नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको निधन भएको छ भने एक सय ८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।
मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
उनका अनुसार पछिल्लो ४८ घण्टामा निधन हुनेको सङ्ख्या ११ पुगेको छ भने दुई अस्पतालमा एक सय ८० भन्दा बढी बिरामी उपचाररत छन् । मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने बताए ।
भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट निधन हुने घटना बारम्बार हुने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइएको हुन सक्ने बताइन्छ ।
गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाडमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको निधन भएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको निधन हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।
भारतका विभिन्न क्षेत्रमा यस्तो मदिरा व्यापक रूपमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा बोतलमा मदिरा पाइन्छ । मिथानोल सेवनले अन्धोपन र कलेजोमा क्षति पुर्याउनुका साथै बढी मात्रामा सेवन भएमा ज्यानसमेत जान सक्छ । (रासस/एएफपी)