प्रकाश थापामगर ##
लेखक परिचय
कथाकार रोमन अधिकारीले व्यक्तिगत परिचयमा जोड दिन चाहेका छैनन् । पुस्तकको अन्तिम पृष्ठमा आफ्नोबारे परिचय दिँदै उनले उदयपुर जिल्लाको नेपालटारमा जन्मेर अमेरिकाको न्युयोर्कलाई कर्मभूमि बनाएको जानकारी दिएका छन् । यसरी उनी जीविकोपार्जनको खोजीमा अमेरिका पुगेका आप्रवासी हुन् तर अमेरिका बसेर पनि नेपाल र नेपाली भाषा बिर्सन नचाहने देशभक्त कथाकारको रूपमा उनको परिचय छ ।
कृति परिचय
प्रस्तुत कृति ‘अमेरिका सपना’ लेखक अधिकारीको दोस्रो कृति भएको जानकारी ‘लेखकीय’ मा दिइएको छ । उनको यसअघि ‘सन्ध्या’ शीर्षकको उपन्यास प्रकाशन भइसकेको छ ।
यस पुस्तकमा आठोटा कथा रहेका छन् : ‘संयोग’, ‘अमेरिका सपना’, ‘सम्बन्ध’, ‘रहर जिन्दगीको’, ‘क्लेप्टोमेनिया’, ‘यात्रा जिन्दगीको’, ‘विवशता’ र ‘केयर सेल्टरको कथा’ ।
डिमाइ आकारको १२८ पृष्ठमा सजिएको प्रस्तुत कृतिमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष गोवद्र्धन पूजाको भूमिका रहेको छ भने पछाडिको आवरणमा भाषा आयोगका सदस्य मातृका पोखरेल, अमेरिका मेरिल्यान्डका फिजिसिन डा. विजय चालिसे र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन उदयपुरका अध्यक्ष सूर्यबहादुर कार्कीको पुस्तकबारे सङ्क्षिप्त टिप्पणी छ ।
प्रगतिशील साहित्यकार देवेन्द्र थुम्केलीको बिम्बात्मक आवरण रहेको सो पुस्तकको मूल्य २५० रुपियाँ रहेको छ ।
कथावस्तु
कथासङ्ग्रहका आठोटै कथाका बेग्लाबेग्लै कथावस्तु रहेका छन् तर ती सबैजसो कथाको आधारभूमि अमेरिकासित जोडिएका छन् । मूलत: सबै अमेरिका पुगेका नेपाली आप्रवासीका कथा हुन् ।
१. ‘संयोग’
यो कथा अमेरिका पुगेका दुई नेपाली दम्पत्तिको हो । उनीहरू अमेरिकी खुला समाजको प्रभावमा छन् यद्यपि खुला समाजबारे हामीकहाँ कतिपय भ्रम रहेको पाइन्छ : खुला समाज भनेको खुला यौनस्वीकृति हो तर त्यस्तो होइन । मानिसको सम्बन्धमा खुलापन अर्थात् परिवार, जाति, धर्म, सम्प्रदायको घेरा खुकुलो हुनु नै अमेरिकी खुला समाजको सामान्य विशेषता हो भन्न सकिन्छ ।
यस कथामा निलम र दिवाकर तथा सरिता र सङ्गम पतिपत्नी हुन् । उनीहरूमाझ राम्रो घुलमिल छ । एकपटक निलमको कार हिउँमा फस्छ । कारलाई निकाल्न निलमले सङ्गमलाई बोलाउँछिन् । उता, दिवाकर र सरिता पनि साथी हुन्छन् । दुवै दम्पत्तिका महिला र पुरुष फरक परिवारका महिलापुरुषप्रति सहज छन् । एक दिन निलम र सङ्गम जुन फिल्म हेर्न हल पुग्छन्, ठिक त्यही बेला दिवाकर र सरिता पनि सोही फिल्म हेरेर फर्किरहेका हुन्छन् । दुवैले एकअर्कालाई देख्छन् तर त्यसबापत् उनीहरूमा कुनै पनि प्रकारको असहजता देखा पर्दैन ।
