• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

हुम्लामा हिमपातले जनजीवन प्रभावित

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

जापानमा साइबर आक्रमणको श्रृङ्खला

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ५. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • १०. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

लुम्बिनी प्रदेश राजधानी: बिकास, अबसर र चुनौती


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • गणेश आचार्य

    Advertisement

    नेपालको शासकीय इतिहासमा राज्य पुनर्संरचनापश्चात् मुलुकलाई सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको ढाँचामा लैजाने संवैधानिक व्यवस्थासँगै प्रशासनिक सुगमता र प्रादेशिक सन्तुलित विकासका लागि प्रदेश राजधानीहरूको घोषणा गरियो । लुम्बिनी प्रदेश सभाले २०७७ असोज २० गते बहुमतद्वारा दाङको राप्ती उपत्यका (देउखुरी) लाई स्थायी राजधानी तोक्ने निर्णय गर्दा यस क्षेत्रका बासिन्दामा ठूलो उत्साह र आशा सञ्चार भएको थियो । साविकको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका १ र २ नम्बर वडालाई समेटेर राप्ती नदीको दुवै किनारमा एउटा आधुनिक, वातावरणमैत्री र व्यवस्थित हरित सहर बसाउने गुरुयोजना तयार पारियो । तर, राजनीतिक जोडघटाउ र घोषणाको लामो समय बितिसक्दा पनि देउखुरी र यस वरिपरिको भौतिक संरचनाको स्थिति अत्यन्त दयनीय छ । शासकीय संरचनाका रूपमा प्रदेश प्रणालीको आवश्यकता र औचित्यमाथि नै आम नागरिकबाट गम्भीर प्रश्नहरू उठिरहेका बेला, भएकै प्रादेशिक राजधानीको यस्तो लथालिङ्ग र दिशाहीन अवस्थाले विद्यमान व्यवस्थाप्रतिको असन्तोषलाई अझ गहिरो बनाएको छ । प्रदेश संरचनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुको सट्टा प्रशासनिक खर्च र आर्थिक भार मात्र बढाएको भन्ने जनमत बलियो भइरहेका बेला राजधानी निर्माणमा देखिएको ढिलासुस्तीले नागरिकलाई अझ निराश बनाएको छ ।

    देउखुरी उपत्यकाको वर्तमान भौतिक अवस्थालाई नियाल्दा यसले एउटा प्रादेशिक राजधानीको न्यूनतम मापदण्ड पनि पूरा गर्न सकेको देखिँदैन । बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय र प्रशासनिक अड्डाहरू हतार-हतार देउखुरी सारिए तापनि ती सबै निकायहरू साविकको राप्ती प्राविधिक शिक्षालयको करिब १७ बिघा परिसरभित्रका आलिसान महलबाहेक अरू केही परिवर्तन देखिँदैन । पूर्व-पश्चिम राजमार्गले यस क्षेत्रलाई जोडे तापनि मुख्य प्रशासनिक स्थलबाट भित्री बस्तीहरू र सम्भावित सहरी क्षेत्रतर्फ जाने सडकहरू अझै कच्ची, साँघुरा र धुलाम्य छन् । वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती व्यहोर्नुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका ठूला सभाहल, उच्चस्तरीय शिक्षण अस्पताल, ढल निकासको आधुनिक प्रबन्ध, वैज्ञानिक फोहोरमैला प्रशोधन केन्द्र र सुरक्षा निकायका स्थायी पूर्वाधारहरूको सर्वथा अभाव छ । राजधानीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित र व्यवस्थित आवासको सुविधा नहुँदा धेरैजसो कर्मचारीहरू लमही, घोराही वा तुलसीपुरबाट दैनिक आवतजावत गर्न बाध्य छन्, जसले गर्दा सरकारी सेवा प्रवाहमा सुस्तता र बेवास्तापन देखिन्छ । सेवाग्राहीहरू टाढा-टाढाबाट आफ्ना प्रशासनिक काम लिएर आउँदा न्यूनतम सुविधाहरू नपाएर अलपत्र पर्ने अवस्थाले प्रादेशिक राजधानीको साखमा ठूलो धक्का पुर्‍याएको छ ।

