• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

१२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

भ्याली पब्लिक फुटसल आजदेखि

बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘अमेरिका सपना’ : कथाकार अधिकारीको साहसिलो आख्यान


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    लेखक परिचय

    कथाकार रोमन अधिकारीले व्यक्तिगत परिचयमा जोड दिन चाहेका छैनन् । पुस्तकको अन्तिम पृष्ठमा आफ्नोबारे परिचय दिँदै उनले उदयपुर जिल्लाको नेपालटारमा जन्मेर अमेरिकाको न्युयोर्कलाई कर्मभूमि बनाएको जानकारी दिएका छन् । यसरी उनी जीविकोपार्जनको खोजीमा अमेरिका पुगेका आप्रवासी हुन् तर अमेरिका बसेर पनि नेपाल र नेपाली भाषा बिर्सन नचाहने देशभक्त कथाकारको रूपमा उनको परिचय छ ।

    कृति परिचय

    प्रस्तुत कृति ‘अमेरिका सपना’ लेखक अधिकारीको दोस्रो कृति भएको जानकारी ‘लेखकीय’ मा दिइएको छ । उनको यसअघि ‘सन्ध्या’ शीर्षकको उपन्यास प्रकाशन भइसकेको छ ।

    यस पुस्तकमा आठोटा कथा रहेका छन् : ‘संयोग’, ‘अमेरिका सपना’, ‘सम्बन्ध’, ‘रहर जिन्दगीको’, ‘क्लेप्टोमेनिया’, ‘यात्रा जिन्दगीको’, ‘विवशता’ र ‘केयर सेल्टरको कथा’ ।

    डिमाइ आकारको १२८ पृष्ठमा सजिएको प्रस्तुत कृतिमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष गोवद्र्धन पूजाको भूमिका रहेको छ भने पछाडिको आवरणमा भाषा आयोगका सदस्य मातृका पोखरेल, अमेरिका मेरिल्यान्डका फिजिसिन डा. विजय चालिसे र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन उदयपुरका अध्यक्ष सूर्यबहादुर कार्कीको पुस्तकबारे सङ्क्षिप्त टिप्पणी छ ।

    प्रगतिशील साहित्यकार देवेन्द्र थुम्केलीको बिम्बात्मक आवरण रहेको सो पुस्तकको मूल्य २५० रुपियाँ रहेको छ ।

    कथावस्तु

    कथासङ्ग्रहका आठोटै कथाका बेग्लाबेग्लै कथावस्तु रहेका छन् तर ती सबैजसो कथाको आधारभूमि अमेरिकासित जोडिएका छन् । मूलत: सबै अमेरिका पुगेका नेपाली आप्रवासीका कथा हुन् ।

    १. ‘संयोग’

    यो कथा अमेरिका पुगेका दुई नेपाली दम्पत्तिको हो । उनीहरू अमेरिकी खुला समाजको प्रभावमा छन् यद्यपि खुला समाजबारे हामीकहाँ कतिपय भ्रम रहेको पाइन्छ : खुला समाज भनेको खुला यौनस्वीकृति हो तर त्यस्तो होइन । मानिसको सम्बन्धमा खुलापन अर्थात् परिवार, जाति, धर्म, सम्प्रदायको घेरा खुकुलो हुनु नै अमेरिकी खुला समाजको सामान्य विशेषता हो भन्न सकिन्छ ।

    यस कथामा निलम र दिवाकर तथा सरिता र सङ्गम पतिपत्नी हुन् । उनीहरूमाझ राम्रो घुलमिल छ । एकपटक निलमको कार हिउँमा फस्छ । कारलाई निकाल्न निलमले सङ्गमलाई बोलाउँछिन् । उता, दिवाकर र सरिता पनि साथी हुन्छन् । दुवै दम्पत्तिका महिला र पुरुष फरक परिवारका महिलापुरुषप्रति सहज छन् । एक दिन निलम र सङ्गम जुन फिल्म हेर्न हल पुग्छन्, ठिक त्यही बेला दिवाकर र सरिता पनि सोही फिल्म हेरेर फर्किरहेका हुन्छन् । दुवैले एकअर्कालाई देख्छन् तर त्यसबापत् उनीहरूमा कुनै पनि प्रकारको असहजता देखा पर्दैन ।

