नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नवौँ अखिल भारत सम्मेलन भारतको नयाँदिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा हुने भएको छ ।
अक्टोबर ४, २०२६ तदनुसार २०८३ असोज १८ गते हैदरावादमा सम्पन्न मूल प्रवाहको केन्द्रीय विस्तारित बैठकले सो निर्णय गरेको हो ।
मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा असोज २० गते मङ्गलबार जारी गरिएको प्रेसविज्ञप्तिमा विस्तारित बैठकले गरेको निर्णयको बारेमा सङ्क्षिप्तमा जानकारी दिइएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार आगामी फागुन २, ३ र ४ गते नवौँ अखिल भारत सम्मेलन हुने भएको छ, यद्यपि सम्मेलनको विस्तृत कार्यक्रमबारे प्रेसविज्ञप्तिमा केही उल्लेख गरिएको छैन । मूल प्रवाहको केन्द्रीय कार्यालयका अनुसार अहिले सम्मेलन गर्ने निर्णय मात्रै गरिएकाले आगामी दिनमा त्यसको कार्यक्रमबारे विस्तृतमा जानकारी गराइनेछ ।
सम्मेलन सफल पार्न महासचिव त्रिभुवन भट्टराईको संयोजकत्वमा ४२५ सदस्यीय प्रचारप्रसार समिति, कोषाध्यक्ष चन्द्रकान्त शर्माको संयोजकत्वमा १९ सदस्यीय आर्थिक समिति, केन्द्रीय सदस्य प्रेम आचार्यको संयोजकत्वमा १५१ सदस्यीय स्वयम्सेवक समिति, केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको संयोजकत्वमा १७ सदस्यीय सांस्कृतिक समिति, केन्द्रीय सदस्य तारा सोमरेको संयोजकत्वमा ११ सदस्यीय मेस व्यवस्थापन समिति, केन्द्रीय सल्लाहकार ठाकुर खनालको संयोजकत्वमा पाँच सदस्यीय सञ्चार समिति र केन्द्रीय उपाध्यक्ष कपिल खनालको संयोजकत्वमा पाँच सदस्यीय हल तथा मार्केटिङ व्यवस्थापन उपसमिति गठन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
विज्ञप्तिमा जानकारी गराइएअनुसार विस्तारित बैठकको उद्घाटन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पानसमा बत्ती बालेर गर्नुभएको थियो । सो अवसरमा उहाँले उद्घाटन मन्तव्य पनि राख्नुभएको थियो । सो अवसरमा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाहका पूर्व अध्यक्ष ठाकुर खनाललगायतको आतिथ्य रहेको बताइएको छ ।
विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक अक्टोबर ४, २०२६ का दिन हैदरावादमा सम्पन्न भयो । विस्तारित बैठकले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, प्रवासी नेपालीको मतदानको अधिकारका लागि सङ्घर्ष गरौँ, नवौँ अखिल भारत सम्मेलन भव्य रूपमा सफल पारौँ’ भन्ने मूल नाराका साथ नवौँ अखिल भारत सम्मेलन फेब्रुअरी १४, १५ र १६, २०२७ तदनुसार २०८३ फागुन २, ३ र ४ गते राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त सम्मेलन भारतस्थित नेपालीको हक, हित, अधिकार तथा सामाजिक सुरक्षाका विषयमा केन्द्रित रहनेछ ।
विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पानसमा बत्ती बालेर गर्नुभएको थियो । सो अवसरमा मन्तव्य राख्दै उहाँले नेपालमा गणतन्त्र स्थापनामा भारतस्थित नेपालीको पनि विशेष योगदान रहेको बताउनुभयो । उहाँले अहिले नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्षको बलमा स्थापना गरेको गणतन्त्र र नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न भएको पनि बताउनुभयो । लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि सम्पूर्ण गणतान्त्रिक र राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने उहाँको भनाइ थियो ।
विस्तारित बैठकले नवौँ अखिल भारत सम्मेलन सफल पार्न अध्यक्ष प्रेम पौडेलको संयोजकत्वमा उपाध्यक्ष कपिल खनाल, महासचिव त्रिभुवन भट्टराई, केन्द्रीय सचिवालय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्यहरू शालिकराम आचार्य र तारा सोमरे, सल्लाहकार ठाकुर खनाल सदस्य रहनुभएको सात सदस्यीय मूल व्यवस्थापन समिति तथा ७५१ सदस्यीय सम्मेलन तयारी समिति गठन गरिएको छ ।
त्यसैगरी, बैठकले महासचिव त्रिभुवन भट्टराईको संयोजकत्वमा ४२५ सदस्यीय प्रचारप्रसार समिति, कोषाध्यक्ष चन्द्रकान्त शर्माको संयोजकत्वमा १९ सदस्यीय आर्थिक समिति, केन्द्रीय सदस्य प्रेम आचार्यको संयोजकत्वमा १५१ सदस्यीय स्वयम्सेवक समिति, केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको संयोजकत्वमा १७ सदस्यीय सांस्कृतिक समिति, केन्द्रीय सदस्य तारा सोमरेको संयोजकत्वमा ११ सदस्यीय मेस व्यवस्थापन समिति, केन्द्रीय सल्लाहकार ठाकुर खनालको संयोजकत्वमा पाँच सदस्यीय सञ्चार समिति तथा केन्द्रीय उपाध्यक्ष कपिल खनालको संयोजकत्वमा पाँच सदस्यीय हल तथा मार्केटिङ व्यवस्थापन उपसमिति गठन गरेको छ ।
