महेश रिजाल, दाङ ।
दाङको राजपुर गाउँपालिका–७ स्थित दक्षिणी संवेदनशील चुरे क्षेत्रभित्र पर्ने सल्लेरी सामुदायिक वनमा विगत तीन महिनादेखि व्यापक रूपमा जङ्गल फँडानी भइरहेको छ ।
स्थानीयबासीका अनुसार त्यसरी वन फँडानी हुँदा त्यहाँ पाइने लोपोन्मुख राजासाल, सतिसालजस्ता प्रजातिहरू लोप हुने खतरा बढेर गएको हो ।
साल, असना, कर्मा, सल्ला, खयरलगायतका मुख्य प्रजातिका बनस्पति पनि नष्ट हुने प्रबल सम्भावना रहेको अवस्था छ । जङ्गल विनाश हुँदा जङ्गली जनावरहरू गुना, बाँदर, बदेल, राते, घोरल, जरायो, खरायो, चितल, दुम्सी, बाघ, चितुवालगायतका वन्यजन्तुहरू पनि लोप हुने अवस्था देखिएको छ ।
त्यसैगरी अजिङ्गर, सर्पलगायतका घस्रिने प्रजाति पनि सङ्कटमा पर्नुका साथै मयूर, कालिज, लुइचे, वनकुखुरा, ढुकुर, भगेरी, सारी, छेपारो, गिद्ध, सुगालगायतका चराचुरुङ्गी लोप हुनुका साथै राजपुर गाउपालिकाभित्रकै पर्यटकीय र मनोरम सुनछहारी छहरा पनि पानीको अभावले सुकेर जाने खतरा प्रबल रूपमा बढेर गएको छ ।
उक्त कार्यमा सामुदायिक वनका अध्यक्ष लगायत केही टाढाबाठा पदाधिकारी, सबडिभिजन वन कार्यालय गँगदीका केही वनका कर्मचारी र डिभिजन वन कार्यालय लमहीका कर्मचारीको मिलोमतोमा उक्त वन फँडानी भइरहेको स्थानीयले बताए ।
सो कार्यमा संलग्नलाई कानुनी दायरामा राज्यले नलिने हो भने संवेदनशिल चुरे क्षेत्र छिटै मरुभूमिमा परिणत हुने सम्भावना झन् बढेर गएको छ ।