नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन् ।
मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो । यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ ।
स्थानीय सरकारी अधिकारीका अनुसार विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार करिब ६०० जनालाई सरकारी तथा निजी अस्पतालमा भर्ना गरिएको छ ।
मणिपुरका वरिष्ठ स्थानीय सरकारी अधिकारी हुन्ग्यो वोरसाङले जिल्ला प्रशासन, प्रहरी, अन्त:शुल्क तथा स्वास्थ्य विभागका टोलीले प्रभावित क्षेत्र र अस्पतालको भ्रमण गरी अवस्थाबारे जानकारी लिएको तथा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन् ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
घटनाको छानबिन गर्न मणिपुर सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ । समितिलाई घटनाको कारण पत्ता लगाउन, सम्भावित कमजोरी पहिचान गर्न र आवश्यक कारबाहीका लागि सुझाव दिन एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
अधिकारीहरूका अनुसार शंकास्पद मदिरामा विषाक्त पदार्थको उपस्थिति रहे–नरहेको पत्ता लगाउन नमुना संकलन गरी फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।
यसैबीच, सम्भावित विषाक्त मदिरा सेवनबाट मृत्यु तथा बिरामी हुने घटना बढेपछि मणिपुरको स्वास्थ्य विभागले सार्वजनिक स्वास्थ्यसम्बन्धी सचेतना सूचना जारी गरेको छ ।
विभागले सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई सतर्क रहन, बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन, आवश्यक परे अन्य अस्पतालमा पठाउन तथा शंकास्पद घटनाको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।