प्रदेशमा भए पनि देशकै तस्बिर मनमा
शिक्षा बढे पनि मानवताहीन भयो जमाना।
मानवता घिटीघिटी भयो हाम्रो देशमा
यो कुराको समाजमा जगाऊ चेतना।।
धेरै छोरीचेलीहरू मरीमरी बाँचेका
मुटुमा किलो गाडी छन् नि, हाँसेका।
सहनुपर्छ छोरी तिम्ले भन्ने गयो जमाना
बाँच्नुपर्छ हाम्रा छोरी मानव समान।।
महिला हकको कुरा गरी खान्छन् रोटी सेकेर
मन रेटिन्छ समाजका घटना देखेर।
आफन्त हुन् भनेर छोरी जिम्मा लाउँदा
छोरीलाई नै लुछी खान्छन् घरमा आउँदा।।
आमासँग बाहेक छोरी कहीँ सुरक्षित देखिन्नन्
अपराधीलाई फाँसी दिने कानुन लेखिन्नन्।
कानुन बनाऊ भन्दापनि पार्छन् धेरै बहाना
अपराधीलाई बचाउने हो यिनको चाहना।।
आफूअनुकूल कानुन ल्याउँछन् चोर बाटो खोजेर
यीनेले तलबभत्ता खान्छन् कसलाई सोधेर?
संवेदनशील मुद्दा आउँदा संसद् तिर देखाउँछन्
विपक्षीलाई कारण देखाई खुट्टा टेकाउँछन्।।
पहिलाका नि यस्तै थिए, ऐलेकानी यस्तै छन्
आफ्नै सुविधा मिलाउने काममा व्यस्त छन्।
आफूहरूलाई ज्वरो आउँदा जहाज चढी राजधानी
गुहार पाउँदैनन् जनताले, ज्यान जाँदानी।।
शिक्षाबाट वञ्चित थिए पहिला पहिला छोरी नि
अहिले अवसर पाएका छन् विश्वभरि नि।
छोरीले गर्नुपर्ने धेरै छन् अझै काम
पढेर त चलायौ विश्वभरि नाम।।
पढेर मात्र हुने रहेनछ ज्यानको सुरक्षा
दिनदिन बढेको छ नारीको हत्या।
कलम मात्र हैन, छोरी अब तिम्ले चलाउने
बेला आयो दोषी टुक्रा पारी ढलाउने।।
त्यसको लागि सिक छोरी हतियार चलाउन
दुई–चारजना बलात्कारी पर्छन् ढलाउन।
हुनेछैन अब पनि अरूको भर परेर
न्याय दिने नाममा फाल्छन् हत्या गरेर।।
घरघरबाट उठौँ नारी, बस्नु हुन्न रोएर
कोमल मनलाई यो समाजले भन्छ कायर।
अब नारी अघि बढी रच्नुपर्छ इतिहास
अपराधिक मानसिकता पार्न सर्वनाश।।