पूर्वी सभ्यता भएको देशमा भए यस्तो ‘संयोग’ झगडाको कारण बन्न सक्दथ्यो र यसले सम्बन्धविच्छेदसम्म निम्त्याउन सक्दथ्यो तर अमेरिकाको फरक सामाजिक मनोविज्ञान त्यहाँ पुगेका नेपालीमा पनि सरिसकेको छ भन्ने कथावस्तु यसमा छ ।
३. ‘अमेरिका सपना’
यो कथा कथासङ्ग्रहको आवरण कथा हो । लेखकले यसलाई महत्त्व दिएका छन् । मूलत: यो कथामार्फत् नेपालीहरू अमेरिका पुगिसकेपछि कसरी आफ्नो मातृभूमि बिर्सिन्छन् भन्ने सन्देश दिनु लेखकको उद्देश्य रहेको मान्न सकिन्छ ।
एक जना बालक छन् गौरव । गाउँमा एउटा कार्की परिवार थियो । नोकरशाह पृष्ठभूमिको सो परिवारको निजी आर्थिक उन्नतिबाट गौरव प्रभावित हुन्छन् । फलस्वरूप उनमा पनि सम्भ्रान्त जीवनको लालसा बढेर जान्छ । त्यसका लागि देश छोड्नुपर्ने हुन्छ । त्यस क्रममा लायन्स क्लबका केही साथीहरूको सहयोगले गौरव अमेरिका पुग्दछन् । केही महिनामै उनले काठमाडौँमा घडेरी र तराईमा घर जोड्छन् । यसैबिच अमेरिकाकै ग्रोसरीमा काम गर्ने मुस्लिम बङ्गालीसित उनको माया बस्छ । यस क्रममा उनले बङ्गाली भाषा सिक्छन् । अन्तत: उनको तिनै मुस्लिम बङ्गालीसँग विवाह हुन्छ । त्यससँगै उनले आफ्नो परम्परागत धर्म, संस्कृति, संस्कार त्यागेर मुस्लिभ धर्म अपनाउँछन् । यता, नेपालका बुबाआमा उनलाई पर्खिरहेका हुन्छन् तर उनी भने फोन आउँदा पनि झर्किन थाल्दछन् ।
३. ‘सम्बन्ध’
यो कथा डिपेन्डेन्ड भिसामा अमेरिका छिरेका एक पतिको दुखान्त बयान हो । दयामाया नभएको, पुस्तौनी सम्पत्ति वा परम्पराबाट अलग भई अमेरिकामा बस्दा कमाइ नहुने व्यक्तिको कस्तो दुर्दशा हुन्छ भन्ने कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।
एक जना व्यक्ति छन्, डिपेन्डेन्ट भिसामा अमेरिका आएका । पछिल्लो समय उनी बेरोजगार छन् । उनी श्रीमती र सासूससुरासँगै अमेरिकामा बस्छन् । लामो समयदेखि बेरोजगार रहँदा उनले तिरष्कार व्यहोरिरहेका हुन्छन् । उनकी श्रीमती अस्मिताले समेत उनलाई हेलाहोचो गर्दछन् । कमाइ गर्नुपर्ने दबाबमाझ उनी वेरहाउमा काम गर्छन् तर तलब कम भएका कारण परिवारमा उनीप्रतिको हेलामा कमी आउन्न । यसैबिच उनीहरूको एउटी छोरी पनि जन्मिन्छ । यता, परिवारमा सम्मानजनक कमाइ देखाउन नसक्दा उनी डिप्रेसनमा जान्छन् ।
