ऋग्वेदको सुरुवात अग्निको स्तुति र अग्निको सहयोगबाट गरिने यज्ञको महिमागानबाट भएको छ। ब्राह्मणहरू यज्ञको परम्परा धान्ने गर्दथे । बुद्धकालभन्दा पहिलेदेखि समाजमा हिंसामय यज्ञ वैदिक कालदेखि चल्दै आएको थियो। त्यतिखेर नै त्यो काम वि…बाट निन्दित थियो । गोरु, बाछा, भेडा, बाख्रा सात–सात सय जम्मा गरेर यज्ञमा होम्ने पनि गरिन्थ्यो। बुद्धले पशुवध गरेर सम्पन्न गरिने यज्ञको समर्थन गर्दैनथे। ब्राह्मण पण्डितहरूले राजालाई पशु मार्दा पाप लाग्दैन भनेर वध गरी मासु खाने गर्दथे। तृष्णामा लिप्त भएकाहरूले गरेको यज्ञले दुःख क्षय गराउन सक्दैन भन्ने बुद्धको भनाइ थियो ।
बुद्धले शरीरलाई कष्ट दिने तपस्या निरर्थक मान्दथे। मनलाई संयमित बनाउन भन्थे। शरीर मात्र पखालेर शुद्ध हुन चाहने तत्कालीन तपस्वीहरूको चलनलाई बुद्धले हास्यास्पद मान्दथे। तृष्णाको क्षय भएपछि जुनसुकै मान्छेको पनि चित्त शुद्ध हुन्छ भन्ने पनि बुद्धको भनाइ थियो। बुद्धले दुःखमुक्तिको बाटो हत्केलामा राखेको वस्तुजस्तै प्रस्टसँग देखाउँथे। बुद्ध र उनका चेलाहरूको भनाइ र गराइमा एकरूपता थियो। उनीहरू तथ्य कुरा मात्रै गर्दथे। बोलेअनुसारको आध्यात्मिक उपलब्धि आफैँ हासिल गरेर व्यवहारद्वारा सिद्ध गर्दथे।
बुद्ध खुला किताबजस्तै थिए। उपदेशकले आफूले उपदेश दिएअनुसार आचरण नगर्दा न शिष्यको कल्याण हुन सक्दथ्यो, न त आफ्नो कल्याण नै हुन सक्दथ्यो। बुद्धको युग त्यस क्षेत्रमा जागरणको युग थियो। बुद्धको उपदेशअनुसार चल्दा दुःखबाट मुक्ति मिल्ने र वास्तविक सुखको अनुभूति गर्न सकिने कुरा जनताले आफ्नै अनुभवबाट थाहा पाए। बुद्धले आफ्नो सम्पूर्ण शिक्षामा वैज्ञानिक दृष्टिकोण अपनाए। सिद्ध पनि गरे कि वास्तवमा अहं र आत्माको कुनै अस्तित्व छैन। धेरै चिज परिस्थितिहरूका परिणाम हुन् भन्दै बुद्धले दुःखको क्षेत्र र त्यसबाट सकुशल निस्केर बाँच्ने दुःखविमुक्तिको बाटो मात्रै व्याख्या गर्दथे।
आर्यहरूले स्थानीय सैन्धव जातिहरूसँग युद्ध गरेर हराएपछि उनीहरूलाई पक्रेर दास बनाउँथे। हरुवा दासहरूप्रति उनीहरूको वैमनस्यता थियो। त्यसैले वर्ण व्यवस्थामा दासहरू शूद्रको श्रेणीमा राखिए। त्यसपछि आर्य र शूद्रहरूबीच संसर्ग भएर जन्मेका सन्तानहरू पनि शूद्र मानिएकोले शूद्र जातिभित्र विभिन्न उपजातिको वृद्धि भयो। शूद्रप्रतिको विद्वेष बढ्दै गएर कालान्तरमा उनीहरूलाई अछुतको व्यवहार गर्न थालियो।
ऋग्वेद ईसापूर्व १५०० भन्दा पहिलेको मानिन्छ। यसको रचना ईसापूर्व १५००–३००० मा भएको मानिन्छ। – उमाकान्त पौड्याल, पेज १५९। उत्तरवैदिक काल (ईसापूर्व १५००–६००) मा जातिप्रथालाई तल्ला जातिले अस्वीकार गरेर विद्रोह गर्ने सम्भावनाको डरले अघिल्लो जुनीको कर्मफलका रूपमा व्याख्या गर्न थालेको पाइन्छ। – ऐ.ऐ., पेज १६०।