    यस क्षेत्रको विकासको मुख्य मेरुदण्ड मानिएको जग्गा एकीकरण (ल्यान्ड पोलिङ) प्रक्रिया पूर्ण रूपमा ठप्प हुनु देउखुरीको सबैभन्दा ठूलो नीतिगत र व्यावहारिक विफलता हो । राजधानी घोषणा गर्दा राप्ती उपत्यकाको करिब २५ हजार बिघा भूभागमा सर्वसाधारणको जग्गा कित्ताकाट र खरिद-बिक्रीमा पूर्ण रोक्का लगाइयो । सरकारको मनसाय सम्पूर्ण क्षेत्रलाई एउटै गुरुयोजनाभित्र ल्याएर आधुनिक सहर बसाउने भए तापनि वर्षौँसम्म जग्गा रोक्का राखेर न त पूर्वाधार निर्माणको काम सुरु गरियो, न त नागरिकलाई आफ्नो सम्पत्ति प्रयोग गर्ने छुट नै दिइयो । यसले गर्दा स्थानीय भू-स्वामीहरू आफ्नो निजी जमिन धितो राखेर बैङ्कबाट ऋण लिन, व्यापार-व्यवसाय सञ्चालन गर्न, छोराछोरीको उच्च शिक्षाको प्रबन्ध गर्न वा पारिवारिक व्यावहारिक गर्जो टार्न नसक्ने गरी आर्थिक रूपमा बन्दी पर्ने काम मात्र भयो । प्रदेश सहरी विकास प्राधिकरण गठन गरिए तापनि त्यसले स्थानीय बासिन्दासँग पारदर्शी संवाद गर्न सकेन । जग्गा एकीकरण गर्दा कति प्रतिशत जमिन काटिन्छ, पूर्वाधार विकासपछि कस्तो ठाउँमा घडेरी फिर्ता पाइन्छ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुन्छ भन्नेबारे स्थानीयमा घोर अन्योल र अविश्वास व्याप्त छ । सार्वजनिक जमिन, ऐलानी जग्गा र राप्ती नदीको तटबन्धनपछि निकालिने भनिएको नदी उकास जमिनको स्वामित्वका विषयमा कानुनी र व्यावहारिक जटिलताहरू विद्यमान छन्, जसले गर्दा आयोजना सुरु हुनै नसक्ने दुष्चक्रमा फसेको छ ।

    नेपालमा जग्गा एकीकरणका नाममा आयोजनाहरू सुरु गर्ने तर तिनलाई अनन्तकालसम्म अलपत्र छाड्ने नियति देउखुरीमा पनि दोहोरिएको छ । काठमाडौँ उपत्यकाभित्र सञ्चालित विभिन्न नगर विकास आयोजनाहरू, पोखराको बहुउद्देश्यीय जग्गा एकीकरण आयोजना वा पूर्व-पश्चिम राजमार्ग आसपासका नयाँ सहर आयोजनाहरूको अनुभवलाई हेर्ने हो भने पनि स्पष्ट हुन्छ कि वस्तुपरक योजना र पर्याप्त वित्तीय स्रोतविना सुरु गरिएका आयोजनाहरू कसरी असफलताको भुमरीमा फस्छन् । काठमाडौँका कतिपय क्षेत्रमा सञ्चालित ल्यान्ड पोलिङ आयोजनाहरू दशकौँसम्म पूरा नहुँदा जग्गाधनीहरूले भोगेको मानसिक र आर्थिक सास्ती देउखुरीका जनताले अहिले प्रत्यक्ष भोगिरहेका छन् । सरकारी निकायहरूले सुरुमा ठूला र महत्त्वाकाङ्क्षी नक्साहरू कोर्छन्, तर स्थानीय नागरिकको सामाजिक-सांस्कृतिक परिवेश, उनीहरूको जीविकोपार्जनका आधार र आयोजनाको आर्थिक सम्भाव्यतालाई ध्यान दिँदैनन् । देउखुरीमा प्रदेश सरकार, स्थानीय तहहरू र भूमिधनीहरूबीच आवश्यक पारस्परिक समन्वयको ठूलो खाडल देखिएको छ । प्रदेश सरकारले स्थानीय तहलाई केवल आफ्ना निर्णयहरू तामेल गर्ने निकायका रूपमा हेर्‍यो भने स्थानीय तहहरूले पनि राजधानी निर्माणलाई आफ्नो स्वामित्वको साझा राष्ट्रिय कार्यभारका रूपमा ग्रहण गर्न सकेनन् ।