४. ‘रहर जिन्दगीको’
यो यस्तो अन्तरजातीय दम्पत्तिको कथा हो, जसले सम्भ्रान्त जीवन जिउने अभिलाषामा नेपालको कलाकारिता पेसा त्यागेर अमेरिका पुग्दछ । यता, बाबुआमाप्रतिको जिम्मेवारी बहन गर्न नसक्दा निजी वृद्धाश्रममा शुल्क तिरेर भए पनि राख्न बाध्य हुन्छ । उनमा तीव्र व्यक्तिगत महत्त्वाकाङ्क्षासँगै पारिवारिक जिम्मेवारी बहन गर्ने सकारात्मक चिन्तन पनि छ ।
विनय महतो चलचित्रकर्मी हुन् । सरिता पनि कलाक्षेत्रमै छिन् । उनीहरूमाझमा अन्तरजातीय विवाह हुन्छ । कलाक्षेत्रमा चाहेअनुसार कमाइ नहुँदा सरितामा विद्यमान धनार्जनको तीव्र महत्त्वाकाङ्क्षाले विनयलाई अमेरिका पुर्याउँछ । उता, सरिता पनि नर्सिङको पढाइ सिध्याएर अमेरिका पुग्छिन् । सुरुमा विनयले भाँडा माझ्नेजस्तो काम गर्नुपर्छ । पछि एक जना कलाअनुरागीको मदतले केही राम्रो काम पाएपछि विनय–सरिताको आर्थिक अवस्था सुध्रिन्छ । उनीहरूले काठमाडौँमा घरबासको व्यवस्था मिलाउँछन् । यता, विनयका बुबाआमा तराईमा सिकिस्त बिरामी हुन्छन् । त्यो खबर पाएपछि विनय नेपाल फर्केर बुबाआमालाई काठमाडौँस्थित निजी वृद्धाश्रममा राख्छन् । उनले ‘महतो फाउन्डेसन’ नै खोल्छन् ।
यस कथामा अन्तरजातीय विवाहसित सम्बन्धित संस्कारगत भिन्नता र अन्तरविरोध पनि देखाइएको छ । विदेशबाट फर्किएको सरिताको भाइले खसीको मासु खान चाहान्छ तर त्यही दिन छठपर्व परेकाले त्यसप्रति विनयका बुबाआमा दुखित हुन्छन् । फलस्वरूप उनीहरू तत्कालै काठमाडौँबाट तराई फर्किन्छन् । त्यस्तै, मङ्गोलियन र आर्यसित सम्बन्धित प्रजातीय विभेद पनि कथामा देखाइएको छ ।
५. ‘क्लेप्टोमेनिया’
यो कथा एउटा मानसिक रोगबाट ग्रस्त किशोरीको हो । बाल्यकालमा व्यहोर्नुपरेको त्रासदी, अभाव र वात्सल्यताको अभावले गर्दा ‘क्लेप्टोमेनिया’ जस्ता मानसिक रोग उत्पन्न हुन्छ भन्ने यो कथामा देखाइएको छ । सँगै मानसिक रोगप्रति समाजको नकारात्मक रवैयाले गर्दा कथाको पात्र अन्तत: पीडित नै रहन्छिन् ।
कृतिका बाल्यावस्थामा नै स्कुल सञ्चालक समितिका सदस्यबाट बलात्कृत हुन्छिन् । सानैमा आमाले घर छोडेकी हुनाले वात्सल्यताको पनि अभाव हुन्छ । आर्थिक अभाव त रहने नै भयो । यस्तो पृष्ठभूमिमा कृतिकामा सपिङ मलबाट पटकपटक गरी जुत्ता र चस्मा तथा आफैले काम गर्ने अफिसबाट कलम उठाउने कमजोरी देखा पर्दछ यद्यपि उनी चोर होइनन् । काठमाडौँमा एक जना सहकर्मीको सल्लाहमा उनको उपचार सुरु हुन्छ र औषधी चल्न थाल्छ तर औषधी किन्न जाँदा केटाकेटी र अरूले पनि नकारात्मक टिप्पणी गरेपछि उनले औषधी खान छोड्छिन् । फलस्वरूप रोग पुन: बल्झिन्छ । त्यस क्रममा सपिङ मलमा पुन: त्यस्तै कमजोरी गर्दा पक्राउ पर्छिन् ।
