जगतप्रसाद रेग्मी ##
उठदै छु साथी
त्यो हुरीबतास छिचोलेर
आकाशबाटै पोखिएको त्यो चट्याङसित जुधेर
बिस्तारै जङ्घारको भेल उकेल्दै
म उठ्दैछु साथी
त्यो सोत्तर पन्छाउँदै
सबैले भन्ने गर्छन्
त्यो सुत्यो त्यो ढल्यो
के थाहा ?
बादल फाटेर आउने तुफानको गति
ज्वारभाटा बनेर खाक भएको
त्यो रातो लप्का
सधैँ नसा धुवामै लत्पतिएको
के देख्छौ र त्यसै हुन्कार लाउछौ ?
यो इन्द्रेणीसँग
ज्वालाको लप्को उठाउँदै
विचारविहीनको जिचार बनेर
आवाजविहीनको आवाज बनेर
झुपडीको बत्ती बनेर उठदैछु साथी
तिम्रो सपनामाथि
उसको बिपना लादिँदा
म तिम्रो जननी
दियो हातमा लिएर उठदैछु
मैले सुनेको छु
तिमी त उसको सिकार हो रे !
अहँ म मान्दिनँ
कत्ति पनि मान्दिनँ
इन्द्रेणी बोकेर बलेको मेरो दियो
दाह्रा ठोकेर निभाउन खोज्छ
अनि म बन्द, चुप
अहँ, अब ढिला गर्दै हुन्न
उठ्नैपर्छ
ढलेका मुर्दा चिहानबाटै उठनैपर्छ
गिज्याउदैछ जिस्काउँदैछ
देखाउँदै ऊ त्यो लास
अहँ, लास होइन
सञ्जीवनी हुँ
सगरमाथाको अटल धुरी
झुक्दैन एकदुई चट्याङ पर्दैमा
गन्तव्य हिँडेको यात्रु हुँ म
रोकिन्न
हावाले तक्टक्याउँदा
उभिउँला ढल्दिनँ
उठनैपर्छ हिँड्नैपर्छ
सुदूर पूर्वको लक्ष्यमा
हावाको बेगले उडाएको धुलो
गज्जवबलाग्छ
क्या सारो तुवाँलो
अस्थायी हो, आउँछ–जान्छ
ओतिन्छु बस्छु
अहँ थाकेर सुतेको होइन
तुवाँलो फटाउँदै उठछु
हिम्मत लिएर जुट्छु
संसारमा लागेको कालो बादल तोडेर
उठछु, अवश्य उठछु
मलाई सुत्ने अधिकार छैन
मलाई निदाउने छुट छैन
अब म ब्युझिँनैपर्छ
उठ्नैपर्छ
पल्लोघरे काहिलोको खेतको लागि
सानिमाको सिन्दूरको रक्षाको लागि
पल्लोघरेले हानेको गुलेली छेक्न
सुस्ताको लागि उठनैपर्छ
उठ्नैपर्छ ।