कल्पना पौडेल ‘जिज्ञासु’ ##
पहाडको छातीबाट हिउँ पग्लिएर
निस्किएको एउटा स्वच्छ जीवन हो पानी,
ढुङ्गाका कठोर छातीहरू स्पर्श गर्दै
समुद्रको विशाल हृदयसम्म पुग्ने
निरन्तर यात्रीको नाम हो पानी
यो केवल तरल पदार्थ होइन,
धर्तीको नाडीभित्र बगिरहेको
जीवनको अस्तित्व हो पानी
यसकै लयमा लहराउँछ
धानका बाला,
फूलका मुस्कान,
र भोकसँग जुधिरहेको
किसानको आशा
जब बादल
आकाशको मजदुर बनेर
पसिनाका थोपा झार्छ,
त्यही पसिनाबाट हरियो हुन्छ
बाँझो खेतको अनुहार
त्यही पसिनाबाट
अन्नका बिउहरू उम्रिन्छन्
र जीवनको अस्तित्व जोगाउँछन्
पानी भनेको
सभ्यताको पहिलो अक्षर हो,
मानिसले इतिहास लेख्नुअघि
नदीले भूगोल लेखेको थियो
सिन्धुका किनार,
गण्डकीका तरङ्ग
कोशीका छालहरूमा
मानव सङ्घर्षका कथा
अझै बगेका छन्
तर आज मानिस
लोभको दलदलमा सुर्लुम्म डुबेर
नदीका घाँटी थिचिरहेका छन्
कारखानाका कालो छायाले
पानीको ऐना धमिलो बनाइरहेका छन्
स्वार्थका काँडाले
मुहानका सपना घोचिरहेका छन्
नदी रोइरहेकी छिन्,
तर उनको रुवाइ
छालको सङ्गीतभित्र लुकेको छ
हिमाल पग्लिरहेको छ,
तर उसको पीडा
हिउँको सेतो चुप्पीभित्र कैद छ
पानीको रक्षा गर्नु भनेको
केवल नदी बचाउनु होइन
मानिसको अस्तित्व जोगाउनु हो
भविष्यका आँखामा
हरियो उज्यालो जोगाउनु हो
पानी बचाउनु भनेको
बालकको हाँसो बचाउनु हो
मानिसको अस्तित्व जोगाउने
भोलिको पृथ्वी बचाउनु हो
आऊ
हामी पानीलाई
स्वार्थको कैदमा होइन,
सबैको साझा सम्पत्ति बनाऔँ
आऊ
हामी नदीलाई
नक्साभित्रको रेखा होइन,
जनताको स्वतन्त्र गीत बनाऔँ
किनकि
जबसम्म पृथ्वीको मुटुभित्र
पानीको धड्कन जीवित रहन्छ,
तबसम्म
मानिसका सपनाहरू हरिया रहनेछन्,
तबसम्म
सूर्यले हरेक बिहान
आशाको नयाँ झन्डा फहराइरहनेछ
र त्यो दिन,
पानी केवल नदीमा होइन,
मानिसको चेतनामा बग्नेछ
समानता बनेर
स्वतन्त्रता बनेर
जीवनको अनन्त गीत बनेर
(खजुरा, बाँके)