• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली चाडपर्व र हिन्दु धर्म


  •   बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    नेपालीले धेरै चाडपर्व मनाउने गर्दछन् । नेपालीलाई गरिब बनाउने र गरिबीमा बाँच्न बाध्य बनाउने कारणमध्ये एउटा चाडपर्व धेरै मनाउने चलन पनि हो । चाडपर्व मनाउन दिइने सरकारी छुट्टीसमेत नेपालमा धेरै छन् । सबै चाडपर्व कुनै न कुनै रूपमा धर्मसँग सम्बन्धित छन् । सबै धर्मले अर्को जुनीको कल्पना गर्ने र अर्को जुनीमा सुविधासहित जीवन बिताउन अहिलेको जीवनमा धार्मिक सीमाभित्र रहने गर्दछन् ।

    धार्मिक अनुशासनले सम्पन्न वर्गीय स्वार्थलाई बाधा पर्न दिन्न । आफूले अघिल्लो जुनीमा नराम्रो काम गरेको हुनाले अहिलेको जुनीमा दुःख झेल्नुपरेको हो । मैले गरेर केही हुन्न । सबै बन्दोबस्त मिलाउने वा जीवन सुखी–दुखी बनाउने सबै जिम्मा ईश्वरको हो । ईश्वर अलौकिक शक्ति हो । यो जहाँसुकै पुग्छ र सबै कामको निरीक्षण गर्दछ—यस्तो किसिमको उल्टो र काल्पनिक चिन्तनका कारण दुःख सहन सक्ने क्षमता बढाउने काम गर्दछ । आफूले अन्यायको विरोध र न्यायको समर्थन गर्नुको कुनै अर्थ र महत्व छैन भन्नु धार्मिक सोचाइ हो । यसले बन्दुक र गोलीले गर्न नसक्ने काम गर्दछ र गरिरहेको पनि छ ।

    आफ्नाअगाडि प्रत्यक्ष शोषण भइरहेको हुन्छ तर शोषित वर्गले आफूले भर्खरै गर्नुपर्ने र गर्न सक्ने काम नगरेर अर्को जुनी पर्खन्छ । त्यसो गर्दा शोषण गर्न सजिलो भएको छ । राज्यसत्ता शोषणैशोषणले चुर्लुम्मै डुबेको छ । राज्यसत्ताका सञ्चालक सम्पन्न वर्गका प्रतिनिधिका लागि सजिलो भएको छ । शासकका लागि सुपोले निफन्नुपर्ने काम हावा आफैले गरिदिएजस्तै सन्चो र सुविधा भइरहेको छ । जनावर, खोला, ढुङुगा, रुखबिरुवा, बालीनाली जेलाई पूजा गरे पनि त्यो मान्यता ईश्वरीय अलौकिक शक्तिसँग सम्बन्धित भएर गरिएको पूजाअर्चना हुन्छ । त्यसले गर्दा प्रत्यक्षलाई वास्ता नगर्ने र अप्रत्यक्ष, काल्पनिक र अलौकिक शक्तिको मातहतमा रहने कामलाई प्राथमिकता दिएको काम हुन्छ । त्यो कामले आफूमाथिको अन्याय सहने र सम्पन्नतालाई वैधानिकता दिन सहयोग पुग्छ ।

    धार्मिक परम्पराका रूपमा प्राचीन कालदेखि चाडपर्व मनाइँदै आएका छन् । हाम्रो सांस्कृतिक स्तर पिछडिएको हुनाले त्यसको असर विकास, निर्माण र उत्पादनमा वैज्ञानिक तरिका लागु गर्नुमा परेको छ । मान्छेले कसरी उत्पादन बढाउने भन्ने चिन्तन गर्नुको सट्टा हाम्रा पुर्खाले के के गरेका थिए भन्नेतिर फर्काउन सहयोग मिलेको छ । असङ्ख्य देवीदेवता र पूजापाठले भरिएका चाडपर्वका कारण शासकहरू पनि आफू र आफ्नो देशका जनता गरिबीको रेखामुनि छौँ भनेर भाग्ने, अनि भ्रष्टाचार गर्ने संस्कृतिका धनी छन् ।

