दीप गोले तामाङ
पोखरा, फेवाताल
युगयुगसम्म अमर बनोस्
हाम्रो वर्गीय मायाजाल…!
भेट भयो हाम्रो वर्गीय मायाले गर्दाखेरि,
जनताको माया उस्तै छ रक्तिमलाई फेरि…..
नाच्दै, गाउँदै हिँड्दैछौँ जनताको गीत,
कहिल्यै नटुट्ने रहेछ यो चोखो प्रीत……..
फेरि पनि सिमानामा पिलर आयो सर्दै,
विकृति र भ्रष्टाचारको भण्डाफोर गर्दै…….
उस्तै छ दुःख गरिबलाई, उस्तै छ सास्ती,
विदेशीको ऋण लिई गर्दैछन् फेरि मस्ती……
सुनसान छ गाउँबस्ती, डुल्दै जाँदा हाम्रो,
कहिल्यै पनि छानेनौँ नेता हामीले राम्रो……….
रहर थियो सुखमा बस्ने, फुलिसक्यो केस,
छोराछोरी सुख खोज्दै पसेका छन् विदेश……
खेतीबारी बाँझै छ, छैन घरमा फलफूल,
यस्तो सुन्दर देश छोडेर गर्दैछन् ठूलो भूल…….
कहिल्यै पूरा हुनेछैन मान्छेका ती रहर,
डुल्दैछ आह्वान गर्दै रक्तिम साँझ गाउँ–सहर।
छातीमा हात राखेर अब सोच्ने हो कि,
उठौँ अब नेपाली, देशको माया बोकी…….
२०८३/०२/२६ गते
पोखरा