    पूर्वी सभ्यता भएको देशमा भए यस्तो ‘संयोग’ झगडाको कारण बन्न सक्दथ्यो र यसले सम्बन्धविच्छेदसम्म निम्त्याउन सक्दथ्यो तर अमेरिकाको फरक सामाजिक मनोविज्ञान त्यहाँ पुगेका नेपालीमा पनि सरिसकेको छ भन्ने कथावस्तु यसमा छ ।

    ३. ‘अमेरिका सपना’

    यो कथा कथासङ्ग्रहको आवरण कथा हो । लेखकले यसलाई महत्त्व दिएका छन् । मूलत: यो कथामार्फत् नेपालीहरू अमेरिका पुगिसकेपछि कसरी आफ्नो मातृभूमि बिर्सिन्छन् भन्ने सन्देश दिनु लेखकको उद्देश्य रहेको मान्न सकिन्छ ।

    एक जना बालक छन् गौरव । गाउँमा एउटा कार्की परिवार थियो । नोकरशाह पृष्ठभूमिको सो परिवारको निजी आर्थिक उन्नतिबाट गौरव प्रभावित हुन्छन् । फलस्वरूप उनमा पनि सम्भ्रान्त जीवनको लालसा बढेर जान्छ । त्यसका लागि देश छोड्नुपर्ने हुन्छ । त्यस क्रममा लायन्स क्लबका केही साथीहरूको सहयोगले गौरव अमेरिका पुग्दछन् । केही महिनामै उनले काठमाडौँमा घडेरी र तराईमा घर जोड्छन् । यसैबिच अमेरिकाकै ग्रोसरीमा काम गर्ने मुस्लिम बङ्गालीसित उनको माया बस्छ । यस क्रममा उनले बङ्गाली भाषा सिक्छन् । अन्तत: उनको तिनै मुस्लिम बङ्गालीसँग विवाह हुन्छ । त्यससँगै उनले आफ्नो परम्परागत धर्म, संस्कृति, संस्कार त्यागेर मुस्लिभ धर्म अपनाउँछन् । यता, नेपालका बुबाआमा उनलाई पर्खिरहेका हुन्छन् तर उनी भने फोन आउँदा पनि झर्किन थाल्दछन् ।

    ३. ‘सम्बन्ध’

    यो कथा डिपेन्डेन्ड भिसामा अमेरिका छिरेका एक पतिको दुखान्त बयान हो । दयामाया नभएको, पुस्तौनी सम्पत्ति वा परम्पराबाट अलग भई अमेरिकामा बस्दा कमाइ नहुने व्यक्तिको कस्तो दुर्दशा हुन्छ भन्ने कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।

    एक जना व्यक्ति छन्, डिपेन्डेन्ट भिसामा अमेरिका आएका । पछिल्लो समय उनी बेरोजगार छन् । उनी श्रीमती र सासूससुरासँगै अमेरिकामा बस्छन् । लामो समयदेखि बेरोजगार रहँदा उनले तिरष्कार व्यहोरिरहेका हुन्छन् । उनकी श्रीमती अस्मिताले समेत उनलाई हेलाहोचो गर्दछन् । कमाइ गर्नुपर्ने दबाबमाझ उनी वेरहाउमा काम गर्छन् तर तलब कम भएका कारण परिवारमा उनीप्रतिको हेलामा कमी आउन्न । यसैबिच उनीहरूको एउटी छोरी पनि जन्मिन्छ । यता, परिवारमा सम्मानजनक कमाइ देखाउन नसक्दा उनी डिप्रेसनमा जान्छन् ।