बुद्धकालसम्म आइपुग्दा जातिवादको प्रभाव उत्कर्षमा पुगिसकेको थियो। कामको विभाजनका रूपमा उदाएको वर्ण व्यवस्था जातीय अस्तित्वमा आएर समाजमा स्थिर रूप लिन पुग्यो। बुद्धकालमा समाजमा हीन जाति र उत्कृष्ट जातिका हिसाबले जातिहरू दुई थरिका मानिन्थे। क्षेत्री र ब्राह्मण उत्कृष्ट जातिमा पर्दथे भने शूद्रकुलको जग्गा–जमिन र वस्तुभाउ आदि सम्पत्ति हुँदैनथ्यो। शारीरिक बल र सीप उनीहरूको सम्पत्ति थियो। वैश्य जाति खेतीपाती, पशुपालन र बन्दव्यापारमा संलग्न थिए। बुद्धकालमा केही गाउँ जातिका आधारमा स्थापना भएका थिए।
उच्च जाति र नीच जातिको प्रथाका कारण तत्कालीन समाजमा जातिहरू आफ्ना कुलहरूमा विभाजित थिए र परस्पर द्वेषभाव थियो। बुद्धका भिक्षुसंघमा सबै जाति, कुल र जनपदका सबै श्रद्धालुहरूले प्रव्रज्या प्राप्त गर्न सक्दथे। भिक्षुसंघ तत्कालीन समाजमा उदाहरण र अनुकरणीय बनेको थियो। ब्राह्मणहरूले चित्तशुद्धिलाई भन्दा बाह्य आडम्बरलाई प्रधानता दिन्थे। उपनिषद्काल या उत्तरवैदिक काललाई बुद्धकाल र वैदिक कालको सन्धियुग मानिन्छ। त्रिपिटकमा क्षेत्रीलाई पहिलो मानेर त्यसपछि ब्राह्मण, वैश्य र शूद्रको स्थान राखिएको छ।
बुद्ध जन्मजात कायम हुने जातिप्रथाका विरोधी थिए। बुद्धकालको समाजमा जातिप्रथाको जरा बलिया थिए। उनले हल्लाउने कोसिस मात्र गरे। जातिप्रथालाई पूरै उखेल्न सकेनन्।
गौतमबुद्ध मूलतः आध्यात्मिक अभियन्ता थिए। उनी सामाजिक अगुवा थिएनन्। बुद्धले देखाएको सही बाटोमा हिँड्ने काम समाजका सबै सदस्यहरूले गरेको अवस्थामा मात्र समाजमा समानता स्थापित हुन सक्दथ्यो। त्यो काम बुद्ध एक्लैले गरेर सम्भव हुने काम थिएन।
वर्ण व्यवस्था र वैदिक धर्म स्थिर गर्न स्मृतिकाल (ईसापूर्व २०० देखि इस्वी संवत् २०० सम्म) मनुस्मृति, पराशर स्मृति आदि थुप्रै स्मृतिग्रन्थहरूको रचना भयो। धर्मग्रन्थमा ब्राह्मणले क्षेत्रीय र वैश्यका स्त्रीहरूसँग सहवास गर्ने शूद्रहरूको लिङ्गच्छेदन गर्ने र सर्वस्वहरण गर्ने सम्मका कडा र अमानवीय सजाय गरेको पाइन्छ। शूद्रलाई बुद्धले दिएको आश्वासन कालान्तरमा पराशरले खारेज गर्दै भने– दुराचारी भए पनि ब्राह्मण, क्षेत्री र वैश्य मात्रै पूज्य हुन सक्ने, शूद्र पूज्य हुन नसक्ने ठोकुवा गरे। शूद्र आर्थिक रूपमा दरिद्र र सामाजिक हैसियतमा हीन भएकोले उनीहरूबाट ब्राह्मणले केही लाभ लिन सक्दैनथे।