६. ‘यात्रा जिन्दगीको’
यो कथा आध्यात्मिक र गृहस्थ जीवनमाझको अन्तरविरोधसित सम्बन्धित छ । एउटा बालकको मस्तिष्कामा अध्यात्मको प्रभाव पर्दछ । व्यावहारिक जीवनसँगै उसको अध्यात्मप्रतिको झुकाव तीव्र बन्दछ तर सामाजिक यथार्थमाझ अन्तत: उनी पुन: गृहस्थ जीवनतर्फ फर्किन्छन् ।
एउटा जिज्ञासु बालक छन् सन्देश । बाबु डाक्टर, बज्यै आध्यात्मिक, अमेरिकाजस्तो ठाउँमा पनि ठाउँठाउँमा बनेका मन्दिर र धर्मगुरुको सङ्गतमा बालक सन्देशमा अध्यात्मको प्रभाव तीव्र हुन्छ । ब्रतबन्ध गर्न नेपाल आउँदा र स्वयम् अमेरिकामा पढाइको क्रममा हिन्दु धर्मगुरुको सङ्गतबाट आजीवन ब्रह्माचार्य बस्ने निर्णय गर्दछन् । फेरि पनि जीवनको लागि जीविका गर्नु नै थियो । त्यस क्रममा गृहस्थ र ब्रह्मचारी जीवनको दौरानमा देखा पर्ने व्यवहारगत अनुभूतिका कारण वयस्क बनेका सन्देशमा यौन र गृहस्थ जीवनप्रतिको मोह बढेर जान्छ । अन्तत: सन्देश गृहस्थ जीवन बिताउने निर्णय गर्छन् । उनको यस्तो निर्णयबाट खुसी भएर परिवारले कन्या खोज्न थाल्दछ ।
७. ‘विवशता’
यो कथा धनको आधारमा मानिसको मनोविज्ञान र क्रियाकलापमा कसरी परिवर्तन हुन्छ भन्नेसित सम्बन्धित छ । उही मानिस कमाइ हुँदा एउटा मनोविज्ञानमा हुन्छ भने नहुँदा बेग्लै । वास्तवमा जसले धनप्राप्तिलाई आदर्श ठान्दछन्, उनीहरूका सोच, मनोविज्ञान र क्रियाकलाप यस्तै हुन्छ भन्ने यो कथाले बताएको छ ।
अमेरिकामा एउटा परिवार छ, हेमन्त र ताराको । उनीहरूको परिवारमा छोरा जन्मिन्छ । त्यसपछि आपसी सल्लाहमा उनीहरूले भूमिका साटासाट गर्छन् । श्रीमती ताराले गाडी चलाउन सिकेर जागिर गर्छिन् भने हेमन्तले घर बसेर छोराको स्याहारसुसार गर्छन् । आफ्नो कमाइ भएपछि ताराको व्यवहार फरक हुन्छ । उनले पतिलाई हेला गर्छिन् । उता, नेपालतिर भने धनको घमण्ड देखाउँछिन् । परिस्थितिमा परिवर्तन हुन्छ । ताराको जागिर छुट्छ । त्यसपछि उनी एकाएक बदलिएर हेमन्तको सेवासमर्पणमा लाग्छिन् ।
८. ‘केयर सेल्टरको कथा’
