्वीय विश्वमा विद्यमान भौतिकवादको उत्खनन् गर्दै त्यसका सकारात्मक पक्षलाई द्वन्द्वात्मक भौतिकवादमा सामेल गर्नु अत्यन्तै महत्वको विषय हुन जान्छ । त्यसका विपरीत प्रगतिशील तत्वहरूले ऋग्वेदको एकोहोरो गुणगान गाउन थाल्यौँ भने यस्तो चिन्तनलाई द्वन्द्वात्मक भौतिकवादसम्मत मान्न सकिन्न । ऋग्वेदमा वर्णाश्रम छैन भने पनि त्यहाँ आदर्शवाद र अध्यात्मवाद त छ नै । ऋग्वेद मूलतः भौतिकवादी ग्रन्थ होइन । त्यसकारण पूर्वीय विश्वमा भौतिकवादको खोजी गर्ने क्रममा ऋग्वेद, बौद्ध, आर्यसमाज, जैन, बोन, शैवलगायतका धार्मिक मतको एकोहोरो गुणगानमा मस्त रहनु प्रकारान्तरले पूर्वीय विश्वको आदर्शवादी, अध्यात्मवादी र अन्ततः आदर्शवादी भुलभुलैमा हराउनु नै हुने छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको दर्शन हो भनी माक्र्स–एङ्गेल्सले घोषणा गरेका थिए भने हामीले पनि यो घोषणा गर्न सक्नुपर्दछ– पूर्वीय विश्वको भौतिकवादी दर्शन पनि न्यूनतम रूपमा यस क्षेत्रका सर्वहारा वर्गको दर्शन हो । यो तथ्यलाई पुष्टि गर्न मनग्ये काम हामी सबैले गर्न बाँकी छ ।

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    नेपाली राजनीति र नियति
    गजल
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.