काठमाडौँ, अक्टुबर ४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । बैठकले आगामी १४, १५ र १६ फरवरी २०२७ मा दिल्ली एनसिआरमा राष्ट्रिय सम्मेलन हुने ठेगान गरेको छ ।
सम्मेलनलाई व्यवस्थित, प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरू गठन गरेको छ । बैठकले अध्यक्ष प्रेम पौडेलको संयोजकत्वमा ७५१ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ ।
त्यसैगरी प्रेम पौडेलकै संयोजकत्वमा कपिल खनाल, ठाकुर खनाल, त्रिभुवन भट्टराई, दिनेश खड्का, शालिकराम आचार्य र तारा सोमरे सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै, महासचिव त्रिभुवन भट्टराईको संयोजकत्वमा ४२५ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । कोषाध्यक्ष चन्द्रकान्त शर्माको संयोजकत्वमा १९ सदस्यीय आर्थिक समिति, जनकराज शर्माको संयोजकत्वमा १७ सदस्यीय सांस्कृतिक समिति र तारा सोमरेको संयोजकत्वमा ११ सदस्यीय मेस व्यवस्थापन समिति गठन गरिएको बैठकले जनाएको छ ।
बैठकले ठाकुर खनालको संयोजकत्वमा ५ सदस्यीय सञ्चार समिति तथा कपिल खनालको संयोजकत्वमा ५ सदस्यीय हल तथा मार्केटिङ व्यवस्थापन उपसमिति पनि गठन गरेको छ ।
यसैगरी, प्रेम आचार्यको संयोजकत्वमा १५१ सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ ।
बैठकले आगामी कार्यक्रम तथा सम्मेलनलाई सफल बनाउन सबै तहका समिति, सदस्य तथा कार्यकर्तालाई जिम्मेवारी अनुसार सक्रियतापूर्वक परिचालन गर्ने निर्णय गरेको छ ।
विभिन्न जिम्मेवारीका लागि गठन गरिएका समिति तथा उपसमितिहरूले संगठनात्मक व्यवस्थापन, प्रचारप्रसार, आर्थिक परिचालन, सांस्कृतिक कार्यक्रम, सञ्चार, स्वयंसेवा तथा अन्य आवश्यक तयारीलाई समन्वयात्मक रूपमा अघि बढाउने बताइएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठकले संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको अध्यक्ष प्रेम पौडेलले युगदर्शनलाई जानकारी दिनुभएको छ ।
