निमबहादुर बुढाथोकी ##
मीनराज रानामगर हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मलेनको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिकाको लोकप्रिय उपमेयर पनि हुनुहुन्थ्यो । स्वर्गद्वारी नगरपालिका मात्रै होइन, प्युठान जिल्लाकै जनताका आशा र भरोसाको केन्द्रको रूपमा जननिर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो उहाँ । अहिले हामीमाझ उहाँ हुनुहुन्न । प्रिय सहयोद्धा, आदरणीय व्यक्तित्व, तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जली !
हिँजो साँझ अर्थात् २०८३ असार १३ गते शनिबारका दिन विकास निर्माणका आयोजना अनुगमन गर्नका लागि कर्मचारी लिएर बिहानदेखि २ बजेसम्म उहाँ काममा हुनुहुन्थ्यो । साँझतिर आफूसँग आएका कर्मचारीलाई अर्कै गाडीमा पठाई शनिबार बिदाको दिन घरमा आरामका लागि फर्किएका राना घरमा पुग्न केही दुरी मात्र बाँकी थियो, उहाँ चढेको गाडी अचानक बाङ्गेसल्लाको भिरबाट ५०० मिटर तल खसेर दुर्घटनामा पर्यो । घर आराम गर्न जान्छु भनेका राना सम्झनामा मात्रै रहनुभयो, कहिल्यै नफर्किने गरी ।
उहाँको मृत्युप्रति अखिल नेपाल जनजाति सम्मेलन गहिरो दुःख व्यक्त गर्दछ । सम्पूर्ण परिवारजनप्रति समवेदना र गहिरो सहानुभूति व्यक्त गर्दछ । उहाँका अधुरा सपना र कामलाई साकार पार्न हामी प्रयत्नशील रहनेछौँ । हामीले गुमाएको केवल एउटा मानिस वा व्यक्ति मात्रै होइन, एउटा हिम्मतिलो, साहसी, भरोसायोग्य, आत्मीयता र प्रेरणादायी व्यक्तित्व पनि हो ।
मीनराज राना राजनैतिक चेतना स्तर धेरै माथि उठेको नेता हुनुहुन्थ्यो । उहाँ नेपालको वामपन्थी वा कम्युनिस्ट नेतासमेत हुनुहुन्थ्यो । जनजाति आन्दोलनका एक अथक यात्री वा इमानदार नेता पनि हुनुहुन्थ्यो उहाँ । प्रत्येक मानिस जन्मेपछि एकदिन मर्नु नै पर्छ तर मानिसलाई पछिसम्म सम्झिरहने उसले गरेका कामको आधारमा नै हो । मीनराज राना पनि त्यस्तै जनजाति आन्दोलनका समेत एक अथक यात्री हुनुुहुन्थ्यो ।
कम्युनिस्ट विचार र आदर्शप्रति उहाँको निष्ठा, इमानदारिता, समर्पणभावलाई श्रमजीवी जनताले युगौँयुगसम्म सम्झिरहनेछन् । उहाँको निधनबाट जनजाति आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको छ । हामीले शोकलाई शक्तिमा बदल्न अर्थात् उहाँका अधुरा अभियानलाई सफल पार्न अझै प्रतिबद्ध भएर लाग्नुपर्दछ ।
कुनै व्यक्तिको मृत्युपछि उत्पन्न शोक भारी र गहिरो हुन्छ । कुनै आत्मीय व्यक्तिको मृत्युबाट उसको परिवार र अन्य मित्र तथा कुनै नेताको मृत्युबाट त्यो राजनैतिक पार्टीका लागि धेरै क्षति पुग्छ । मीनराज राना एउटा व्यक्ति मात्र होइन, उहाँ प्युठान जिल्लाको जनप्रतिनिधि र एउटा छुट्टै राजनैतिक धाराको महŒवपूर्ण कडी हुनुुहुन्थ्यो । त्यो कडी जनताको भावनासँग जोडिएको थियो ।
स्वयम् म आफै उहाँको घरगाउँमा जाँदा रानाप्रति गाउँलेले गरेको सम्मानभावलाई नजिकबाट बुझ्ने अवसर पाएको थिएँ । मीनराजजी जनताका माझमा सजिलै घुलमिल हुन सक्ने क्षमतावान् र अत्यन्त जनप्रिय नेता हुनुहुन्थ्यो । पार्टी, क्रान्ति र आन्दोलनका साथसाथै स्थानीय विकासका काममा अहोरात्र खटिने उहाँले निकै लगनशीलताका साथ नेतृत्वदायी भूमिका निभाउँदै आउनुभएको थियो । पार्टी र क्रान्ति, देश र जनताको सेवाका काम गर्न पाएकोमा उहाँ त्यत्तिकै गौरवान्वित हुनुहुन्थ्यो । उहाँसँग सङ्गत गर्दा, उठबस, हिँड्डुल गर्दा वा कुनै कार्यक्रमको बारेमा उहाँले कहिल्यै पनि महत्त्वाङ्क्षा प्रकट प्रकट गर्नुभएन । उहाँबाट हामीले सिक्नुपर्ने यस्ता धेरै कुराहरू छन् ।
मीनराजजीको शरीर अब निर्जीव भइसक्यो । तपाईंको सम्झना वा स्मृतिमा रहेका विगत हाम्रो मानसपटलमा बाँचिरहनेछ । तपाईंको सम्झना हाम्रो हृदयमा जीवित रहिरहनेछ । तपाईंका गतिविधि वा क्रियाकलापको सम्झनाले हामीलाई भावविह्वल बनाएको छ । शारीरिक गति अवरुद्ध भएका छन् । पहिले नै दुईओटा भाइको निधनबाट विक्षिप्त भएको अवस्थामा स्वयम् मीनराजजीको निधनबाट उहाँको परिवार र सिङ्गो गाउँसमाज, सिङ्गो स्वर्गद्वारीको विकास तथा सङ्गठनलाई अगाडि बढाउने कुरा प्रभावित भएको छ ।
पालिकाको उपमेयरको रूपमा समाजको काम गर्दै आउनुभएका राना निकै प्रेणादायी हुनुहुन्थ्यो । त्यति मात्रै होइन, परिवारको खम्बा, समाजप्रति दृढ भएर उभिने समाजको मार्गदर्शक, सङ्गठनको जिम्मेवार सिपाही, पार्टीका लागि निकै भरपर्दाे, आशालाग्दो व्यक्तित्व हुनुहुन्थ्यो राना । विनाकुनै स्वार्थ, कुनै महत्त्वाकाङ्क्षा जनताको काम गर्ने भनेपछि जहिलेसुकै तत्पर र अग्रसर जनताका समस्याप्रति उत्तरदायी बन्ने यस्ता जनप्रतिनिधि समाजमा कमै पाइन्छन् ।
मीनराजजीका स्वर्गद्वारी नगरपालिकाको विकास निर्माणका भावी कार्ययोजना, अझै पालिकास्तरका विकास निर्माण, समाज, व्यक्ति र नागरिकलाई व्यापक चेतना, सोचका साथै योजनाले समाजलाई पारेको प्रभाव निकै स्मरणीय थिए ।
आज प्युठान स्वर्गद्वारीको धनबाङ खाल मात्र होइन, सिङ्गो देशले वा मीनराजजीलाई चिन्ने जोसुकै जनप्रतिनिधिले तपाईंलाई सम्झिरहेका छन् । अलविदा प्रिय सहयोद्धा प्रिय मीनराजजी ।