    हिन्दु पुरानो धर्म हो । ऋषिमुनि र शासकको आदर्शवादी दर्शनलाई आधार बनाएर सामाजिक गतिविधि अगाडि बढाउने गरेको हाम्रो इतिहास हो । उन्नाइस दिनसम्म जनताले सडकमा आन्दोलन गरेर फ्याँकिएको हिन्दु राजा फेरि पुनर्बहाली हुनुपर्छ भन्ने जनमत पनि कमी छैन । त्यसो हुनाको कारण हिन्दु धर्म मान्ने जनमत बढी भएर नै हो । हिन्दु धर्मकै कारणले जनतालाई तल्लो जात र उपल्लो जातमा वर्गीकरण गरेर तल्लो जातले छोएको पानी र अन्य खाद्यवस्तु उपल्लो जातले खान नहुनेगरी धेरै पुस्तासम्म शासन चलेको थियो । त्यही कारणले दुई÷चार पुस्तापछिका हाम्रा सन्तान आपसमा कुरा गरेर अनौठो मान्दै हास्ने छन् भन्ने कुरा हामीले सजिलै अनुमान लगाउन सक्छौँ । उनीहरूले हाम्रा जिजुबराजुले त बरु बिरालोले छोएको खाना हुने रे ! कुकुर, माखा, साङ्लाले छोएको खाना नहुने रे ! यस्तो कलङ्क हामीमाथि लाग्ने पक्कापक्की हुँदाहुँदै पनि अझै धर्म मान्नु हाम्रो पुस्ताकै नालायकीपन हो ।

    हिन्दु धर्मका देवता शिवजीले मान्छे जन्माउनलाई कुनै ईश्वरको आवश्यकता पर्दैन, मान्छे जन्माउने त लिङ्ग र योगीको घर्षणले हो भन्ने गर्दथे । कालान्तरमा हिन्दु धर्मावलम्बीहरूले आफ्नो लोग्नेको लिङ्ग र श्रीमतीको योनी सफा, स्वस्थ राख्नुको सट्टा उनै देवता शिवको लिङ्ग र उनकी श्रीमती पार्वतीको योनीलाई पूजा गर्न ध्यान दिएका कारणबाट पनि थाहा हुन्छ कि हामी नेपाली कति पिछडिएको संस्कृतिमा अल्झिएका छौँ ? हाम्रो समाजमा यस्ता धेरै पिछडिएको संस्कृतिले हाम्रो विकास निर्माण र उन्नति, प्रगतिमा बाधा पु-याइरहेका छन् । यी र यस्ता पिछडिएका संस्कृतिबाट मुक्त नभएसम्म यिनीहरूले हाम्रो विकासमा बाधा पु-याइरहने छन् ।

    हामीहरूमा चाडपर्व मनाउने क्रममा लुतो फाल्ने तरिका, हरेलो गर्ने तरिका, नागपूजा, कुकुर, गाई आदि जन्तुजनावरलाई पूजा गरेर मात्रै हाम्रा समस्या समाधान हुन सक्दैनन् । वैज्ञानिक तथ्यका आधारमा पशुपालन, रोगव्याधीको उपचार र बालीविरुवाको संरक्षण गर्न छिटो सिक्ने र व्यवहारमा लागु गर्नपट्टि ध्यान नदिने हो भने हामी गरिबीलाई परास्त गर्न सक्ने छैनौँ । राज्यसत्तामा आमूल परिवर्तन गरेर सर्वसाधारण जनताको पहुँच पुग्ने बनाउने र धर्ममा आधारित चाडपर्व मनाएर समय बिना उपलब्धि खर्च गर्ने होइन, दुवै काम हाम्रो विकास र उन्नतिका लागि गर्नैपर्ने काम हुन् । यी काम पूरा नगरेसम्म हाम्रो विकास र उन्नति, प्रगतिले गति लिन सक्ने छैन र हाम्रा पिछडिएको अवस्था कायमै रहने छ ।

