नयाँदिल्ली । भारतमा कोरोनाका सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।
सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको हो ।
सक्रिय सङ्क्रमितको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीले जानकारी दिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक रूपमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो ।
अहिले भारतमा कुल सङ्क्रमितमध्ये १.२ प्रतिशत सङ्क्रमित मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीका अनुसार सोही अवधिमा ४० हजार एक सय २० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट तीन करोड २१ लाख १७ हजार आठ सय २६ जना सङ्क्रमित भएको पाइएको छ । तीमध्ये चार लाख ३० हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये पाँच सय ८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार नौ सय ५६ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार पाँच सय ७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो । (रासस÷एएनआई)