यसमा पाँचओटा फरकफरक प्रसङ्ग छ । कथावाचक अमनले पत्रिकामा छापिएको कटिङ हेर्दै अमेरिका आप्रवासी तथा स्वयम् अमेरिकी नागरिकको अवस्थाबारे स्मरण गर्दछन् । त्यहाँ यस्ता विपन्न परिवारको व्यवस्थापनका लागि केयर सेल्टरको व्यवस्था हुन्छ । त्यहाँ कस्ता कस्ता प्रकृतका परिवार आउँछन् ? त्यसबारे यस कथामा उल्लेख गरिएको छ ।
पहिलो प्रसङ्ग बङ्गलादेशी नागरिक फातिमाको छ । केयर सेल्टरमा उसका बालबच्चाको दूरावस्था देखेर एक जना नेपालीले सहयोग गर्छन् तर केयर सेल्टरको प्रशासनले अनुमति नलिईकन कसरी सहयोग गरियो भनेर छानबिन गर्छ । ती महिलाका पति दुव्र्यसनी भएकाले परिवारको जिम्मेवारीबाट पन्छिएका हुन्छन् ।

दोस्रो प्रसङ्ग चिनियाँ नागरिक लीको छ । उनी सौतेनी आमाको व्यवहार सहन नसकेर अमेरिका आएका हुन्छन् । उनको एउटा छोरा छ, हाब । उनी त्यही छोराको भविष्यको खोजीमा अमेरिका पुगेका हुन्छन् । उनको अवस्थालाई हेरेर एउटा चिनियाँ परिवारले नै उनलाई काम दिन्छ तर त्यसमा पनि श्रमशोषण गरिएको हुन्छ ।
तेस्रो प्रसङ्ग नाइजेरियन नागरिक एडीको छ । आफ्नै देशबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका एडी अवसरको खोजीमा लन्डन हुँदै अमेरिका छिर्छ । बर्बाडोजकी एउटी महिलासित विवाह गरेपछि उनीहरूका दुईओटा छोरा जन्मिन्छन् । ती दुवै बच्चा अटिजमद्वारा ग्रसित छन् । केयर सेल्टरमा बिग्रिएको एसी समयमै मरम्मत नहुँदा उनले रौद्र रूप देखाउन पुग्छन् तर तीन वर्षपछि आवास उपलब्ध भएपछि पुराना गल्तीबारे माफी माग्दै उनी नयाँ आवासमा फर्किन्छन् ।
चौथो प्रसङ्ग घमण्डी अमेरिकी महिलाको छ । उसलाई विदेशी अर्थात् आप्रवासीप्रति घृणा छ । उनले भन्दछिन्– यदि उसको छोरा राष्ट्रपति बन्यो भने आप्रवासीलाई अमेरिकाबाट लखेट्नेछ । एकपटक केयर सेल्टरमै लडेर उसलाई चोट लाग्छ । दु्रत उपचार भएन भनेर उसले अदालतमा मुद्दा हालेकी छे । उसले अपेक्षा गरेकी छे– मुद्दा जितेपछि हाफ मिलियन अर्थात् पाँच लाख डलर पाउनेछे । त्यो रकमले ऊ आफ्नो गृहस्थान फ्लोरिडा फर्किनेछे ।
पाँचौँ प्रसङ्ग पनि अमेरिकाकै महिलाको छ । ब्वायफ्रेन्डसँग उसको युरोप भ्रमण तय भइसकेको छ । त्यति बेला उसको अगाडि आइपरेको समस्या नौ महिनाकी गर्भवती छोरीको हो । आठ महिनापहिला बलात्कारमा परेकी छोरी अहिले गर्भवती भएकी छिन् । आफू युरोप भ्रमणमा जानुपरेकाले उनी कमसेकम दुई हप्ताका लागि गर्भवती छोरीलाई केयर सेल्टरमा छोड्न आउछिन् ।
सबल पक्ष