    ४. ‘रहर जिन्दगीको’

    यो यस्तो अन्तरजातीय दम्पत्तिको कथा हो, जसले सम्भ्रान्त जीवन जिउने अभिलाषामा नेपालको कलाकारिता पेसा त्यागेर अमेरिका पुग्दछ । यता, बाबुआमाप्रतिको जिम्मेवारी बहन गर्न नसक्दा निजी वृद्धाश्रममा शुल्क तिरेर भए पनि राख्न बाध्य हुन्छ । उनमा तीव्र व्यक्तिगत महत्त्वाकाङ्क्षासँगै पारिवारिक जिम्मेवारी बहन गर्ने सकारात्मक चिन्तन पनि छ ।

    विनय महतो चलचित्रकर्मी हुन् । सरिता पनि कलाक्षेत्रमै छिन् । उनीहरूमाझमा अन्तरजातीय विवाह हुन्छ । कलाक्षेत्रमा चाहेअनुसार कमाइ नहुँदा सरितामा विद्यमान धनार्जनको तीव्र महत्त्वाकाङ्क्षाले विनयलाई अमेरिका पुर्‍याउँछ । उता, सरिता पनि नर्सिङको पढाइ सिध्याएर अमेरिका पुग्छिन् । सुरुमा विनयले भाँडा माझ्नेजस्तो काम गर्नुपर्छ । पछि एक जना कलाअनुरागीको मदतले केही राम्रो काम पाएपछि विनय–सरिताको आर्थिक अवस्था सुध्रिन्छ । उनीहरूले काठमाडौँमा घरबासको व्यवस्था मिलाउँछन् । यता, विनयका बुबाआमा तराईमा सिकिस्त बिरामी हुन्छन् । त्यो खबर पाएपछि विनय नेपाल फर्केर बुबाआमालाई काठमाडौँस्थित निजी वृद्धाश्रममा राख्छन् । उनले ‘महतो फाउन्डेसन’ नै खोल्छन् ।

    यस कथामा अन्तरजातीय विवाहसित सम्बन्धित संस्कारगत भिन्नता र अन्तरविरोध पनि देखाइएको छ । विदेशबाट फर्किएको सरिताको भाइले खसीको मासु खान चाहान्छ तर त्यही दिन छठपर्व परेकाले त्यसप्रति विनयका बुबाआमा दुखित हुन्छन् । फलस्वरूप उनीहरू तत्कालै काठमाडौँबाट तराई फर्किन्छन् । त्यस्तै, मङ्गोलियन र आर्यसित सम्बन्धित प्रजातीय विभेद पनि कथामा देखाइएको छ ।

    ५. ‘क्लेप्टोमेनिया’

    यो कथा एउटा मानसिक रोगबाट ग्रस्त किशोरीको हो । बाल्यकालमा व्यहोर्नुपरेको त्रासदी, अभाव र वात्सल्यताको अभावले गर्दा ‘क्लेप्टोमेनिया’ जस्ता मानसिक रोग उत्पन्न हुन्छ भन्ने यो कथामा देखाइएको छ । सँगै मानसिक रोगप्रति समाजको नकारात्मक रवैयाले गर्दा कथाको पात्र अन्तत: पीडित नै रहन्छिन् ।

    कृतिका बाल्यावस्थामा नै स्कुल सञ्चालक समितिका सदस्यबाट बलात्कृत हुन्छिन् । सानैमा आमाले घर छोडेकी हुनाले वात्सल्यताको पनि अभाव हुन्छ । आर्थिक अभाव त रहने नै भयो । यस्तो पृष्ठभूमिमा कृतिकामा सपिङ मलबाट पटकपटक गरी जुत्ता र चस्मा तथा आफैले काम गर्ने अफिसबाट कलम उठाउने कमजोरी देखा पर्दछ यद्यपि उनी चोर होइनन् । काठमाडौँमा एक जना सहकर्मीको सल्लाहमा उनको उपचार सुरु हुन्छ र औषधी चल्न थाल्छ तर औषधी किन्न जाँदा केटाकेटी र अरूले पनि नकारात्मक टिप्पणी गरेपछि उनले औषधी खान छोड्छिन् । फलस्वरूप रोग पुन: बल्झिन्छ । त्यस क्रममा सपिङ मलमा पुन: त्यस्तै कमजोरी गर्दा पक्राउ पर्छिन् ।

