केशवनाथ योगी (एकान्त )
हो दाजु, म डराएकी छु
आज
भयंकर डराएकी छु
तिम्रो समाजको चरित्र
अनि विचित्र
व्यवहार संग डराएकी छु
त्यो समाज जसले
मानवता लाई चिहानमा पुर्याएर
दानवता लाई जन्माएको छ,
विभत्स अन्यायको आगो सल्काएको छ
दानवताको साम्राज्य
सम्पुर्ण समाजमा फैलाएको छ
सहर अनि गाउँ भित्र
असभ्य, कुसंस्कार जन्माएको छ ।
हो दाजु म डराएकी छु
किनकी
कहिले बोक्सीको नाममा कुटिन्छु,
कहिले दाईजो पाईन भनेर चुटिन्छु
जहाँ कुटिए पनि,
जहाँ चुटिए पनि,
कुट्टिनु र चुट्टिनु
महिला अधिकार भएको छ ।
हो दाजु
मौलिक अधिकार भएको छ ।
कहिले स्वदेश मै बेचिन्छु,
कहिले विदेश मै बेचिन्छु
लुटिनु र बेचिनु
हाम्रो अधिकार भएको छ,
हो दाजु
सामाजिक अधिकार भएको छ,
कहिले कोठा भित्र घिसारिन्छु,
कहिले आङ्गन मै पछारिन्छु
घिसारिनु र पछारिनु
रिति रिवाज भएको छ,
हाम्रो परम्परा भएको छ,
अनि समाजको
मौलिकता भएको छ
हो दाजु
स्वतंत्रताको अर्थ सुनेकी छु
स्वतंत्रताको परिभाषा बुझेकी छु
तर
स्वतंत्रता भएर
बाटोमा हिँडन सकिनँ,
निर्भयपूर्वक समाजमा डुल्न सकिनँ
तिम्रो समाजका गल्लीहरु,
बाटाहरु अनि गोरेटाहरु,
गाउँ अनि सहरहरू
जहाँ मानवता मरि सकेको छ,
सभ्यता सडि सकेको छ,
टोल अनि बस्तीहरु
नजरबन्दमा छन,
कंहि कतै
स्वतंत्रता भेट्न सकिन
हो दाजु
म डराएकी छु
तिम्रो सहरमा जहाँ
बिभत्स हत्या अनि
बलात्कारको तान्डव हुन्छ
त्यो तान्डव नृत्य
देखि डराएकी छु
त्यो समाजको रुप
अनि
स्वरुप देखि डराएकी छु
म ति सबै व्यवहार
देखि डराएकी छु
तिम्रो समाज जसले
अबोध चेलिहरुलाई
कतै कुमारी बनाएर,
कतै देउकी बनाएर
नरभक्षीहरुको बिचमा
जीवनलाई चिमोट्न छोडी दिन्छ
अबला चेलिहरुको ईज्जत,
निमोठ्न छोडिदिन्छन्
अनि नरभक्षीहरु
चिमोट्न आउँछन, चिमोट्छन,
निमोठ्न आउँछन् निमोठ्छन
नरभक्षीहरुको
निमोठाई र चिमोठाई बाट
निर्दोष नयनहरु बाट
अश्रु धारा जान्छ,
अनि शरीर बाट प्राण जान्छ,
म मृत्यु तुल्य हुन्छु
एक पल्ट होईन,
हजार पल्ट हुन्छु
त्यो दुखाई र भोगाई
देखि डराएकी छु,
हो दाजु म भयंकर डराएकी छु
सुनेकी छु कहिकतै
आवाज उठ्न थालेको छ,
सचेत तप्का देश भित्र जुट्न थालेको छ
स्वतंत्रताका स्वरहरु
जुर्मजुर्मुराउन थालेको छ
ति स्वरहरु उठ्न देऊ,
सचेत तप्का जुट्न देऊ
जब ति स्वरहरु उठ्ने छन्
जब सचेत नागरिकहरु जुट्ने छन्
समाजले परिवर्तनको मुस्कान दिनेछ
तब
तिम्रो बहिनी मुस्कुराउँदै
गौरवको साँस फेर्ने छ ।
स्वतंत्रताको साँस फेर्ने छ ।