आर्यहरूले ईसापूर्व २००० को आसपास सिन्धुघाँटीमा कब्जा गरे। त्यसपछि सिन्धुघाँटीको सभ्यतामा आर्यहरूको व्यापक प्रभाव परेको हो। रैथाने सैन्धव र आगन्तुक वैदिक आर्य दुवैको मिश्रित संस्कृति र सभ्यताको विकास भयो। नयाँ संस्कृतिको उदय भयो।
पुरुषप्रधान समाज भए पनि वैदिक कालमा महिलाको स्थान उच्च थियो। धेरै पुत्र जन्माउने महिलाको बढी आदर हुन्थ्यो। वैदिक कालको अन्त्यतिर समाजमा महिलाहरूको महत्त्व कम हुँदै गयो। उपनिषद्कालमा महिलाहरूको भूमिका लगातार खुम्चिँदै गृहकार्यमै सीमित हुँदै गयो। बुद्धकालमा आइपुग्दा महिलाहरू सन्तान जन्माउने र घरको काम सम्हाल्ने जिम्मेवारी पूरा गर्नेमा मात्रै सीमित भइसकेका थिए। गृहस्वामिनीको स्थानबाट सेविकाको स्थानमा रूपान्तरित भइसकेका थिए।
बुद्धकालीन समाजमा संयुक्त परिवारको प्रचलन थियो। सबै कामको रेखदेख र व्यवहार सञ्चालन घरमूली पुरुषबाट हुन्थ्यो। आफू अशक्त र वृद्ध भएपछि घर–व्यवहारको झमेलाबाट उम्किन घरमूली पुरुषले सबै सम्पत्ति छोराहरूलाई अंशबण्डा गरिदिएर गृहस्थी धर्मबाट निवृत्त हुने गर्दथे।
बुद्धका अनुसार सम्पूर्ण मानवलाई दुःखले आक्रान्त बनाए पनि स्त्रीले पाँच प्रकारका थप दुःख व्यहोर्नुपर्दछ। (१) आफ्नो घर, प्रिय आफन्तजन र आफ्नो वातावरण छाडेर पतिको घरमा जानुपर्ने। (२) मासिक धर्मका कारण शारीरिक र मानसिक कष्ट व्यहोर्नुपर्ने। (३) गर्भधारण गरेर नौ महिनासम्म पेटमा बच्चा हुर्काउनुपर्ने। (४) प्रसवकालको दुःख व्यहोर्नुपर्ने। (५) पति र सासू–ससुराको सेवाटहल गर्न बाध्य हुनुपर्ने।
यी पाँचवटा दुःखमध्ये प्रकृतिले दिएका तीनवटा र मानवले सिर्जना गरेका दुईवटा कृत्रिम दुःखहरू हुन्। प्रकृतिले दिएका महत्वपूर्ण तीनवटा जिम्मेवारीका लागि महिलाहरूलाई पुरुषले सम्मान गर्दै आफूले महिलाहरूको स्याहार–सुसार गर्नुपर्ने थियो। तर त्यो महत्वपूर्ण जिम्मेवारीका लागि महिलाको अशक्त अवस्थालाई कमजोरी ठानेर उनीहरूमाथि पुरुषहरूले थप उत्पीडन गर्ने गलत चलन पनि महिलाहरूले बाध्य भएर व्यहोर्नुपर्ने भयो।
आफ्नी श्रीमतीबाट सन्तुष्ट नभएर वेश्यावृत्ति गर्ने र सौता ल्याउने प्रथा त्यतिखेर पनि कायम थियो। सम्पन्न र उच्च कुलका परिवारमा घरका सबै काम दासदासीहरू र अरू कामदारहरूले गर्दथे। सामाजिक, आर्थिक र राजनीतिक क्रियाकलापहरूमा पुरुषहरूकै एकछत्र वर्चस्व थियो। उनीहरूको कामले सामाजिक महत्त्व राख्दथ्यो। उनीहरूको कामबाट आम्दानी हुने र आम्दानी, तलब, नाफा, उत्पादनका वस्तुको मूल्यलगायत सबै आम्दानीका स्रोतमा पुरुषहरूकै महत्त्व र गिन्ती हुन्थ्यो।