    ६. ‘यात्रा जिन्दगीको’

    यो कथा आध्यात्मिक र गृहस्थ जीवनमाझको अन्तरविरोधसित सम्बन्धित छ । एउटा बालकको मस्तिष्कामा अध्यात्मको प्रभाव पर्दछ । व्यावहारिक जीवनसँगै उसको अध्यात्मप्रतिको झुकाव तीव्र बन्दछ तर सामाजिक यथार्थमाझ अन्तत: उनी पुन: गृहस्थ जीवनतर्फ फर्किन्छन् ।

    एउटा जिज्ञासु बालक छन् सन्देश । बाबु डाक्टर, बज्यै आध्यात्मिक, अमेरिकाजस्तो ठाउँमा पनि ठाउँठाउँमा बनेका मन्दिर र धर्मगुरुको सङ्गतमा बालक सन्देशमा अध्यात्मको प्रभाव तीव्र हुन्छ । ब्रतबन्ध गर्न नेपाल आउँदा र स्वयम् अमेरिकामा पढाइको क्रममा हिन्दु धर्मगुरुको सङ्गतबाट आजीवन ब्रह्माचार्य बस्ने निर्णय गर्दछन् । फेरि पनि जीवनको लागि जीविका गर्नु नै थियो । त्यस क्रममा गृहस्थ र ब्रह्मचारी जीवनको दौरानमा देखा पर्ने व्यवहारगत अनुभूतिका कारण वयस्क बनेका सन्देशमा यौन र गृहस्थ जीवनप्रतिको मोह बढेर जान्छ । अन्तत: सन्देश गृहस्थ जीवन बिताउने निर्णय गर्छन् । उनको यस्तो निर्णयबाट खुसी भएर परिवारले कन्या खोज्न थाल्दछ ।

    ७. ‘विवशता’

    यो कथा धनको आधारमा मानिसको मनोविज्ञान र क्रियाकलापमा कसरी परिवर्तन हुन्छ भन्नेसित सम्बन्धित छ । उही मानिस कमाइ हुँदा एउटा मनोविज्ञानमा हुन्छ भने नहुँदा बेग्लै । वास्तवमा जसले धनप्राप्तिलाई आदर्श ठान्दछन्, उनीहरूका सोच, मनोविज्ञान र क्रियाकलाप यस्तै हुन्छ भन्ने यो कथाले बताएको छ ।

    अमेरिकामा एउटा परिवार छ, हेमन्त र ताराको । उनीहरूको परिवारमा छोरा जन्मिन्छ । त्यसपछि आपसी सल्लाहमा उनीहरूले भूमिका साटासाट गर्छन् । श्रीमती ताराले गाडी चलाउन सिकेर जागिर गर्छिन् भने हेमन्तले घर बसेर छोराको स्याहारसुसार गर्छन् । आफ्नो कमाइ भएपछि ताराको व्यवहार फरक हुन्छ । उनले पतिलाई हेला गर्छिन् । उता, नेपालतिर भने धनको घमण्ड देखाउँछिन् । परिस्थितिमा परिवर्तन हुन्छ । ताराको जागिर छुट्छ । त्यसपछि उनी एकाएक बदलिएर हेमन्तको सेवासमर्पणमा लाग्छिन् ।

    ८. ‘केयर सेल्टरको कथा’

