जनकराज पौडेल
‘त्यो’ म नभने पनि
जनता हँसाउन छोड्दिन
जहाँ ‘त्यो’ लेखिए छ
त्यसको म विश्वास गर्दिन
किन कर गर्नु पर्यो र ?
‘त्यो’ प्रति मलाई सरोकार छैन
तिमी यहाँ र म त्यहाँ छउन्जेल
म तल कहिल्यै झर्दिन
त्यसैले कर नगर मलाई
‘त्यो’ भन्नु पर्दैन ।
मैले तमसा देखाएकै छु
भजन मण्डलि राखेकै छु
जति पौठेजोरी खेले पनि
तिनका सेखी झारेकै छु
तिमी यहाँ छौ म त्यहाँ छु
कसैले लखरपाटो लाउन सक्दैन
त्यसैले कर नगर ‘त्यो’ भन्नु पर्दैन ।
अब तिमी र म मात्र होईन
लौनचौरको चित्त बुझाएकै छु
अहिले दह्रो आड पाएकै छु
विहारसम्मम समथल भन्दा
झोक्किएकाको चित्त बुझाएकै छु
केही बुर्कुन्दास खेलेकाहरु पनि
आफ्नो कावुमा ल्याएकै छु
भो कर नगर ‘त्यो’ भन्न पर्दैन ।
कर गरिहाले, नक्शा छपाई दिएँ
चित्त बुझाउने बाटो देखाई दिएकै छु
रेल भन्दै थिए, चल्न नपरे पनि
टाटले छोपेर हेराएकै छु
बसि बसि शिलान्याश गर्दिएका
बनुन नबनुन् भन्न पाएकै छु
आजकल ठुला मान्छेको संगत छ
त्यसमाथि तिमी यहाँ छौ म त्यहाँ छु
त्यसैले कर नगर ‘त्यो’ भन्न पर्दैन ।