काठमाडौँ, ४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले नेपालमा जनताप्रति जवाफदेही तथा उत्तरदायी सरकार र आर्थिक रूपमा सम्पन्न राज्य व्यवस्था निर्माण नभएसम्म प्रवासमा रहेका नेपालीका समस्या पूर्ण रूपमा समाधान हुन नसक्ने बताउनु भएको छ ।
भारतस्थित नेपालीहरूको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठकमा मन्तव्य राख्दै शर्माले रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्या देशको समग्र राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “हाम्रो देश राम्रो नहुँदासम्म, देश आर्थिक रूपले सम्पन्न नहुँदासम्म, देशमा जनताप्रति जवाफदेही र उत्तरदायी सरकार नबन्दासम्म प्रवासमा स्थित नेपालीहरूका समस्याहरू समाधान हुने छैनन्।”
शर्माले भारतस्थित नेपालीहरूले आफ्नो हक, अधिकार र सम्मानका लागि दशकौँदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै त्यस संघर्षलाई देशभित्र सञ्चालन हुने न्यायपूर्ण, प्रजातान्त्रिक तथा समतामूलक आन्दोलनसँग पनि जोडेर हेर्नुपर्ने बताए ।
उहाँका अनुसार २०४६/४७ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलनलगायतका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा भारतस्थित नेपालीहरूको महत्वपूर्ण सहभागिता र साथ–सहयोग रहँदै आएको छ।
हालै नेपालमा बनेको सरकार तथा त्यसका जनविरोधी नीतिका विरुद्धसमेत भारतमा रहेका नेपालीहरूले आफ्नो स्थानबाट आवाज उठाउँदै संघर्ष गरिरहेको शर्माले बताउनु भयो । उहाँले प्रवासमा रहेर पनि नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका पक्षमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकोमा भारतस्थित नेपाली समुदायको प्रशंसा गर्नुभयो ।
“तपाईँहरूको यो सचेतनापूर्वक संघर्षलाई राष्ट्रिय जनमोर्चाले हार्दिक अभिनन्दन गर्न चाहन्छ,” शर्माले भन्नुभयो ।
उहाँले प्रवासमा रहेका नेपालीहरूको हक, अधिकार र समस्याको समाधानका लागि संघर्षसँगै नेपालमा जनउत्तरदायी, लोकतान्त्रिक तथा समतामूलक राज्य व्यवस्था निर्माणको आन्दोलनलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
