विष्णु शर्मा (पाण्डेचरी)
जहिल्यै ठूला ठालुहरूलाई चैन हुन्छ,
गरिबहरूलाई भने हत्कडी लगाउने ऐन बन्छ।
धनिककी छोरी बलात्कार हुनुपर्दैन,
सत्ताधारीको छोरो कहिल्यै हत्यारामा पर्दैन।
साँचो बोलेकै कारण गरिबले ज्यान गुमाउँछ,
हत्यारालाई सत्ताले नै संरक्षण गर्छ।
छिमेकी ठालुले गरिबको सहारा मिच्छ,
उसका साना बालबालिकामाथि पनि अन्याय गर्छ।
सिधा–साधा मानिसलाई बाठाहरूले हेप्छन्,
न्याय खोज्दा पनि वर्ग हेरेरै चाप्छन्।
न्यायको आशमै धेरैको जीवन सकिन्छ,
गरिखाने वर्ग सधैँ धोका खाएर बाँच्छ।
ठूलो पदमा पुग्नेहरू सीडी चढ्छन्,
गरिबको टाउको टेक्दै माथि बढ्छन्।
समानताको खाडल पुरिन्छ भन्छन्,
तर गरिबको आँसु नै सागर बन्छ।
छुवाछूत अन्त्य भएको घोषणा गर्छन्,
तर जातकै कारण दलितहरू अझै मर्छन्।
ठूला जातका अगाडि दलितको अस्तित्व दबिन्छ,
बोल्ने अधिकार माग्दा पनि आगो बलिन्छ।
समानताको कुरा संविधानमा लेखिन्छ,
तर व्यवहारमा त्यसलाई कसले स्वीकार्छ?
महिला–पुरुष बराबरी भनिए पनि,
व्यवहारमा अझै भेदभाव देखिन्छ।
महिलाहरू भने अघि बढिरहेका छन्,
अड्चन पार गर्दै शिखर चढिरहेका छन्।
सांसद बनेर रोष्ट्रममा आवाज उठाउँछन्,
तर त्यही आवाजमाथि प्रश्न उठाइन्छ।
समानताको नाममा ठूलो लडाइँ चल्छ,
अन्त्यमा नेताहरूको स्वार्थ मात्र बल्छ।
झुपडीबाट दरबारसम्म उनीहरू पुग्छन्,
तर गरिब सधैँ गरिब नै रहन्छ भनिन्छ।
अलमलिने भाषणमा होइन, अब सोच्नुपर्छ,
कसैले दिने दुःख सहेर बस्न हुँदैन।
“तिम्रै हौँ” भन्ने नाममा धोका हुन्छ,
हाम्रो अधिकारकै लागि सचेत बन्नुपर्छ।
उत्पीडित वर्ग र सर्वहारा सबै उठ्नुपर्छ,
समानताको पक्षमा एक भएर जुट्नुपर्छ।
राष्ट्रियता र अधिकारमा आँच आउन दिनु हुँदैन,
नैसर्गिक अधिकार जोगाउन अब सचेत बन्नुपर्छ।