यो स्तम्भ ‘तर्क’ होइन ‘बिन्ती’ हो । आफ्नो लेखनमा कुनै हालतमा एआई प्रयोग नगर्नुस् । तपाईंको लेखनकार्यमा एआई ल्याउँदै नल्याउनुहोस् । यसलाई स्कुल पेपरमा, कार्यसम्पादनमा, पत्र लेखनमा, कम्पनी भेलाको भाषण लेखनमा वा साथीभाइ तथा सहकर्मीलाई लेख्ने इमेलमा प्रयोग गर्दै नगर्नुहोस् । आफ्नो नोट व्यस्थित गर्न पनि यसको प्रयोग गर्दै नगर्नुस् । आफ्नो वाक्य कसरी सुरु गर्ने वा कसरी अन्त्य गर्नेबारेमा यसको सल्लाह नलिनुस् । यसलाई पहिलो मस्यौदा लेख्न नदिनुस् । त्यो भ्रमबाट पनि मुक्त हुनुस् कि यसले सम्पादन मात्रै गर्दा लेखन तपाईंकै हुनेछ । त्यस्तो हुँदैन ।
एआईले लेख्नु अनैतिक हो जहाँ शब्द, धारणा र सूचना तपाईंले आफ्नैजस्तो गरेर छलकपट गर्नुहुन्छ, जबकि त्यो तपाईंको हुँदै होइन । यसको स्विकारोक्तिले एकखालको समस्याको हल गर्छ । यी सबै गर्न बन्द गर्नुस्, किनभने तपाईंले एआईभन्दा राम्रो लेख्ने क्षमता विकास गर्न सक्नुहुन्छ । हुन त अहिले पनि तपाईंको लेखन, हँकाइ वा चेस खेल क्षमता एआईभन्दा बबाल राम्रो हुनसक्छ ।
एआईको समस्या भन्नु नै दिमाग बोधो बनाउनु हो । यो भनेको भर्याङ चढ्न लिफ्ट लिएजस्तो हो । एआई यत्रतत्र सर्वत्र बन्दाखेरि यसले हाम्रो तर्क क्षमतामा मात्रै ह्रास ल्याउँदैन, यसले त समाजको सोच्ने, सिर्जना गर्ने, चासो राख्ने कुरा नै सकिदिन्छ । अहिले नै पठन संस्कृतिको गिरावट भएको दस्तावेजमा हामी जानकार नै छौँ । एआईले लेखनमा ह्रास ल्याइसकेको छ, र त्यस्तो युगको जन्म दिँदै छ जसलाई रोज होरोविजले ‘पोस्टलिटरेट एज’ अर्थात्, उत्तरसाक्षर युगको उपमा दिएका छन् ।
लेखनले गर्ने मौलिकताचाहिँ के हो त ? यसले दबाबचाहिँ सिर्जना गर्छ । यसले बोल्ने भाषाले हत्तपत्त नदेखाउने बाटोसम्म जान दबाब दिन्छ । यसले हामीलाई विषयलाई राम्रोसँग प्रस्तुत गर्नेबारेमा, व्याकरणलाई मिलाउनेबारेमा, बौद्धिकताको परीक्षण तथा संगठन गर्नेबारेमा, अरुको निरीक्षण गर्नेबारेमा दबाब दिन्छ । यी सबै गरिरहँदा यसले हामीलाई प्रस्ट, तार्किक, तथ्यगत र उत्तरदायी बनाउँछ । मान्छेले रिसाएको बेला भएका शब्द बिर्सन सक्छन् । तर, रिसाएर लेखेको कुरा बिर्सन गाह्रो हुन्छ, किनभने लेख्नुको अर्थ हो यसबारेमा धेरै सोच–विचार गरिएको छ ।
सोच–विचार शब्दले माने राख्छ । यो हुनुको शक्ति हुन्छ, र नैतिक वजन हुन्छ । हामी बोलीचालीमा पनि भन्छौँ नि– म त्यो लिखतमै चाहन्छु । यसो भन्नुको अर्थ बोल्दा गलत भयो भन्ने होइन, लेख्दा प्रमाण भयो भन्नलाई पनि हो । तर, त्यही लेख्ने काम पनि आफैँले नगरेर तेस्रोपक्ष वा मेसिनले गरेपछि के होला ?
