– समीर सिंह
तिमीले सडक बनायौ
अरूले गाडी चढे
तिमीले इट्टा बनायौ
अरूले दरबार सजाए
तर तिम्रो पहिचान
अझ पनि सुकुम्वासी ।
सहरका अग्ला अग्ला महलहरू
तिम्रो हातले उठे
पार्टी प्यालेस र सहरको भिलीमिली
तिम्रो पसिनाले चम्किए
तर तिम्रो पहिचान अझ पनि सुकुम्वासी ।
एक सय सैँतिस वर्ष बिते
तर घाउहरू ताजै रहे
सिकागोमा बगेको रगत
इतिहासका पानामा दोहोरिइरहे
अनि तिम्रो पहिचान
अझ पनि सुकुम्वासी ।
बाग्मतीको खोल्सामा
चिसो हावा चलीरहँदा
तिमी सपनाको दियो बालिरह्यौ
बच्चाको भविष्य, एक टुक्रा आकाश
अनि सुरक्षित निद्राको आशामा
तिमी बनावटी हाँसो हासीरह्यौ
अनि तिम्रो पहिचान
अझ पनि सुकुम्वासी ।
एक बिहान डोजर गर्जियो
टिनको छाना काँप्न थाल्यो
बालक रोए आत्तिएर घरभरि
कसैले किताब समात्यो
कसैले आमाको हात
कसैले सोध्यो–
हाम्रो घर किन अपराध ?
अनि तिम्रो पहिचान दिइयो
तिमी त सुकुम्वासी ।
मे दिवस फेरि आयो
सङ्घर्षको मसाल बोकेर
तिमी कमजोर होइनौ
संसारको मालिक हौ भनेर
तिम्रो श्रमले संसार चम्कियो भनेर
अनि तिम्रो पहिचान
सुकुम्वासी होइन
मानव सौन्दर्यको
स्तम्भ भनेर ।