    हिन्दु धर्मले अलौकिक शक्तिलाई मान्दछ र पदार्थलाई भन्दा चेतनालाई प्रमुख मान्दछ । यसको प्रत्यक्ष असर हाम्रो ज्ञान र ज्ञान प्राप्त गर्ने तरिकामा पर्दछ । चेतनालाई प्रथम मानेर पदार्थलाई त्यसको मातहतमा राख्नेबित्तिकै ज्ञानको पुष्टि गर्ने ठाउँ रहन्न । हाम्रो ज्ञान सही छ अथवा गलत छ ? आफैले जाँचेर पुष्टि गर्न अति आवश्यक हुन्छ तर अलौकिक शक्तिको प्रधानता र चेतनालाई मुख्य बनाउनाले ज्ञान सही र गलत भएको पुष्टि गर्ने ठाउँ रहन्न । आफैले नजाँचिकन, पुष्टि नगरिकन मान्नुपर्ने हुनाले विकास रोकिन्छ । त्यसलाई सुल्टो पार्न प्रकृतिलाई प्रथम र चेतनालाई द्वितीय मानेर अध्ययन–अनुसन्धानद्वारा प्रमाणित गर्ने बाटो खुला बनाउनुपर्दछ ।

    त्यो काममा अवरोध खडा गर्ने हिन्दु धर्म हो । यो धर्मले सम्पन्न वर्गलाई शासन गर्न सजिलो पार्नेमात्र होइन, देशको उन्नति, प्रगतिमा समेत अवरोध खडा गर्दछ । त्यसकारण धर्मको विश्वास समाप्त पारेर श्रम र श्रमजीवी वर्ग तथा सर्वसाधारण जनताको समस्या समाधानमा योगदान थप्ने काम गर्नुपर्छ । जनताको आन्दोलनको बलमा देश धर्म निरपेक्ष बनाइएको भए पनि शासक वर्ग धर्मका अनुयायी छन् ।

    त्यस्तो हुन नदिन जनता सचेत हुन जरुरी छ । एउटा धर्ममा आशक्त व्यक्ति राज्यसत्तामा बहाल रहँदा अरू धर्मालम्बीलाई पाखा लगाएजस्तो हुनु स्वाभाविक हो । शासकले राज्यशक्तिको दुरूपयोग गरेर धर्म मान्न पाउनुहुन्न । सर्वसाधारण जनताले आफ्नो आस्था र विश्वासको आधारमा आफ्नो व्यक्तिगत धन खर्च गरेर धर्म मान्ने तर शासकले जनताको सम्पत्ति खर्च गरेर आफ्नो व्यक्तिगत आस्था बढाउने—यो सरासर गलत हो । धर्म नमान्दाबित्तिकै मुक्त भइने भने होइन । मुक्तिका लागि श्रमजीवी वर्गको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टी खोज्ने, वर्गीय अनुशासनसहित सङ्गठित भएर आफूले आफैजस्ता हजारौँहजार श्रमजीवी वर्गको मुक्तिका लागि आफ्नो योगदान थप्ने काम गर्नुपर्छ ।