    यसका साथै, देउखुरी उपत्यका केवल एउटा भौगोलिक वा प्रशासनिक क्षेत्र मात्र नभई प्राचीन थारू समुदायको सघन बस्ती र मौलिक सांस्कृतिक थलो पनि हो । प्रादेशिक राजधानी निर्माणका नाममा ल्यान्ड पोलिङ गर्दा यहाँका भूमिपुत्र थारू समुदायको परम्परागत जीवनशैली, कृषि प्रणाली र सामाजिक-सांस्कृतिक पहिचान विस्थापित हुने खतरा बढेको छ । यहाँका भूमिहीन, कमैया र साना किसानहरू जसको जीवननिर्वाहको मुख्य आधार नै कृषि हो, उनीहरूलाई सहरीकरणको मारले सबैभन्दा बढी प्रभावित पार्नेछ । विकासको आधुनिक खाका कोर्दा स्थानीय लोकसंस्कृति, परम्परागत प्रविधि र जैविक विविधतालाई कसरी संरक्षण गर्ने भन्ने विषयमा गुरुयोजना पूर्ण रूपमा मौन देखिन्छ । थारू समुदायको सामा-चकेवा, माघी र अन्य सांस्कृतिक पर्वहरूसँग जोडिएका प्राकृतिक संरचना र साझा जमिनहरूलाई सहरीकरणका नाममा अतिक्रमण गरिने डरले पनि स्थानीय तहमा थप असन्तोष जन्माएको छ । समावेशी विकासको मूल भावनालाई बिर्सेर जबसम्म केवल भौतिक संरचना र सिमेन्टका भवनहरूलाई मात्र विकास मान्ने दृष्टि राखिन्छ, तबसम्म कुनै पनि विकास आयोजनाले जनस्तरबाट पूर्ण स्वीकार्यता पाउन सक्दैन ।

    नेपालको अस्थिर राजनीतिक वातावरण र छिटो-छिटो भइरहने सरकार परिवर्तनको असर देउखुरीको विकासमा सीधा परेको छ । राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्तिको अभाव हुनु, मन्त्रिपरिषद् फेरबदल भएसँगै प्राथमिकताहरू बदलिनु र बजेटको स्रोत सुनिश्चित नगरी केवल क्षणिक लोकप्रियताका लागि ठूला घोषणा गर्ने परिपाटीले समस्यालाई अझ जटिल बनाएको छ । प्रदेश सरकारसँग आफ्नै आन्तरिक स्रोत अत्यन्त सीमित छ भने सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान र सहयोग पनि पर्याप्त छैन । ठूला पूर्वाधार निर्माण र ल्यान्ड पोलिङका लागि आवश्यक पर्ने अर्बौँ रुपैयाँको आर्थिक पुँजी कहाँबाट जुटाउने भन्ने विषयमा प्रादेशिक नेतृत्व पूर्ण रूपमा अन्योलमा छ । सङ्घ र प्रदेशबीचको कमजोर प्रशासनिक समन्वयका कारण राष्ट्रिय गौरवका आयोजनाहरूसँग देउखुरीको विकासलाई जोड्न सकिएको छैन । राजनीतिक दलहरूबीच राजधानीको भौतिक निर्माणलाई लिएर न्यूनतम साझा सहमति बन्न नसक्नु र प्रशासनिक संयन्त्रमा विषयगत विशेषज्ञताको कमी हुनुले पनि देउखुरीको विकास प्रक्रियालाई पूर्ण रूपमा गतिहीन र दिशाहीन बनाएको छ ।