सामान्य परिवारका महिलाहरूलाई भने घरबाहिरको काममा निस्कनुपर्दथ्यो। स्त्रीले आहार, अलंकार, परपुरुष, धन र डुलुवा बानीको लोभ त्याग्न सक्दैनन् भन्ने समाजको धारणा थियो। काम गर्न अरू मान्छेसँग सम्पर्क गर्दा विभिन्न किसिमले पुरुष व्यक्तिहरूबाट यौन शोषण गर्ने प्रयत्न पनि नहुने होइन।
आगन्तुक आर्यहरूले रैथाने सैन्धवहरूको क्षेत्र कब्जा गर्दा सैन्धव असुरहरूको सभ्यता आर्यहरूको भन्दा उच्च थियो। आर्यहरूले उनीहरूको सीपको भरपुर फाइदा लिए। वैदिक कालमा चलेको दासप्रथा बुद्धकालमा उत्कर्षमा पुगेको थियो। लडाइँमा हारेर जीवनदान पाएका पहिलो, मालिकको घरमा जन्मेका दोस्रो, धन दिएर किनिएका तेस्रो र आर्थिक कठिनाइले दासत्व स्वीकारेका चौथो थरिका दासहरू हुन्थे। मालिकहरूले दासहरूप्रति कठोर र क्रोधपूर्ण व्यवहार गर्दथे।
बुद्धले दास–दासी र कामदारहरूलाई पाँच प्रकारले हेरविचार गर्नुपर्दछ भन्थे। (१) उमेरअनुसार काममा लगाउने। (२) उचित ज्याला–पारिश्रमिक दिने। (३) दास बिरामी हुँदा औषधि र पथ्य आहारको प्रबन्ध गरिदिने। (४) घरमा मिठो–मसिनो खाना पाक्दा नछुटाउने। (५) धेरै काम पर्दा बीच–बीचमा विश्राम दिने र विशेष अवसरमा बिदा दिने।
त्यसो गरेमा दास र कामदारहरूले पनि पाँच प्रकारले मालिकको सेवा गर्नेछन् भन्ने बुद्धको उपदेश थियो। दास–दासी र कामदारहरूले आफ्ना मालिकहरूप्रति सन्तुष्ट भई प्रदर्शन गर्ने व्यवहारहरू निम्नअनुसार हुने छन्– (१) बिहान छिटै उठेर काम थाल्ने छन्। (२) साँझ अबेलासम्म काम गर्ने छन्। (३) दिएको मात्र लिने छन्। आफ्नो खुसीले चोरी, ठगी आदि गर्ने छैनन्। (४) कुशलतापूर्वक कार्यसम्पादन गर्ने छन्। (५) अरूका अगाडि मालिकको जयगान गर्ने छन्। – ऐ.ऐ., पेज २३६।
मालिकलाई शरीर सुम्पदा दासीहरूले मालिकनीहरूबाट कडा सजाय, दण्ड र अङ्गभङ्गसमेत व्यहोर्नुपर्दथ्यो। मालिकनीहरूले आफ्नो सम्पूर्ण रिसको झोँक दासीहरूमाथि खन्याउने गर्दथे। दासीहरूले मालिकहरूको विरुद्ध काम गर्न सक्दैनथे। उनीहरू मालिकहरूका कामवासनाका अगाडि नतमस्तक भई शरीरसमेत सुम्पने गर्नुपर्दथ्यो। तर मालिकनीहरूले आफ्नो लोग्नेको रिस पनि दासीहरूमाथि खन्याउँथे ।
आगोको आविष्कारपछि मान्छेहरू ओडार, गुफा, रुखमुनि आदिको बास छाडेर आफैँ घर बनाएर बस्न थालेका थिए। प्रकृतिजीवनमा प्रकोप, हिंस्रक जन्तुको आक्रमण, अन्य समूहको आक्रमण आदि कारणले गर्दा मानव परिवार संगठित हुँदै एकै स्थानमा बसोबास गर्न थालेका थिए। खेती र पशुपालनको सुरुवात भएपछि उत्पादन बच्न सक्ने र धेरैको श्रम आवश्यक पर्ने भएको थियो।