    बिना उद्देश्य स्वतःस्र्फूत रूपमा काम गर्दा शोषक–शासकवर्गलाई सजिलो हुने र उनीहरुको सत्ता सञ्चालनमा सहयोग पुग्ने भएकाले आफू सचेत, सङ्गठित र अनुशासित हुनु आवश्यक हुन्छ । मानव समाज प्रकृतिको सबैभन्दा उच्च तहको समाज हो । हाम्रो अघिल्लो वा पछिल्लो जुनी हुन्न । जन्मेपछि जीवन सुरु हुन्छ र मरेपछि समाप्त हुन्छ । त्यसकारण आफ्नो जीवनलाई उपलब्धिमूलक बनाउन निश्चित उद्देश्यसहित काममा खट्नुपर्छ । नजानेको काम सिक्नुपर्छ र जानेको काम व्यवहारमा प्रयोग गर्नुपर्छ ।

    समय परिवर्तनशील छ । कुनै पनि समयमा समाजमा धर्मले सकारात्मक प्रभाव पारेको र समाजलाई अनुशासित हुन सहयोग गरेको भए पनि आजको वैज्ञानिक जमानामा शोषण गर्न सहयोग गर्ने कवचबाहेक उपलब्धि केही छैन । धर्मले देशको उन्नति, प्रगति र श्रमजीवी जनताले मुक्तिको बाटोमा अवरोध खडा गरेको छ । एकातिर, जनताको मिहिनेत, पसिनाबाट आर्जन भएको हजारौँलाखौँ रुपियाँ खर्च भइरहेको छ । उपलब्धि जनतालाई होइन, शासक वर्गलाई भइरहेको छ । अर्कातिर, जनताको सृजनशील क्षमता, योग्यतामा बिर्को लगाएको छ । जनताको उन्नति, प्रगतिमा प्रतिबन्ध लगाउने काम गरेको छ । नेपालीहरूको सबैभन्दा ठुलो चाड विजयादशमी हो ।

    असत्यमाथि सत्यको विजय भएको दिन भनेर मनाइने यो चाडमा दायाँतिर पाँचवटा र बायाँतिर पाँचवटा हात भएको ठुलो मुर्ति बनाएर बाघमाथि चढेर अरू मान्छे, जसलाई राक्षस नामाकरण गरेर मारेको र मार्न लागेका मुर्ति प्रदर्शन गर्ने गरिन्छ । दुर्गामाताले दुःख दिनेको हत्या गरेको मुर्तिले देखाउँछ । यो वास्तवमा गलत छ । पहिलो कुरा त, महिलाका १० वटा हात हुने पुरै काल्पनिक अनुमान हो ।बाघले महिलालाई बोकेर हिँड्दैन । ऊ हिंस्रक जनावर हो । अर्को कुरा, जसलाई हत्या गरेको देखाइएको छ, उनीहरू पनि मान्छे नै हुन् र ती देवीका विरोधी भए पनि सर्वसाधारण जनताका विरोधी होइनन् । मुख्य कुरा, यसबाट जनतालाई सही ज्ञान प्राप्त हुन सक्दैन ।

    आफूले र आफ्नो प्रयत्नले तथा सङ्गठित शक्तिले विजय प्राप्त हुन्छ भन्नेभन्दा पनि अलौकिक शक्तिको प्रयोगले मात्र मुक्ति हुन सक्छ भन्ने गलत कुराले जनताको सृजनशील क्षमता विकास गर्न रोक लगाउँछ । शक्ति सङ्गठनमा र सङ्गठन वर्गीय चेतना तथा वर्गीय मुक्तिको उद्देश्यसहित हुनुपर्छ भन्ने कुराको सङ्केत गर्दैन । त्यसको ठिक विपरीत आफूले केही गर्नुनपर्ने, केही गर्न नसक्ने, केवल शक्तिशाली व्यक्तिले मात्र मुक्त गर्न सक्दछ भन्ने गलत चेतना भर्ने काम गर्दछ ।

