पोखरा, भदौ १४ गते । जातिय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विश्वकर्माले नेपालमा हुने राजनीतिक गतिविधिलाई विश्व राजनीतिका घटनाक्रमबाट अलग गरेर हेर्न नहुने बताउनु भएको छ ।
२०८३ भदौ १४ गते आइतबार समाजको गण्डकी प्रदेश भेलालाई सम्बोधनका क्रममा मन्तव्य दिंदै जातिय समता समाजको मूलक भेलालाई सम्बोधन गर्दै अध्यक्ष विश्वकर्माले विश्वमा भइरहेका युद्ध, द्वन्द्व तथा शक्ति राष्ट्रबीचको तनावले नेपालजस्ता मुलुकको राजनीति र आम नागरिकको दैनिक जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने बताउनु भयो ।
उहाँले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा भइरहेका युद्ध तथा द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि, वस्तु तथा सेवाको मूल्यवृद्धि र महँगी बढिरहेको उल्लेख गर्नुभयो । “कुनै पनि देशको राजनीति विश्व राजनीतिभन्दा अलग हुँदैन,” उनले भने, “त्यसैले देशको राजनीतिबारे विचार गर्दा विश्व राजनीतिका घटनाक्रमलाई समेत बुझ्न आवश्यक छ ।”
अध्यक्ष विश्वकर्माले विश्वका ठूला शक्तिहरूबीच बढिरहेको द्वन्द्वले थप युद्धको जोखिम निम्त्याइरहेको भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनु भयो । विश्व राजनीतिमा हुने शक्ति संघर्ष, युद्ध र अशान्तिको असर अन्ततः सामान्य नागरिकको जीवनमा समेत पर्ने उहाँको भनाइ थियो ।
उहाँले इरान, रुस, युक्रेनलगायतका मुलुकमा भइरहेका द्वन्द्व तथा अन्तर्राष्ट्रिय तनावको प्रभाव विश्व अर्थतन्त्रमा परिरहेको चर्चा गर्दै नेपालले पनि अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक नियाल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा उहाँले नेपालमा जातीय विभेद तथा असमानताको अन्त्यका लागि निरन्तर संघर्ष आवश्यक रहेको समेत बताउनु भयो । राजनीतिक दल तथा नेतृत्वले जनताका समस्या र सामाजिक विभेदका विषयमा गम्भीर भएर काम गर्नुपर्नेमा विश्वकर्माले जोड दिनुभएको थियो ।
यो पनि पढ्नुहोस् : समता समाज गण्डकीको दोस्रो भेला सम्पन्न