    यसमा पाँचओटा फरकफरक प्रसङ्ग छ । कथावाचक अमनले पत्रिकामा छापिएको कटिङ हेर्दै अमेरिका आप्रवासी तथा स्वयम् अमेरिकी नागरिकको अवस्थाबारे स्मरण गर्दछन् । त्यहाँ यस्ता विपन्न परिवारको व्यवस्थापनका लागि केयर सेल्टरको व्यवस्था हुन्छ । त्यहाँ कस्ता कस्ता प्रकृतका परिवार आउँछन् ? त्यसबारे यस कथामा उल्लेख गरिएको छ ।

    पहिलो प्रसङ्ग बङ्गलादेशी नागरिक फातिमाको छ । केयर सेल्टरमा उसका बालबच्चाको दूरावस्था देखेर एक जना नेपालीले सहयोग गर्छन् तर केयर सेल्टरको प्रशासनले अनुमति नलिईकन कसरी सहयोग गरियो भनेर छानबिन गर्छ । ती महिलाका पति दुव्र्यसनी भएकाले परिवारको जिम्मेवारीबाट पन्छिएका हुन्छन् ।

    दोस्रो प्रसङ्ग चिनियाँ नागरिक लीको छ । उनी सौतेनी आमाको व्यवहार सहन नसकेर अमेरिका आएका हुन्छन् । उनको एउटा छोरा छ, हाब । उनी त्यही छोराको भविष्यको खोजीमा अमेरिका पुगेका हुन्छन् । उनको अवस्थालाई हेरेर एउटा चिनियाँ परिवारले नै उनलाई काम दिन्छ तर त्यसमा पनि श्रमशोषण गरिएको हुन्छ ।

    तेस्रो प्रसङ्ग नाइजेरियन नागरिक एडीको छ । आफ्नै देशबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका एडी अवसरको खोजीमा लन्डन हुँदै अमेरिका छिर्छ । बर्बाडोजकी एउटी महिलासित विवाह गरेपछि उनीहरूका दुईओटा छोरा जन्मिन्छन् । ती दुवै बच्चा अटिजमद्वारा ग्रसित छन् । केयर सेल्टरमा बिग्रिएको एसी समयमै मरम्मत नहुँदा उनले रौद्र रूप देखाउन पुग्छन् तर तीन वर्षपछि आवास उपलब्ध भएपछि पुराना गल्तीबारे माफी माग्दै उनी नयाँ आवासमा फर्किन्छन् ।

    चौथो प्रसङ्ग घमण्डी अमेरिकी महिलाको छ । उसलाई विदेशी अर्थात् आप्रवासीप्रति घृणा छ । उनले भन्दछिन्– यदि उसको छोरा राष्ट्रपति बन्यो भने आप्रवासीलाई अमेरिकाबाट लखेट्नेछ । एकपटक केयर सेल्टरमै लडेर उसलाई चोट लाग्छ । दु्रत उपचार भएन भनेर उसले अदालतमा मुद्दा हालेकी छे । उसले अपेक्षा गरेकी छे– मुद्दा जितेपछि हाफ मिलियन अर्थात् पाँच लाख डलर पाउनेछे । त्यो रकमले ऊ आफ्नो गृहस्थान फ्लोरिडा फर्किनेछे ।

    पाँचौँ प्रसङ्ग पनि अमेरिकाकै महिलाको छ । ब्वायफ्रेन्डसँग उसको युरोप भ्रमण तय भइसकेको छ । त्यति बेला उसको अगाडि आइपरेको समस्या नौ महिनाकी गर्भवती छोरीको हो । आठ महिनापहिला बलात्कारमा परेकी छोरी अहिले गर्भवती भएकी छिन् । आफू युरोप भ्रमणमा जानुपरेकाले उनी कमसेकम दुई हप्ताका लागि गर्भवती छोरीलाई केयर सेल्टरमा छोड्न आउछिन् ।

