काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षाका क्रममा बाहिरिएको प्रकरणमा सात जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गत शिक्षक सन्दीप सिंहसहित विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई प्रतिवादी बनाएको हो ।
प्रहरी अनुसन्धानमा सिंहले ‘सुलभ सर’ नामबाट ह्वाट्सएप ग्रुप सञ्चालन गरी करिब एक हजार विद्यार्थीलाई जोडेको र प्रश्नपत्र बाहिर पठाएको खुलेको छ । परीक्षा हलमै प्रश्नपत्रको फोटो खिचेर ह्वाट्सएपमा पठाएको एक विद्यार्थीले बयानमा स्वीकार गरेका छन् ।
सिंहको ल्यापटप र मोबाइल परीक्षण गर्दा प्रश्नपत्रका फोटो, च्याट हिस्ट्री तथा पीडीएफ फाइल भेटिएको प्रहरीले जनाएको छ । अभियुक्तमध्ये केही फरार रहेका छन् ।