दीप गोले तामाङ
आमा,
राजधानीका ती सहरहरूमा क्रान्तिको सन्देश छरेर,
त्रिशूली नदीका तीरै–तीर,
नारायणीका छालमा
सङ्गीत मिसाउँदै,
हाम्रो गन्तव्य रोकिएन।
ती घुम्ती–घुम्ती डाँडाकाँडा,
पहाड–पर्वतका खोँचहरू छिचोल्दै
अघि बढ्दै जाँदा,
धौलागिरि हिमाललाई
एकसाथ हेरेर धन्यवाद दिएको अनुभूति गर्यौँ।
थाकेनन् हाम्रा हातखुट्टाहरू,
गलेनन् हाम्रा शरीर।
छोडेनौँ हामीले गाउँन, नाच्न
चौरीखर्कका डाँडामा पनि।
हामीलाई हेरिरहेका थिए
ढोरपाटनका फाँटहरूले,
रोल्पाका डाँडाहरूले,
रुकुमका अग्ला पहाडहरूले,
चर्दै गरेका गाईगोरुले,
धुपीका बोटहरूले,
सल्लाका रुखहरूले,
बुकीका फूलहरूले,
आदि–आदिले।
बुर्तिवाङ जुरुक्कै उठेको थियो
क्रान्तिको जोसमा।
आँखाभरि आँसु छचल्किँदै थियो
परदेशीको सम्झनामा।
हर्के र उजेली
फेरि क्रान्तिको आह्वान गर्दैछन्।
मालिक फेरि मालिक बन्न खोज्दैछ,
केही माया साँचेर,
केही माया छोडेर।
हामीलाई हेरिरहेका थिए
ती झोलुङ्गे पुलहरू।
हामीलाई पछ्याइरहेका थिए
गण्डकीका छालहरू सुसाउँदै।
हाम्रो सङ्गीतले शान्त भएका थिए
फेवाताल, बेगनास ताल,
सेतीका खोँचहरू।
हामीलाई बोलाइरहेका थिए
रेसुङ्गाका डाँडाहरू।
हामीलाई पर्खिरहेका थिए
अर्घाका पहाडहरू।
झिमरुक सुसाउँदै थियो,
मादी बढ्दै थियो।
लिवाङ, सुलिचौर, मल्लरानी, स्वर्गद्वारी र जुम्री
हाम्रो स्वागतमा थिए।
तिनाउ, राप्तीबगर, लुम्बिनीका गाउँहरू,
जितगढी किल्ला,
घोराहीका सहरहरू
हाम्रै बाटो हेर्दैछन्।
पर्खिरहेका छन्
हाम्रा गीत, सङ्गीत, नृत्य र आवाज
हेर्न, सुन्न।
आमा!
नआत्तिनु।
हामी फर्किँदैछौँ
जनताको अपार मायालाई सँगालेर,
अजम्बरी वर्गीय मायाले बाँधिएर,
कहिल्यै नमेटिने इतिहास रचेर।
बुटवल, रुपन्देही
२०८३/०३/१२