    सबल पक्ष

    कथाकार अधिकारी कथावस्तु प्रस्तुत गर्ने सन्दर्भमा यथार्थवादी देखिएका छन् । उनले अमेरिकामा पुगेर नेपाली वा अन्य देशमा आप्रवासीले व्यहोर्नुपर्ने समस्यालाई लुकाएका छैनन् । अर्कोतर्फ, अमेरिकी समाजमा बस्दै गर्दा उनले त्यहाँको समाजको प्रभाव आफूमा परेको पनि देखाएकै छन् । त्यसैगरी अध्यात्मप्रतिको उनको श्रद्धा पनि छेकिएको छैन । एवम् प्रकारले व्यक्तिगत समृद्धिको पक्षको सक्रियताभावलाई उनले समर्थन गरेको देखिन्छ ।

    कथामा उनले आफ्नो देशप्रतिको देशभक्ति उत्कट रूपमा देखाएका छन् । संसारमा जहाँसुकै पुगे पनि मातृभूमि नेपालप्रति दायित्व हुन्छ भन्ने उनले कथामा देखाएका छन् । त्यसैगरी परिवार वा समाजप्रतिको उत्तरदायित्व पनि उनको कथामा झल्किएकै छ ।

    अधिकारीको कथामा नेपालीहरू के कस्ता कारणले अमेरिका जान बाध्य हुन्छन् भन्ने पनि देखाइएको छ र त्यसको दोस्रो भागको रूपमा अमेरिकामा भोग्नुपरेको समस्याको चर्चा छ ।

    यहाँ प्रत्येक कथाको सङ्क्षिप्त सबल पक्षबारे चर्चा गरौँ ।

    पहिलो कथा ‘संयोग’ मा अमेरिका पुगेपछि नेपालीहरू पनि त्यहाँको खुला समाजको प्रभावमा पर्दछन् । फलस्वरूप मानिसहरू पारिवारिक सङ्कीर्णताभन्दा माथि उठ्छन् भन्ने देखाइएको छ ।

    दोस्रो कथा ‘अमेरिका सपना’ को मुख्य शिक्षा अमेरिका पुगे पनि मातृभूमि र परिवार बिर्सनुहुँदैन भन्ने छ, जबकि यस कथाका पात्र गौरवले बङ्गाली आप्रवासीसँग विवाह गरेपछि आफ्नो देश, परिवार र धर्मसंस्कृति नै परिवर्तन गरेको छ ।

    तेस्रो कथा ‘सम्बन्ध’ मा अमेरिकामा पुगेपछि उत्पादन श्रममा भाग लिनैपर्ने बाध्यताबारे उल्लेख छ । त्यस्तै अमेरिकामा पनि कम कमाइ हुन्छ भने पारिवारिक तनाव हुन्छ भन्ने देखाइएको छ । यस कथाको मुख्य पात्र डिपेन्डेन्ट भिसामा अमेरिका छिर्छन् । बेरोजगारीका कारण वेरआउसमा थोरै तलबमा काम गर्दा उत्पन्न तनावमाझ डिप्रेसनमा जान्छन् ।

    चौथो कथा ‘रहर जिन्दगीको’ मा एकैसाथ अन्तरजातीय विवाहपछिको सांस्कृतिक अन्तरविरोध र सभ्रान्त जीवनप्रतिको अभिलाषा दुवै देखाइएको छ । फरक संस्कृतिप्रति सम्मान तथा जीवनमा मितव्ययिताको अभावमा मानिसहरू मातृभूमि छोड्छन् भन्ने यस कथाको मुख्य सार हो । सँगै अमेरिका पुगेर पनि पारिवारिक उत्तरदायित्व लिनु यस कथाको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

    पाँचौँ कथा ‘क्लेप्टोमेनिया’ नेपालकै एउटी किशोरीको जीवनप्रसङ्ग हो । ‘क्लेप्टोमेनिया’ जस्तो मानसिक रोग कुन खालको भौतिक परिस्थितिमा लाग्दछ भन्ने यस कथामा देखाइएको छ । त्यससँगसँगै मानसिक रोगप्रति नेपाली समाज अझै सहज बनिनसक्दा उपचार प्रभावकारी बन्न सकेको छैन भन्ने यथार्थता प्रस्तुत गर्नु यस कथाको सबल पक्ष हो ।