बुद्धकालमा कृषि, पशुपालन, वाणिज्य, विविध शिल्प–व्यवसाय आदि जीविकाका प्रमुख साधन थिए। मुख्य पेसा खेती थियो। राज्यको आम्दानीको मुख्य स्रोत खेतिमा लगाउने कर थियो। फलिसहितको हलो, खन्ने कोदाली र काट्ने हँसिया तीन औजार थिए। जोत्न, फसल ढुवानी गर्न र दाइँ लगाउन गोरु प्रयोग भए पनि अरू काम मान्छेले गर्दथे। मुख्य बाली गहुँ, जौ, कासेबाली, मकै, कोदो, काउनो आदि थिए।
बुद्धकालमा धनलाई पाँच किसिमले बयान गरिएको थियो। (१) दान–पुण्य कर्मका लागि सञ्चित धन–अनुगामिक धन। (२) खेत, घर आदि स्थिर सम्पत्तिलाई स्वावर धन। (३) नाश हुन सक्ने सुन, हिरामोती, चाँदी आदिलाई सहारीम धन। (४) शिल्प, कला, कौशल आदि शरीरमा आधारित धनलाई अङ्गसम्बन्धी धन भनिन्थ्यो।
यसका साथै दूध, दही, घिउ, मही, नौनी आदिलाई पञ्चगोरस पनि भनिन्थ्यो। गोधन सर्वश्रेष्ठ मानिन्थ्यो र गहुँतलाई औषधि र कीटनाशकका रूपमा पनि प्रयोग गर्ने पहिलेदेखिको चलन थियो। गोरुलाई नाकेरसी बनाउने र बहरलाई पाको गोरुसँग नारेर तालिम लिने पनि त्यतिखेरदेखि नै चलन थियो। आफ्नै गाई पाल्नेलाई गोप र अरूको गाई हेर्नेलाई गोपालक भनिन्थ्यो।
बुद्धकालमा कृषि, पशुपालन र वाणिज्य तीन व्यवसाय जीवनयापनका लागि मुख्य मानिन्थे। – ऐ.ऐ., पेज २५२। आफ्ना मित्रराष्ट्रका व्यापारीहरूलाई आफ्नो देशमा कर छुट दिने चलन थियो। व्यापार–व्यवसायका लागि विनिमय सजिलो बनाउन सिक्काको प्रचलन सुरु भइसकेको थियो। सामान किन्दा परेको खरिद रकम र ढुवानीसहितको नाफा रकम हिसाब गर्न सक्ने चलाख व्यापारीले सामान बेचेर धेरै आम्दानी गर्न सक्दथे।
चोर, डाँकु र लुटेराहरूको डरले व्यापारी र यात्रीहरू लामो जङ्गली बाटो हिँड्नुपर्दा धेरै जनाको समूहमा हिँड्दथे। तिनीहरू हातहतियारसहित पनि हुने गर्दथे। समुद्रमा डुङ्गाबाट व्यापार गर्दा समुद्रको किनारा पत्ता लगाउन चरा लैजाने गर्दथे। चरालाई उडाइदिन्थे, किनार नभेटिए चरा फर्कन्थ्यो, किनार भेट्टिए चरा फर्कँदैनथ्यो। त्यसैअनुसार दिशा निश्चित गर्दथे। त्यतिखेर त्यही सरल तरिका थियो।
पेसा–व्यवसायमा चर्पी र सहर–बजारको सरसफाइ गर्ने काम पेसाहीन मानिन्थ्यो। कृषि, पशुपालन र वाणिज्यलाई उत्कृष्ट व्यवसाय मानिन्थ्यो। शिल्पमध्ये बेतबाँसको काम, माटाका भाँडा बनाउने काम, कपडा बुन्ने र सिलाउने काम हीन शिल्प मानिन्थ्यो भने हिसाब गर्ने, ज्योतिष काम गर्ने, पढ्ने–पढाउने र लेख्ने शिल्पलाई उत्कृष्ट शिल्प मानिन्थ्यो। शिल्प व्यवसायका सिकारीहरूलाई अन्तेवासी भनिन्थ्यो। उनीहरू आफ्ना गुरुको सान्निध्यमा शिल्पविद्या आर्जन गर्दथे।
