✍️ दीप गोले तामाङ
त्यो
दलाल सत्ताधारीभन्दा
के कम थियो र?
अर्को दलाल,
हिजोका शासकलाई गाली गर्दै,
फेसबुकका स्टाटसमा
परिवर्तनका नाराहरू लेख्दै,
सत्ता परिवर्तनको विगुल फुक्दै,
सुकुम्बासीका घरमा डोजर चलायो,
फुटपाथका व्यापारीका सामान फ्याँक्यो,
सडक चौडा बनायो,
र जनताको
वाहवाही बटुल्यो।
फेरि,
एउटा नयाँ शासक
युवाको आशाको किरण बनेर उदायो।
रातारात
चर्चाको शिखरमा पुग्यो।
सत्ता ढाल्नु थियो,
आफ्नै सत्ता उभ्याउनु थियो।
सिंहदरबार,
सर्वोच्च अदालत,
र संसद भवन जलाउने
उत्तेजक आदेशहरूबाट
उसले बहादुरीको आवरण ओढ्यो।
तर अन्ततः
उही पुरानै
झुट, ढोंग र छलको मुखौटा लगायो।
चुनावी छापमा
जनताको विश्वास माग्यो।
विदेशीको आशीर्वादले
शक्तिशाली बन्यो।
सत्ता हत्यायो,
आफ्नै वाचापत्र कुल्चियो,
र जनताका सपनामाथि
निराशाको आगो सल्काइदियो।
आज पनि
किसानको खेत उस्तै रित्तो छ।
मजदुरको पसिना
उस्तै सस्तो छ।
महिलाको संघर्ष
उस्तै अधुरो छ।
युवाको भविष्य
उस्तै अन्योलमा छ।
विद्यार्थीका सपना
उस्तै अलपत्र छन्।
युवालाई
आफ्नै शरीरमा पेट्रोल छर्केर
जल्न बाध्य बनाइयो।
सुकुम्बासीलाई
डुबेर पनि बाँच्नुपर्ने
विवशतामा धकेलियो।
के सरकारले
यी सबै देखेन?
सुनेन?
वा
जनताको पीडा
सुन्नै चाहेन?
इतिहासले
तानाशाहहरूको अन्त्य देखेको छ,
तर सत्ता भने
बारम्बार
त्यही बाटो पछ्याइरहेको छ।
खै,
यो कस्तो घुम्ने कुर्सी हो,
जहाँ बसेपछि
मानिस बदलिँदैन,
मानवता बदलिन्छ।
प्रतिबन्ध,
प्रतिशोध
र अहंकारको ज्वालामुखी बोकेर
फेरि
अर्को तानाशाह जन्मिन्छ।
र,
हरेक पटकझैँ
देश परिवर्तनको नाममा
बलिको बोका
युवाहरू नै बन्छन्।
२०८३/०३/३०
पौराई