    छैटौँ कथा ‘यात्रा जिन्दगीको’ मा गृहस्थ जीवन र अध्यात्ममाझ देखा पर्ने अन्तरविरोध देखाइएको छ । यस कथाको मुख्य पात्र सन्देश अमेरिका पुगेपछि पनि हिन्दुधार्मिक अध्यात्मबाट प्रभावित छन् । त्यस क्रममा उनले ब्रह्मचार्य पालना गर्ने प्रयास गर्दछ तर मानव समाजको व्यापक यथार्थ गृहस्थ जीवन नै हो भन्ने बुझेर सन्देश त्यो मार्गबाट फर्किन्छन् । आममानिसका लागि गृहस्थ जीवन नै यथार्थ हो भन्ने धारणा यहाँ व्यक्त गरिएको छ ।

    सातौँ कथा ‘विवशता’ मा अमेरिका पुगेपछि कमाइ नहुँदा सहज नहुने प्रवृत्ति रहेकी तारा पात्रलाई उल्लेख गरिएको छ । पति हेमन्तले पारिवारिक सल्लाहमा घरगृहस्थी सम्हाल्न तयार भए पनि कमाइ हुँदासाथ तारामा घमण्ड पलाएको र नहुँदा विवश बनेको देखाउनु यस कथाको सबल पक्ष हो ।

    आठौँ कथा ‘केयर सेल्टरको कथा’ मा संसारभरिबाट अमेरिका पुगेका र त्यहाँ अव्यवस्थामा रहेका पाँचओटा प्रतिनिधि परिवारको प्रसङ्ग समेटिएको छ । मानिसहरू सामान्य पारिवारिक असहजता आउनासाथ अमेरिका पुग्छन् र अर्कोतर्फ स्वयम् अमेरिकामा नै दूषित सोचाइ राख्ने अमेरिकी पनि छन् भन्ने यस कथामा देखाइएको छ ।

    दुर्बल पक्ष

    प्रस्तुत कृतिको बेग्लाबेग्लै प्रकारले मूल्याङ्कन गर्न सकिन्छ । वैचारिक प्रवृत्तिबाट हेर्दा कथाहरू यथार्थवादी र प्रगतिशील छन् । त्यसका साथै यथार्थको वर्णनपछि उब्जिने प्रश्नको समाधान प्रस्तुत गर्न नसक्नु यस कृतिको मुख्य समस्या हो । यस कथाकृतिमा ‘यस्तो भएछ’ भन्ने त प्रष्टै बुझिन्छ तर ‘यसपछि के भयो होला ?’ भन्ने जिज्ञासा पाठकमा रहिरहन्छ । पाठक समस्या उठानपछिको समाधान खोजिरहन्छ, जुन पाठकले यस कृतिबाट पाउँदैन ।

    कथासङ्ग्रह पढिरहँदा पाठकलाई अमेरिकामै पुगेजस्तो अनुभूति हुन्छ । साथै एउटै कथाभित्र पनि बहुप्रसङ्गको चर्चा हुन्छ यद्यपि कथाहरू सामान्यभन्दा केही लामा छन् । सायद कथाभित्रका विविध प्रसङ्गको विस्तारमा जाँदा आकार लामो हुन्छ कि भन्ने चिन्ता पनि होला । ‘केयर सेल्टरको कथा’ मा पाँचओटा फरकफरक प्रसङ्ग छन् । ती प्रत्येक प्रसङ्गलाई बेग्लाबेग्लै कथा बनाउन सकिन्छ । यसरी अन्तिम कथा आफैमा ‘बहुकथा’ जस्तो देखिन्छ ।