शब्द खोक्रा बन्छन् । छोरीको विवाहमा ‘चियर्स’ गर्ने वाक्य एआईलाई लेखाउने बाउ कल्पिनुस् त । त्यो माहौल एआईले कसरी महसुस गर्न सक्छ, बुझ्न सक्छ, र लेख्न सक्छ ? अनि कल्पिनुहोस् छोरीलाई थाहा हुन्छ कि त्यो एआईले लेखेको हो । त्यहो हुँदा उनी अपमानित नभए पनि निराश हुँदिनन् र ?
मान्छेले तर्क गर्न सक्छन् कि अरु व्यवसायिक काममा एआई प्रयोग गर्नु र विवाहजस्तो नितान्त कुरामा प्रयोग गर्नुमा फरक छ । तर, जुनसुकै काममा पनि लेखनका लागि प्रयोग गर्ने बौद्धिक मांशपेशी एकै हो । साधारण लेखकले जे गर्छ, त्यही काम निरन्तर गरेर नै राम्रो लेखक बन्ने हो । लेखनमा ज्यादा ध्यान र समय दिएरै हामी राम्रो लेखक बन्ने हो । अब एआईमा निर्भर हुँदा त्यो सम्भव छैन । झिनामसिना काममा पनि ध्यान दिएर आफ्नोपन दिएमा मात्रै हामी झन सिर्जनात्मक बन्न सक्छौँ ।
यी दक्षताहरू अब क्रमशः बिलाउँदैछन् । पछिल्लो एक अध्यननले भन्छ– विद्यावारिधिको शोधग्रन्थमा सामान्यभन्दा धेरै एआई प्रयोग गर्नेहरू ५६ प्रतिशत देखिए । १९ प्रतिशतको शोधग्रन्थ त ५० प्रतिशतभन्दा धेरै एआईले लेखेको पाइयो । एआईमा आश्रित विद्यार्थीको बाढी आइसकेपछि प्राध्यापन क्षेत्र चिन्तित छ । यो समस्यालाई चिटिङको कोणमा मात्रै व्याख्या गरेर पुग्दैन । चिटिङले एआईको वास्तविक क्षेत्र समेट्दैन । यो प्राज्ञिक निष्ठा र निजी विकासको कुरा मात्रै होइन, यो त लोकतान्त्रिक स्वायत्तताको कुरा पनि हो ।
आमसाक्षरता र प्रजातन्त्रको अभ्यूदयको धर्को जोडिएको सबैलाई थाहै छ । राम्रो लेखपढ गर्न सक्ने मान्छेले आफ्नो छनोट र अभियान गर्न ऐतिहासिक रूपमै सफल भएका छन् । यो सबै पद्धति उल्टोबाटोमा गए के हुन्छ ? मान्छेले केही वाक्य र केही पेजको तर्कको लागि पनि धैर्य गुमाउँदा के हुन्छ ? नियमित बानी नभएकोले तर्कलाई काट्ने प्रतितर्कको विकास नगर्दा के हुन्छ ?
यस्तो खालको दुनियाँ कस्तो हुन्छ भन्नेबारेमा हामीले राष्ट्रपति ट्रम्पका सामाजिक सञ्जालको भाषाबाट थाहा पाइसकेका छौँ । त्यसले लाखौँ अमेरिकीलाई पारेको प्रभावमा हामी जानकार छौँ । एआई अगाडि अर्थात्, एक दशकअगाडिको देशको अवस्था हेर्ने हो भने झन छर्लङ हुन्छ पढ्ने, लेख्ने र सोच्ने क्षमतामा हामी कति पछि पर्यौँ ?
अर्कोपटक इमेल वा टेक्स्टको अटोमेटेड जवाफ दिउँदिउँ लाग्ला तपाईंलाई, त्यसो नगर्नुस् । आफ्नै शब्द टाइप गर्नुहोस् । यसलाई आफ्नो स्वतन्त्र विचारको रूपमा सोच्नुहोस् । अथवा, ट्रम्प विरोधीलाई मतदान गर्नुहोस् । बोधो बन्दै गएको विश्वविरुद्धको लडाइँका लागि तपाईंका केही अतिरिक्त सेकेन्डले भूमिका खेल्नेछन् ।
(शनिवारको अंकमा न्यु योर्क टाइम्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रकाशित लेखको भावानुवाद)