वैदिक कालमा सानो स्तरमा धेरै ऋषिका गुरुकुल स्थापना भएका थिए। आफ्नो ज्ञान र सीप पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न गुरुकुल शिक्षाको विकास अपरिहार्य थियो। गुरुकुल आश्रमबाट कालान्तरमा धेरै दर्शन, कला, साहित्य, व्याकरण, आयुर्वेद आदि विद्याको विकास भयो। वैदिक र उत्तरवैदिक कालका गुरुकुल आश्रमहरू जङ्गलछेउमा बनाइएका हुन्थे। आश्रममा गौपालन पनि हुन्थ्यो।
बुद्धको भिक्षुसंघ र विहारको व्यवस्थापन पनि आश्रमकै प्रकृतिको थियो। नालन्दा, विक्रमशिला, ओदन्तपुरी आदि प्रसिद्ध बौद्ध शिक्षा केन्द्रहरू कालान्तरमा विकास भए। यी शिक्षा केन्द्रहरूमा हजारौँ विद्यार्थीहरू पढ्दथे। सयौँ भिक्षुहरूले शिक्षा दिन्थे। गन्धार राज्यको तक्षशिला बुद्धकालमा विद्याध्ययनको प्रमुख केन्द्र थियो।
ईसापूर्व चौथो शताब्दीमा कात्यायनले पौष्करसातिलाई बुद्धकालीन वैयाकरण भनेका छन्। शुल्क तिरेर अध्ययन गर्नेहरू र दिनभर गुरुको काम गरेर पनि अध्ययन गर्नेहरू दुई थरी शिष्य हुन्थे। विद्यामा शिष्य पारङ्गत भएको विश्वास भएपछि शिष्यलाई बिदा गरिन्थ्यो।
अध्ययन–अध्यापन मौखिक रूपमा हुने भए पनि लिपिको प्रचलन बुद्धकालमा आइसकेको थियो। बुद्धको मृत्युको सवा दुई सय वर्षपछि सम्राट् अशोकको पालामा लिपिको ज्ञान र पहुँच जनसाधारणसम्म आइसकेको थियो। – ऐ.ऐ., पेज २७२। अशोककालपछि ईसापूर्व दोस्रो शताब्दीमा मात्रै लौकिक संस्कृतले राज्यस्तरबाट मान्यता पाएको थियो। त्यसबाट विभिन्न ग्रन्थ यसै भाषामा रचना हुने क्रम बढेको पाइन्छ।
मागधी भाषा बुद्धकालमा भारतीय उपमहाद्वीपको बृहत्तर क्षेत्रमा बोलिन्थ्यो। सम्पर्क भाषाका रूपमा व्यवहारित पनि हुन्थ्यो भन्ने अनुमान छ। बुद्धले रोगी भिक्षुलाई औषधि, पथ्याहार र सहायकको सेवा लिन अनुमति दिएका थिए। उत्तम सेवक चाहिने पनि बुद्धको भनाइ थियो। – ऐ.ऐ., पेज २७५। उपचार पाउन मात्रै भिक्षु हुनेहरूलाई रोक्न पाँच महारोगले ग्रसितहरूलाई भिक्षु नबनाउने नियम बनाएका थिए।
ईसापूर्व २२०० तिरको मानिएको सैन्धव सभ्यताको उत्खनन गरेर प्राप्त भग्नावशेषले ढुङ्गा, माटो, काठ प्रयोग गरेर नगर निर्माण गर्ने कलाको विकास भइसकेको देखाउँछ। – ऐ.ऐ., पेज २८१। बुद्धकालमा ठूला दरबार निर्माण भएको र नयाँ नगर बसाउँदा वास्तुकला विधाका जानकारहरूको सल्लाह लिइन्थ्यो। कोठा नछुट्याइएका ठूला घरलाई शाला भनिन्थ्यो। दर्शन ढुङ्गामा फलाम घोट्दा निस्कने झिल्का झुलोमा सल्काएर आगो पार्ने चलन थियो। आगो गहिरो अगेनामा निरन्तर राखिराख्ने पनि गरिन्थ्यो। – ऐ.ऐ., पेज २८४।
सन्दर्भ ग्रन्थ :
किताबको नामः बुद्धकालीन समाज – पालि त्रिपिटकको साक्षमा
लेखकः उमाकान्त पौड्याल
प्रकाशकः फाइन प्रिन्ट
प्रथम प्रकाशनः वैशाख २०८०