    यस्ता गलत कुराको प्रचार प्रसारबाट जनतालाई हानी नोक्सानीबाहेक उपलब्धि केही हुन्न । त्यसकारण यस्ता चाडपर्वको ठाउँमा जनताको शक्ति महान् शक्ति हो† जनता आपसमा सचेत, सङ्गठित र आन्दोलित भएमा जस्तोसुकै शक्ति पनि टिक्न सक्दैन भन्ने र सर्वशक्तिसम्पन्न राजतन्त्रसमेत जनताको आन्दोलनले पाखा लगायो । अहिलेको दुईतिहाइभन्दा बढी बहुमतको सरकारलाई पनि जनताको चाहना विपरीत गएको खण्डमा अवश्य ठेगान लगाउन सक्छन् भनेर उत्साह जगाउने संस्कृतिको विकास गर्न सक्ने चाडपर्व मनाउनु राम्रो हुन्छ ।

    चाडपर्व मनाउनुपर्छ । जनताको उत्साह र उमङ्गको प्रतीकका रूपमा चाडपर्व बनाउने चलन राम्रो हो । मानव आवश्यकताका वस्तु उत्पादनमा उत्साह जगाउने, गुणस्तरीय उत्पादन गर्न प्रेरणा दिने, सामूहिक प्रयत्नलाई कायम राख्न सजिलो बनाउने, शोषण, अन्याय र अत्याचार उन्मूलनका लागि सहयोग पु¥याउने, योग्यता विकास गर्न र आफ्नो योग्यता प्रकृतिका विरुद्ध र श्रमजीवी मानवको हितमा लगाउन उत्साह जगाउने किसिमका चाडपर्व छनौट गर्ने र मनाउने संस्कृतिको विकास नगर्दासम्म उपलब्धिमूलक चाडपर्व मनाएको फाइदा लिन सकिन्न । शहरबजारका गल्लीमा बोर्ड बनाएर ‘सक्नुहुन्छ सफा गर्नुहोस्, सक्नुहुन्न भने फोहोर नथप्नुहोस्’ भनेर लेखिएको हुन्छ ।

    स्तै गरेर सके मानव मुक्तिमा योगदान थप्न सक्ने, नसके शोषणको जालो बढाउने काम नगर्नेगरी चाडपर्व मनाउनु आजको आवश्यकता हो । खास गरेर सामन्ती युगमा धर्मको विकास र धर्ममा तल्लीन बनाउने र धर्मको आधारमा शासन चलाउने गरिएको थियो । त्यो युग समाप्त भयो । धर्मले शासकलाई सहयोग पु¥याए पनि जनतालाई सहयोग पु¥याउन्न । नोक्सान पु¥याउँछ । त्यसकारण धर्मको विरोध शासकको हैसियतमा नभए पनि जनताको हैसियतमा गर्नैपर्छ । इतिहासका निर्माता जनता हुन् । जनतालाई झुक्याएर र भुलभुलैयामा पारेर शासन गर्ने शासक स्थायी हुन सक्दैन । जनताले जतिखेर बुझ्छन्, उतिखेर उसको जरोसमेत उखेल्ने काम गर्दछन् । परम्परागत उखान छ– ‘झुटाको आयु साँचो नआउँदासम्म रहन्छ’ र ‘शीतको आयु घाम नआउँदासम्म रहन्छ ।’

    त्यसैगरेर जनताले जब वास्तविकता बुझ्ने छन्, तब शासकको भुलभुलैया समाप्त हुने छ । आफूलाई शासकको रूपमा विचार गर्दा राजाले सधैँ राजा रहने अनुमानसहित शासन गर्दथ्यो । धर्मका उपासकले पनि धर्म सधैँ रहने चिन्तन बनाएर धर्म मान्ने गर्दछन् । न त राजा रहे, न त धर्म नै चीरकालसम्म रहने छ । धर्मको जरो उखेलिँदै गर्दा शासकको कालो इतिहाससमेत अङ्कित हुने छ । धर्मको अवसानसँगै कालो इतिहासमा आफ्नो नामा दर्ता नगराउनु छ भने शासक अहिलेदेखि नै सचेत भएर जनताको पङ्क्तिमा सामेल हुनुपर्छ । समय बित्दै जाँदा उनीहरूको नकाव उतारिँदै जाने छ र आज गरेको अवसरवादी राजनीतिसहित आफै सति जान नपरोस् भनेर सतर्क भए उत्तम हुने थियो ।