    कथामा पात्रभन्दा पनि प्रवाहमा ध्यान दिइएको छ । फलस्वरूप पात्रको चित्रण केही कमजोर देखिन्छ । पूरै कथा पढेपछि मात्रै पात्रको चरित्रबारे थाहा लाग्दछ । पात्रको नाम पहिला उल्लेख नगरिँदा पनि केही अन्यौल हुन जान्छ । पात्रको परिचयमा कम ध्यान पुगेकोजस्तो देखिन्छ ।

    सबै कथा उत्तिकै महत्त्वका छन् । ‘अमेरिका सपना’ लाई शीर्षकथा बनाइए पनि अन्य कथा पनि शक्तिशाली छन् ।

    निष्कर्ष

    प्रस्तुत कथाकृति हिम्मतिलो छ । त्यो यस अर्थमा, कथाकारले साहसपूर्वक अमेरिका पुगेका नेपालीको कथा भनेका छन् अन्यथा अमेरिका पुगेका धेरैजसो नेपालीले आफ्ना, दु:खपीडा लुकाएर सुखद पक्ष मात्रै देखाएका हुन्छन् । साप्ताहिक विदाका दृष्य सामाजिक सञ्जालमा राखेर उनीहरूले स्वदेशका नेपालीलाई भ्रमित बनाइरहेका हुन्छन् । तिनै सप्ताहान्त फोटो/भिडियो देखेर स्वदेशका नेपालीहरू आफ्ना समस्याको समाधान अमेरिकामा देख्न थाल्दछन् । फलस्वरूप एसइई पास गरेदेखि नै किशोरकिशोरीहरू राम्ररी भाषासमेत नसिकीकन ‘अमेरिका सपना’ देख्न पुग्दछन् । सिप, क्षमताको विकास गर्नु त कता हो कता ? आफ्ना लागि खानासम्म पकाउन नजान्नेहरू ‘अमेरिका सपना’ को लाइनमा उभिन पुग्दछन् । कथाकार अधिकारीले यस्ता असहज मानसिकतामा रमाइरहेका तप्काप्रति लक्षित गरेर कथा लेखेका छन् । अमेरिकामा सप्ताहान्त फोटो/भिडियोमा देखाइएजस्तो जीवन सहज छैन भन्ने देखाउनु उनको यस कथाको मुख्य सफलता हो ।

    मातृभूमिप्रतिको देशभक्ति कथाको अर्को पन्छाउनै नमिल्ने विषय हो । अमेरिका पुगे पनि आफ्नो देश, परिवार, भाषा, कला, साहित्य, संस्कृतिजस्ता विषयबाट विमुख हुनुहुन्न भन्ने उनले प्रष्ट सन्देश दिएका छन् । तत्काल आउन नसके पनि काठमाडौँको महँगो वृद्धाश्रममा बुबाआमालाई राख्नु र पछि आफैले ‘महतो फाउन्डेसन’ खोल्ने ‘रहर जिन्दगीको’ कथाको प्रसङ्गले कथाकार अधिकारीको प्रगतिशील र उत्तरदायित्वपूर्ण जीवनदर्शनलाई नै बताउँछ ।

    अन्तमा अमेरिकाको व्यस्त जीवनशैलीका बाबजुद यस्तै खालका रचनात्मक कृति, जसमा यथार्थसँगै समाधानको पाटोसमेत समेटिएका कृति कथाकार अधिकारीबाट आउने अपेक्षा गरौँ । मूलत: कथाकार अधिकारी आख्यानकार नै ठहरिन्छन् । त्यस आधारमा अधिकारीको साहित्यिक क्यारियर आख्यानकारको रूपमा अगाडि बढ्ने देखिन्छ । आख्यानकार अधिकारीसित आगामी दिनमा अझै परिष्कृत आख्यानको शुभकामना व्यक्त गर्नु अन्यथा हुने छैन ।

    २०८३ जेठ २२ गते
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

    • २.
      पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ३.
      एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

    • ४.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    • ५.
      रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

    • ६.
      भ्याली पब्लिक फुटसल आजदेखि

    • ७.
      बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

    • ८.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.