    वर्तमान भौतिक पूर्वाधारको अवस्था अत्यन्त निराशाजनक र प्रशासनिक व्यवस्थापन फितलो भए तापनि भौगोलिक, प्राकृतिक र रणनीतिक दृष्टिकोणबाट देउखुरी उपत्यकासँग समृद्धिको असीम सम्भावना जोडिएको छ । काठमाडौँ, बुटवल वा पोखराजस्ता पहिल्यै अव्यवस्थित, घना र जनसङ्ख्याको अत्यधिक चाप भइसकेका पुराना सहरहरूको तुलनामा देउखुरी एउटा स्वच्छ र खाली पाना सरह छ । यहाँ आगामी पचास वर्षपछिको प्रविधि, जनसङ्ख्या वृद्धि र सहरी आवश्यकतालाई ध्यानमा राखेर सुरुदेखि नै पूर्ण नियोजित र हरित सहर निर्माण गर्ने दुर्लभ अवसर उपलब्ध छ । ढल निकास, खानेपानीका पाइप, बिजुलीका तार र सञ्चार सञ्जाललाई सुरुमै भूमिगत गरी फराकिला सडकहरू र पैदल मार्गहरूको नक्साङ्कन गर्न सकिन्छ । भौगोलिक अवस्थितिका हिसाबले देउखुरी लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका लागि तुलनात्मक रूपमा मध्यभागमा पर्दछ । प्युठान, रोल्पा, रुकुम, अर्घाखाँची, पाल्पा र गुल्मीजस्ता पहाडी जिल्लाहरू तथा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी र रूपन्देहीजस्ता तराईका जिल्लाहरूको रणनीतिक सङ्गमस्थल भएकाले यसले भविष्यमा सिङ्गो प्रदेशको सन्तुलित आर्थिक र सामाजिक विकासमा अहम् भूमिका खेल्न सक्छ ।

    राप्ती नदीको प्राकृतिक बहावलाई वैज्ञानिक रूपमा तटबन्धन गरी नदीको दुवै किनारमा करिब पाँचदेखि छ किलोमिटर लामो जलपर्यटन, खुला हरियाली क्षेत्र र पदमार्गसहितको ‘रिभरफ्रन्ट’ विकास गर्न सकिने निकै ठूलो सम्भावना छ । यसले सहरी सौन्दर्यलाई माथि उठाउनुका साथै वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउनेछ । पूर्व-पश्चिम राजमार्ग, निर्माणाधीन मध्यपहाडी लोकमार्ग र उत्तर-दक्षिण व्यापारिक मार्गहरूसँगको निकटताका कारण यो क्षेत्र भविष्यमा लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक, औद्योगिक र यातायातको केन्द्र बन्न सक्छ । समथर र अत्यन्त उर्वर उपत्यका भएकाले यहाँ आधुनिक कृषि र सहरीकरणलाई एकसाथ अघि बढाउने ‘कृषि-सहरी’ अवधारणा कार्यान्वयन गर्न सकिन्छ, जसले कृषि उत्पादन बढाउनुका साथै सहरी खाद्य सुरक्षालाई पनि बलियो बनाउनेछ । यसका साथै, नजिकै रहेका प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी, विश्व शान्तिको केन्द्र लुम्बिनी, धारापानी मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर एउटा बृहत् पर्यटकीय परिपथ निर्माण गर्न सकिन्छ, जसले प्रादेशिक अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो टेवा पुर्‍याउनेछ ।

    देउखुरीलाई केवल कागजी नक्सा र नामको राजधानीमा सीमित नराखी साँच्चिकै एउटा उदाहरणीय, आधुनिक र प्रभावकारी प्रशासनिक केन्द्रका रूपमा रूपान्तरण गर्नका लागि अबको कार्यभार स्पष्ट र परिणाममुखी हुनुपर्छ । यस विशाल भूभागलाई विभाजन गरिनुपर्छ । पहिलो चरणमा प्रादेशिक प्रशासनिक भवनहरू, प्रदेश सभा, मन्त्रालयहरू र कर्मचारी आवास बन्ने निश्चित गरिएको ५ सयदेखि १ हजार बिघा क्षेत्रमा मात्रै कडा रूपमा जग्गा एकीकरण (ल्यान्ड पोलिङ) लागू गरिनुपर्छ । बाँकी क्षेत्रमा तोकिएको निश्चित सहरी मापदण्ड र भवन निर्माण संहिताको पालना गराउँदै जग्गाको कित्ताकाट, खरिद-बिक्री र उपयोगलाई तत्काल खुकुलो बनाउनुपर्छ । यस कदमले वर्षौँदेखि पीडित स्थानीय बासिन्दाको आक्रोश र अविश्वासलाई शान्त पार्नेछ भने स्थानीय बजारमा आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ ।

