मोहनविक्रम सिंह ##
अध्यक्ष, गण्डकी साहित्य सङ्गम, पोखरा
महोदय,
गण्डकी साहित्य परिषद, पोखराको तर्फबाट सन्तानब्बेऔँ गोकुल जयन्तीको अवसरमा मलाई सम्मानित गर्ने निर्णय गर्नुभएकोमा मैले तपाईंहरूलाई धेरै धेरै धन्यवाद दिन्छु । गोकुल जोशी नेपालको प्रगतिशील साहित्यको एउटा महान् विभूति हुनुहुन्थ्यो । नेपाली प्रगतिशील साहित्यको क्षेत्रमा उहाँको ठुलो योगदान रहेको छ । उहाँको नामबाट स्थापना गरिएको पुरस्कारद्वारा सम्मानित गरिनु मेरो लागि धेरै नै सम्मान र गौरवको पनि कुरा हो ।
उहाँको साहित्यको महत्त्व यो कुरामा रहेको छ कि उहाँले आफ्नो साहित्यद्वारा समाज र जीवनमा परिवर्तनको लागि विशेष जोड दिनुभएको छ । त्यसरी उहाँका लागि साहित्यको अर्थ खालि कल्पना र सौन्दर्य मात्र थिएन, त्यो विद्यमान समाज व्यवस्थालाई बदलेर त्यसका ठाउँमा एउटा स्वतन्त्र, सुखी र सुन्दर समाज निर्माणको लागि काम गर्ने उद्देश्यद्वारा अभिप्रेरित थियो । त्यसरी उहाँको साहित्यमा हामीले जीवनको दर्शन र क्रान्तिको उद्घोषसमेत पाउँछौँ । उहाँले आफ्नो सम्पूर्ण जीवन त्यो उद्देश्यको पूर्तिको लागि समर्पण गर्नुभयो । त्यसरी उहाँ एउटा साहित्यकार मात्र हुनुहुँदैनथ्यो, उहाँ समाजको परिवर्तनको लागि एउटा कर्मठ सेनानी र योद्धा पनि हुनुहुन्थ्यो ।
उहाँका रचनामध्ये ‘बाँच र बाँच्न देऊ’ सबैभन्दा प्रसिद्ध छ । त्यो एउटा रचनाले मात्र पनि उहाँको जीवनप्रतिको दर्शन वा प्रतिबद्धतामाथि प्रकाश हाल्दछ । त्यसमा उहाँले लेख्नुभएको छ–
‘रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको, बोक्ने अभिभारा ।’
माथि लेखिएका दुईओटा पङ्क्तिले मात्र पनि उहाँको जीवनप्रतिको दर्शन र त्यसको विजयमाथिको उहाँको अगाध विश्वासमाथि प्रकाश हाल्दछन् । ती पङ्क्तिले बताउँछन्, दूरदर्शी विचारधारालाई संसारको कुनै शक्तिले पनि रोक्न सक्दैन । उहाँले एक प्रकारले सारा संसारलाई हाँक दिएझैँ गरेर ती पङ्क्ति लेख्नुभएको छ । अब उहाँ हाम्राबिचमा हुनुहुन्न तर उहाँले दूरदृष्टिको विजयमाथि जुन अगाध विश्वास प्रकट गर्नुभएको थियो, त्यसले अहिले पनि हामीलाई अगाध प्रेरणा दिन्छ ।
उहाँको समयको तुलनामा अहिले संसार धेरै नै सङ्कटको मुखमा उभिएको छ । खास गरेर विश्व समाजवादी व्यवस्थाको पतन र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा पुगेको हुनाले तिनीहरूको भविष्यमाथि धेरै नै शङ्का गर्न थालिएको छ र मानिसमा भविष्यप्रति धेरै नै निराशाको भाव पैदा भएको छ तर त्यसको जबाफ गोकुल जोशीको कविताले दिन्छ । अर्को शब्दमा त्यो कविताले हामीमा अत्यन्त कठिन र प्रतिकूल अवस्थामा पनि भविष्यमाथि अगाध विश्वासको भावना पैदा गर्दछ ।
उहाँले लेखेको तलको कविताले पनि धेरै नै महत्त्व राख्दछ–
‘भोक भोकै मर्न लागे कवि कलाकार,
तड्पाएर नमारिदेऊ झुन्ड्याएर मार !’
माथिको कविताले कवि, कलाकार वा साहित्यकारको कठिन जीवनबारे प्रकाश हाल्दछ । खास गरेर प्रगतिशील कवि, लेखक र साहित्यकारबारे त्यो कुरा सत्य हो । त्यो कवितामा जे लेखिएको छ, त्यसबाट यो अनुमान गर्न गाह्रो पर्दैन, त्यो कविताले स्वयम् उहाँको जीवन र उहाँले सामना गर्नुपरिरहेको कठिन परिस्थितिमाथि पनि प्रकाश हाल्दछ । उहाँको जीवनको दर्दनाक कथा र समाज वा राज्यप्रतिको उहाँको तीव्र असन्तोष र रोषलाई पनि बताउँछ । त्यो कविताले बताउँछ, बाहिरबाट हेर्दा सामान्य र शान्त प्रकृतिको देखिने उहाँको व्यक्तित्वभित्र कति ठुलो अग्निज्वाला प्रज्ज्वलित भएको थियो ।
मलाई यो बताउँदा खुसी लागिरहेको छ कि मलाई काठमाडौँमा उहाँसित भेट हुने सौभाग्य प्राप्त भएको थियो । खास गरेर टुडिखेलमा मैले उहाँलाई देख्दथेँ र कतिपय बेला उहाँसित भेटघाट पनि हुने गर्दथ्यो तर त्यो बेला मलाई यो कुराको थाहा हुन सकेको थिएन, बाहिरबाट सामान्य प्रकारको देखिने व्यक्ति देशको एउटा महान् प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो । बाहिरबाट शान्तजस्तो देखिने व्यक्तित्वभित्र क्रान्तिको अग्निज्वाला दन्किरहेको थियो तर उहाँको मृत्युको धेरै पछि नै मलाई उहाँबारे क्रमश: धेरै कुरा थाहा हुँदै गयो । अन्तमा क्षयरोगद्वारा उहाँको निधन भएको थियो । यो प्रश्न उठाउने ठाउँ छ : कहीँ उहाँको समुचित उपचारको व्यवस्था नभएर नै उहाँको जीवनको अन्त त भएको थिएन ?
अन्तमा, देशको एउटा प्रगतिशील विभूतिप्रति असीम श्रद्धा र सम्मानका साथ अभिनन्दन !
(२०८३ जेठ ९ गते पोखरामा आयोजित सम्मान समारोहमा व्यक्त मन्तव्य)