कथाकार अधिकारी कथावस्तु प्रस्तुत गर्ने सन्दर्भमा यथार्थवादी देखिएका छन् । उनले अमेरिकामा पुगेर नेपाली वा अन्य देशमा आप्रवासीले व्यहोर्नुपर्ने समस्यालाई लुकाएका छैनन् । अर्कोतर्फ, अमेरिकी समाजमा बस्दै गर्दा उनले त्यहाँको समाजको प्रभाव आफूमा परेको पनि देखाएकै छन् । त्यसैगरी अध्यात्मप्रतिको उनको श्रद्धा पनि छेकिएको छैन । एवम् प्रकारले व्यक्तिगत समृद्धिको पक्षको सक्रियताभावलाई उनले समर्थन गरेको देखिन्छ ।
कथामा उनले आफ्नो देशप्रतिको देशभक्ति उत्कट रूपमा देखाएका छन् । संसारमा जहाँसुकै पुगे पनि मातृभूमि नेपालप्रति दायित्व हुन्छ भन्ने उनले कथामा देखाएका छन् । त्यसैगरी परिवार वा समाजप्रतिको उत्तरदायित्व पनि उनको कथामा झल्किएकै छ ।
अधिकारीको कथामा नेपालीहरू के कस्ता कारणले अमेरिका जान बाध्य हुन्छन् भन्ने पनि देखाइएको छ र त्यसको दोस्रो भागको रूपमा अमेरिकामा भोग्नुपरेको समस्याको चर्चा छ ।
यहाँ प्रत्येक कथाको सङ्क्षिप्त सबल पक्षबारे चर्चा गरौँ ।
पहिलो कथा ‘संयोग’ मा अमेरिका पुगेपछि नेपालीहरू पनि त्यहाँको खुला समाजको प्रभावमा पर्दछन् । फलस्वरूप मानिसहरू पारिवारिक सङ्कीर्णताभन्दा माथि उठ्छन् भन्ने देखाइएको छ ।
दोस्रो कथा ‘अमेरिका सपना’ को मुख्य शिक्षा अमेरिका पुगे पनि मातृभूमि र परिवार बिर्सनुहुँदैन भन्ने छ, जबकि यस कथाका पात्र गौरवले बङ्गाली आप्रवासीसँग विवाह गरेपछि आफ्नो देश, परिवार र धर्मसंस्कृति नै परिवर्तन गरेको छ ।
तेस्रो कथा ‘सम्बन्ध’ मा अमेरिकामा पुगेपछि उत्पादन श्रममा भाग लिनैपर्ने बाध्यताबारे उल्लेख छ । त्यस्तै अमेरिकामा पनि कम कमाइ हुन्छ भने पारिवारिक तनाव हुन्छ भन्ने देखाइएको छ । यस कथाको मुख्य पात्र डिपेन्डेन्ट भिसामा अमेरिका छिर्छन् । बेरोजगारीका कारण वेरआउसमा थोरै तलबमा काम गर्दा उत्पन्न तनावमाझ डिप्रेसनमा जान्छन् ।
चौथो कथा ‘रहर जिन्दगीको’ मा एकैसाथ अन्तरजातीय विवाहपछिको सांस्कृतिक अन्तरविरोध र सभ्रान्त जीवनप्रतिको अभिलाषा दुवै देखाइएको छ । फरक संस्कृतिप्रति सम्मान तथा जीवनमा मितव्ययिताको अभावमा मानिसहरू मातृभूमि छोड्छन् भन्ने यस कथाको मुख्य सार हो । सँगै अमेरिका पुगेर पनि पारिवारिक उत्तरदायित्व लिनु यस कथाको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।