    दोस्रो कार्यभारका रूपमा, प्रदेश सहरी विकास प्राधिकरणलाई केवल राजनीतिक कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाउनबाट रोकी स्वायत्त, जनशक्तिसम्पन्न र प्राविधिक रूपमा दक्ष बनाउनुपर्छ । प्राधिकरणमा अनुभवी टाउन प्लानर, सिभिल इन्जिनियर, वातावरणविद् र अर्थशास्त्रीहरूको टोली समावेश गरी द्रुत गतिमा काम गर्ने वातावरण मिलाउनुपर्छ । स्थानीय घरधनी, किसान, थारू समुदायका प्रतिनिधि र अन्य सरोकारवालाहरूसँग निरन्तर, पारदर्शी र प्रत्यक्ष संवाद स्थापित गरी ल्यान्ड पोलिङबाट उनीहरूलाई प्राप्त हुने अल्पकालीन र दीर्घकालीन लाभहरूबारे आश्वस्त पारिनुपर्छ । स्थानीय संस्कृति र पहिचानको जगेर्ना गर्दै नागरिकलाई विकासको वास्तविक साझेदार नबनाएसम्म कुनै पनि ठूला आयोजना सफल हुन सक्दैनन् भन्ने सत्यलाई सरकारी निकायले आत्मसात् गर्नुपर्छ । तेस्रो, आयोजनाका लागि आवश्यक पर्ने ठूलो पुँजी जुटाउन सङ्घीय सरकारसँग समपूरक र विशेष अनुदानका लागि बलियो प्रशासनिक र राजनीतिक पहल गरिनुपर्छ । सार्वजनिक-निजी साझेदारी मोडल वा वैदेशिक दातृ निकायहरूबाट दीर्घकालीन सहुलियतपूर्ण ऋण र अनुदान परिचालनका लागि ढिलाइ नगरी प्रक्रिया अघि बढाउनुपर्छ ।

    अन्ततः, शासकीय संरचनाका रूपमा प्रदेश प्रणालीको सञ्चालन खर्च र औचित्यमाथि जनस्तरबाट चौतर्फी प्रश्नहरू उठिरहेको संवेदनशील परिस्थितिमा लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई सुशासित, पारदर्शी, समावेशी र आधुनिक रूपमा ढाल्न सकिएन भने यसले सिङ्गो व्यवस्थाकै विश्वसनीयतालाई थप कमजोर बनाउनेछ । भाषण, प्रतिबद्धता र आकर्षक गुरुयोजनाका चित्रहरूमा मात्र सीमित नभई, जमिनमा प्रत्यक्ष देखिने गरी भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढाउनु नै आजको अपरिहार्य आवश्यकता हो । स्थानीय जनताको सम्पत्तिको अधिकारको सम्मान गर्दै, उनीहरूको सामाजिक-आर्थिक र सांस्कृतिक सुरक्षाको ग्यारेन्टी गरेर चरणबद्ध रूपमा अघि बढेमा मात्र राप्ती उपत्यकाले एउटा हरित, व्यवस्थित र नमुना प्रादेशिक राजधानीको रूप लिन सक्नेछ ।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ
    रसुवाबाढीबाट सिर्जित महाविपत्तिबारे अन्टुकको अपेक्षा
    प्राकृतिक विपत्तिको सामना गर्न ठोस योजना
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ५.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

    • २.
      बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    • ३.
      हुम्लामा हिमपातले जनजीवन प्रभावित

    • ४.
      नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    • ५.
      ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

    • ६.
      मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

    • ७.
      सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

    • ८.
      अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.