उपाध्यक्ष कपिल खनालको अध्यक्षता तथा महासचिव त्रिभुवन भट्टराईको सञ्चालनमा विस्तारित बैठक सम्पन्न भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राष्ट्रिय जनमोर्चाकै केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व अध्यक्ष ठाकुर खनालको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा अध्यक्ष प्रेम पौडेलले नवौँ अखिल भारत सम्मेलनसम्बन्धी विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि बैठकमा सहभागी प्रतिनिधिमाझ गहन छलफल भएको थियो । प्रतिनिधिबाट प्राप्त रचनात्मक सुझावलाई समेट्दै ती प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका थिए ।
विस्तारित बैठकमा भारतका विभिन्न राज्यका १७४ नगर समितिबाट प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई आयोजक समितिका तर्फबाट उपाध्यक्ष जनकराज पौडेलले स्वागत गर्नुभएको थियो । सहभागीलाई सांस्कृतिक विभागका कलाकारले गीतसङ्गीतमार्फत समेत स्वागत गर्नुभएको थियो, त्यसका साथै बैठकका बिचबिचमा जोसिला गीतसङ्गीत तथा नृत्य प्रस्तुत गरिँदा कार्यक्रम थप रोचक बनेको थियो ।
अन्तमा बैठकका अध्यक्ष कपिल खनालले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै सहभागीलाई धन्यवाद दिनुभयो र बैठक विसर्जन गर्नुभयो ।”
मूल प्रवाहको स्थापना नोभेम्बर ७, १९७९ मा भारतको बनारसमा भएको थियो । त्यतिखेर सङ्गठनको नाम अखिल भारत नेपाली एकता समाज रहेको थियो । त्यतिखेरको भेलाले गोविन्दसिंह थापा सभापति रहनुभएको सात सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । सन् २००९ मा सम्पन्न छैटौँ अखिल भारत सम्मेलनले ‘सभापति’ को स्थानमा ‘अध्यक्ष’ चयन गर्न थालेको थियो । त्यतिखेरको सम्मेलनबाट अखिल भारत नेपाली युवक मोर्चा, अखिल भारत नेपाली जनजाति सम्मेलन र अखिल भारत नेपाली जातीय समता समाज मूल प्रवाहमा समावेश भएका थिए । अखिल भारत नेपाली विद्यार्थी सङ्घ यसअघि नै मूल प्रवाहमा समावेश भइसकेका थिए ।
मूल प्रवाहको पहिलो अखिल भारत सम्मेलन सन् १९८२ मा नयाँदिल्लीमा, दोस्रो अखिल भारत सम्मेलन सन् १९८५ मा नयाँदिल्लीमा, तेस्रो अखिल भारत सम्मेलन सन् १९८९ मा उत्तर प्रदेशको कानपुरमा, चौथो अखिल भारत सम्मेलन सन् १९९५ मा नयाँदिल्लीमा, पाँचौँ अखिल भारत सम्मेलन सन् २००२ मा हैदरावादमा, छैटौँ अखिल भारत सम्मेलन सन् २००९ मा हरियाणाको फरिदावादमा, सातौँ अखिल भारत सम्मेलन २०१४ मा लखनऊमा र आठौँ अखिल भारत सम्मेलन २०२२ मा फरिदावादमा सम्पन्न भएको थियो ।
भारतमा मूल प्रवाह त्यहाँका विभिन्न प्रवासी नेपालीका सङ्गठनमध्ये प्रभावशाली सङ्गठन मानिन्छ । भारतका सबै प्रदेशमा मूल प्रवाहको सङ्गठन रहेको बताइएको छ । त्यसमध्ये सिक्किम, विहार, अरुणाचल प्रदेशबाहेक सबैजसो प्रदेशमा मूल प्रवाहको सङ्गठन रहेको मूल प्रवाहको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । जम्मुकस्मिर, उत्तराखण्ड, पूर्वोत्तर भारतसहित मैदानी इलाकाका नेपालीहरू पुगेका स्थानमा कतै व्यवस्थित सङ्गठन त कतै सङ्गठनको सम्पर्क रहेको दाबी गरिएको छ ।
इतिहास अध्ययन गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन धारमा महामन्त्री मोहनविक्रम सिंहलाई अनुशासनको कारबाही गरिएपछि सो कारबाही भोग्न उहाँ भारतको केरलमा पुग्दा त्यहाँ एकता समाज स्थापना गर्ने पृष्ठभूमि तयार भएको थियो । सोही क्रममा बनारसमा एकता समाज स्थापना गरिएको थियो । त्यसपछिका विभिन्न फुटका बाबजुद भारतको एकता समाज नेकपा (मसाल) को पक्षमा अडिग रहने गरेको अध्यक्ष प्रेम पौडेलले युगदर्शनलाई जानकारी गराउनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो– ‘भारतमा सामाजिक आधारमा सम्पूर्ण नेपालीभाषीलाई सङ्गठित गर्दै नेपालमा प्रत्येक न्यायपूर्ण आन्दोलनलाई हामीले समर्थन गर्दै आएका छौँ । त्यस क्रममा हामीले नेपालमा नेकपा (मसाल) लाई नैतिक समर्थन गर्ने गरेका छौँ ।’
उहाँले मसाल र राष्ट्रिय जनमोर्चाले नेपालमा सञ्चालन गर्ने विभिन्न गतिविधिमा मूल प्रवाहका कार्यकर्ताको उल्लेख्य सहभागिता रहने गरेको उहाँको भनाइ थियो ।