पाँचौँ कथा ‘क्लेप्टोमेनिया’ नेपालकै एउटी किशोरीको जीवनप्रसङ्ग हो । ‘क्लेप्टोमेनिया’ जस्तो मानसिक रोग कुन खालको भौतिक परिस्थितिमा लाग्दछ भन्ने यस कथामा देखाइएको छ । त्यससँगसँगै मानसिक रोगप्रति नेपाली समाज अझै सहज बनिनसक्दा उपचार प्रभावकारी बन्न सकेको छैन भन्ने यथार्थता प्रस्तुत गर्नु यस कथाको सबल पक्ष हो ।
छैटौँ कथा ‘यात्रा जिन्दगीको’ मा गृहस्थ जीवन र अध्यात्ममाझ देखा पर्ने अन्तरविरोध देखाइएको छ । यस कथाको मुख्य पात्र सन्देश अमेरिका पुगेपछि पनि हिन्दुधार्मिक अध्यात्मबाट प्रभावित छन् । त्यस क्रममा उनले ब्रह्मचार्य पालना गर्ने प्रयास गर्दछ तर मानव समाजको व्यापक यथार्थ गृहस्थ जीवन नै हो भन्ने बुझेर सन्देश त्यो मार्गबाट फर्किन्छन् । आममानिसका लागि गृहस्थ जीवन नै यथार्थ हो भन्ने धारणा यहाँ व्यक्त गरिएको छ ।
सातौँ कथा ‘विवशता’ मा अमेरिका पुगेपछि कमाइ नहुँदा सहज नहुने प्रवृत्ति रहेकी तारा पात्रलाई उल्लेख गरिएको छ । पति हेमन्तले पारिवारिक सल्लाहमा घरगृहस्थी सम्हाल्न तयार भए पनि कमाइ हुँदासाथ तारामा घमण्ड पलाएको र नहुँदा विवश बनेको देखाउनु यस कथाको सबल पक्ष हो ।
आठौँ कथा ‘केयर सेल्टरको कथा’ मा संसारभरिबाट अमेरिका पुगेका र त्यहाँ अव्यवस्थामा रहेका पाँचओटा प्रतिनिधि परिवारको प्रसङ्ग समेटिएको छ । मानिसहरू सामान्य पारिवारिक असहजता आउनासाथ अमेरिका पुग्छन् र अर्कोतर्फ स्वयम् अमेरिकामा नै दूषित सोचाइ राख्ने अमेरिकी पनि छन् भन्ने यस कथामा देखाइएको छ ।
दुर्बल पक्ष
प्रस्तुत कृतिको बेग्लाबेग्लै प्रकारले मूल्याङ्कन गर्न सकिन्छ । वैचारिक प्रवृत्तिबाट हेर्दा कथाहरू यथार्थवादी र प्रगतिशील छन् । त्यसका साथै यथार्थको वर्णनपछि उब्जिने प्रश्नको समाधान प्रस्तुत गर्न नसक्नु यस कृतिको मुख्य समस्या हो । यस कथाकृतिमा ‘यस्तो भएछ’ भन्ने त प्रष्टै बुझिन्छ तर ‘यसपछि के भयो होला ?’ भन्ने जिज्ञासा पाठकमा रहिरहन्छ । पाठक समस्या उठानपछिको समाधान खोजिरहन्छ, जुन पाठकले यस कृतिबाट पाउँदैन ।
कथासङ्ग्रह पढिरहँदा पाठकलाई अमेरिकामै पुगेजस्तो अनुभूति हुन्छ । साथै एउटै कथाभित्र पनि बहुप्रसङ्गको चर्चा हुन्छ यद्यपि कथाहरू सामान्यभन्दा केही लामा छन् । सायद कथाभित्रका विविध प्रसङ्गको विस्तारमा जाँदा आकार लामो हुन्छ कि भन्ने चिन्ता पनि होला । ‘केयर सेल्टरको कथा’ मा पाँचओटा फरकफरक प्रसङ्ग छन् । ती प्रत्येक प्रसङ्गलाई बेग्लाबेग्लै कथा बनाउन सकिन्छ । यसरी अन्तिम कथा आफैमा ‘बहुकथा’ जस्तो देखिन्छ ।
