हैदरावाद, ४ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठकको उद्घाटन नेकपा (मसाल) काम महामन्त्री मोहनविक्रम सिंहले गर्नुभएको छ ।
प्रमुख अतिथिको आसनबाट बोल्दै महामन्त्रि सिंहले भारतमा रोजगारी तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपालीहरूका समस्या समाधानका लागि संगठित पहल आवश्यक रहेको बताउनु भएको छ ।
सिंहले प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अवस्थालाई राजनीतिक चेतनासँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै संगठन केवल व्यक्तिगत समस्या समाधान गर्ने माध्यम नभई समाजको परिवर्तन र श्रमिक वर्गका अधिकारका विषयमा समेत केन्द्रित हुनुपर्नेमा महामन्त्रि सिंहले जोड दिनुभयो । भारतमा रहेका नेपाली समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक चेतनाको स्तर अभिवृद्धि गर्न निरन्तर अभियान सञ्चालन गर्नुपर्ने सिंहको भनाइ थियो ।
संगठनको विकासका लागि राजनीतिक तथा वैचारिक स्पष्टता, सामूहिक निर्णय, अनुशासन र कार्यकर्ताको सक्रियतालाई महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा महामन्त्रि सिंहले जोड दिनुभयो ।
उपाध्यक्ष कपिल खनालको अध्यक्षता तथा महासचिव त्रिभुवन भट्टराईको सञ्चालनमा भएको विस्तारित बैठकमा वामपन्थी नेता तथा राष्ट्रिय जनमोर्चाका सल्लाहकार आनन्द शर्मा, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, मूल प्रवाहका पूर्व अध्यक्ष तथा सल्लाहकार ठाकुर खनाल, केन्द्रीय अध्यक्ष प्रेम पौडेल, राजमो केन्द्रीय सदस्य बासुदेव पोखरेल, इन्दिरा ज्ञावली, सुधा शर्मालगायतका नेताहरूले आतिथ्यता एवं मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले व्यक्तिगत स्वार्थ, गुटगत प्रवृत्ति तथा संगठनात्मक अनुशासन कमजोर पार्ने गतिविधिबाट संगठनलाई जोगाउँदै सामूहिक जिम्मेवारीका आधारमा अघि बढ्नुपर्ने धारणा राखेका थिए । लामो समयदेखि संगठनमा काम गरेका कार्यकर्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई समेत संगठनमा जोड्नुपर्नेमा जोड दिइएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहासमा विभिन्न चरणमा विभाजन र पुनर्गठनका अनुभवहरू रहेको उल्लेख गर्दै संगठनको नीति, विचार र उद्देश्यलाई निरन्तरता दिनुपर्ने धारणा बैठकमा व्यक्त भएको थियो ।
युवाहरूलाई केवल रोजगारीका लागि विदेश जाने शक्तिका रूपमा नभई सामाजिक परिवर्तनमा योगदान गर्न सक्ने सक्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने वक्ताहरूले बताएका थिए ।
शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक चेतनाका विषयमा युवामाझ निरन्तर बहस र प्रशिक्षण सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।
बैठकको प्रारम्भमा ज्ञात–अज्ञात सहिद तथा नेपालमा हालै भएका प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । जनकराज शर्माले स्वागत मन्तव्य राखेका थिए भने कलाकारहरूले स्वागत गीत प्रस्तुति दिएका थिए ।