    जनतामा धर्म विरोधी भावना कायम राख्ने मुख्य शक्ति राज्यसत्ता हो । राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो । त्यहाँ सम्पूर्ण जनसङ्ख्याको एक प्रतिशत व्यक्तिमात्र सहभागी भए पनि जनताले राज्यसत्ताको सिद्धान्त, राजनीति र सङ्गठनलाई आफ्नो सिद्धान्त, राजनीति र सङ्गठन मान्ने हुनाले त्योभन्दा ठुलो सङ्गठित शक्ति बनाउन सजिलो हुन्न । राज्यसत्ता सञ्चालनमा धर्मको आड लिएर सम्पन्नवर्गीय स्वार्थ रक्षा गर्ने काम गरिन्छ । धेरै जनताले धर्म मान्ने हुनाले शासकले धर्मको सहारा लिनुपरेको हो । त्यसकारण माक्र्सले धर्मलाई जनताको अफिम हो भन्नुपरेको हो । धर्म सामाजिक समस्या हो । राज्यसत्ता सञ्चालन गर्दा धर्मको विरोधको तरिकाले नभएर समर्थन र सहयोगको तरिकाले शासकहरू समाजमा प्रस्तुत हुन्छन् ।

    त्यही कारणले कम्युनिस्ट पार्टीको दुईतिहाइ मत जितेको राज्यसत्ताको राष्ट्रपतिले जनतालाई घुँडा टेकाएर टिका लगाइदिने गरेकी हुन् । आन्दोलनको बलमा संविधानमा धर्म निरपेक्षताको व्यवस्था गरेको भए पनि त्यसले समेत सम्पन्न वर्गको स्वार्थमा बाधा पुग्ने मानेर हिन्दू धर्मका राजा बहाल गर्ने अभियान चलिरहेको छ । जनतालाई धर्मबाट अलग गर्न र धर्मको विरोध गर्ने बनाउन नसके पनि कम्युनिस्ट पार्टीका सदस्यहरू धर्मको विरोधीको रूपमा समाजमा स्थापित गराउन सक्ने हो भने ठुलो उपलब्धि भएको मान्नुपर्ने थियो । वर्तमान सत्तासिन पार्टी कम्युनिस्ट पार्टी नभएको र उसका कार्यकर्ता पनि धर्मको विरोधी नभएको हुनाले यो दुर्दशा र तमाशा भएको हो । धर्म मान्ने कम्युनिस्ट पार्टीको सदस्य कम्युनिस्ट हुन्न ।

    गैरकम्युनिस्ट व्यक्तिलाई कम्युनिस्ट पार्टीको नेता बनाउँदा त्यस्तै हुन्छ । वर्गीय चिन्तन र वर्गीय भौतिक आधार नभइकन जस्तोसुकैलाई कम्युनिस्ट पार्टीको सदस्य र कम्युनिस्ट पार्टीको नेता बनाएर त्यो कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैन । त्यो पार्टीले राज्यसत्तामा आमूल परिवर्तन गर्न पनि सक्दैन र सत्तासिन भएर सामूहिक अर्थतन्त्रको विकास पनि गर्दैन । समग्रमा त्यो कम्युनिस्ट पार्टी हुन्न । कम्युनिस्ट पार्टीले धर्म मान्दैन । धर्ममा आधारित चाडपर्व मनाउन्न । त्यति मात्रै होइन, एउटा कम्युनिस्ट पार्टीको सदस्यले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम चटक्कै छाडेर जनतालाई सचेत र सङ्गठित बनाउने काममा आफ्नो सम्पूर्ण क्षमताको उपयोग गर्छ ।

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.