कथामा पात्रभन्दा पनि प्रवाहमा ध्यान दिइएको छ । फलस्वरूप पात्रको चित्रण केही कमजोर देखिन्छ । पूरै कथा पढेपछि मात्रै पात्रको चरित्रबारे थाहा लाग्दछ । पात्रको नाम पहिला उल्लेख नगरिँदा पनि केही अन्यौल हुन जान्छ । पात्रको परिचयमा कम ध्यान पुगेकोजस्तो देखिन्छ ।
सबै कथा उत्तिकै महत्त्वका छन् । ‘अमेरिका सपना’ लाई शीर्षकथा बनाइए पनि अन्य कथा पनि शक्तिशाली छन् ।
निष्कर्ष
प्रस्तुत कथाकृति हिम्मतिलो छ । त्यो यस अर्थमा, कथाकारले साहसपूर्वक अमेरिका पुगेका नेपालीको कथा भनेका छन् अन्यथा अमेरिका पुगेका धेरैजसो नेपालीले आफ्ना, दु:खपीडा लुकाएर सुखद पक्ष मात्रै देखाएका हुन्छन् । साप्ताहिक विदाका दृष्य सामाजिक सञ्जालमा राखेर उनीहरूले स्वदेशका नेपालीलाई भ्रमित बनाइरहेका हुन्छन् । तिनै सप्ताहान्त फोटो/भिडियो देखेर स्वदेशका नेपालीहरू आफ्ना समस्याको समाधान अमेरिकामा देख्न थाल्दछन् । फलस्वरूप एसइई पास गरेदेखि नै किशोरकिशोरीहरू राम्ररी भाषासमेत नसिकीकन ‘अमेरिका सपना’ देख्न पुग्दछन् । सिप, क्षमताको विकास गर्नु त कता हो कता ? आफ्ना लागि खानासम्म पकाउन नजान्नेहरू ‘अमेरिका सपना’ को लाइनमा उभिन पुग्दछन् । कथाकार अधिकारीले यस्ता असहज मानसिकतामा रमाइरहेका तप्काप्रति लक्षित गरेर कथा लेखेका छन् । अमेरिकामा सप्ताहान्त फोटो/भिडियोमा देखाइएजस्तो जीवन सहज छैन भन्ने देखाउनु उनको यस कथाको मुख्य सफलता हो ।
मातृभूमिप्रतिको देशभक्ति कथाको अर्को पन्छाउनै नमिल्ने विषय हो । अमेरिका पुगे पनि आफ्नो देश, परिवार, भाषा, कला, साहित्य, संस्कृतिजस्ता विषयबाट विमुख हुनुहुन्न भन्ने उनले प्रष्ट सन्देश दिएका छन् । तत्काल आउन नसके पनि काठमाडौँको महँगो वृद्धाश्रममा बुबाआमालाई राख्नु र पछि आफैले ‘महतो फाउन्डेसन’ खोल्ने ‘रहर जिन्दगीको’ कथाको प्रसङ्गले कथाकार अधिकारीको प्रगतिशील र उत्तरदायित्वपूर्ण जीवनदर्शनलाई नै बताउँछ ।
अन्तमा अमेरिकाको व्यस्त जीवनशैलीका बाबजुद यस्तै खालका रचनात्मक कृति, जसमा यथार्थसँगै समाधानको पाटोसमेत समेटिएका कृति कथाकार अधिकारीबाट आउने अपेक्षा गरौँ । मूलत: कथाकार अधिकारी आख्यानकार नै ठहरिन्छन् । त्यस आधारमा अधिकारीको साहित्यिक क्यारियर आख्यानकारको रूपमा अगाडि बढ्ने देखिन्छ । आख्यानकार अधिकारीसित आगामी दिनमा अझै परिष्कृत आख्यानको शुभकामना व्यक्त गर्नु अन्यथा हुने छैन ।
२०८३ जेठ २२ गते
बुढानीलकण्ठ–१०, काठमाडौँ