• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालको कम्युनिस्ट आन्दोलनमा गुटबन्दी

"(ज्ञानमीमांसीय विश्लेषण) "

  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • –रामप्रकाश पुरी

    Advertisement

    (यो लेख रामप्रकाश पुरीद्वारा लिखित Factionalism in the Nepali Communist Movement: An Epistemological Perspective शीर्षकमा International Journal of Multidisciplinary and Innovative Research Volume 02 Issue 10, October 2025 मा प्रकाशित अनुसन्धानात्मक लेखको सारांश हो । पूर्ण लेख गुगल, रिसर्च गेट, गुगल स्क्यालर लगायतका विभिन्न साइटमा 10.58806/ijmir.2025.v2i10n05 ठेगाना दिएर पढ्न सकिने छ । यो लेखले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको फुटलाई ज्ञानमीमांसीय दृष्टिकोणबाट विश्लेषण गर्दछ र विभाजनहरू मुख्यतः ज्ञान र सत्यको फरक–फरक बुझाइबाट उत्पन्न हुन्छन् भन्ने निष्कर्ष दिएको छ । लेख अनुसन्धानमाथि आधारित भएकोले निष्पक्ष र स्वतन्त्र छ ।)

    ज्ञानसम्बन्धी खोजले ज्ञानका स्रोत र त्यसको वैधताको अध्ययन गर्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा वैज्ञानिक समाजवाद, नेताहरूका व्यक्तिगत व्याख्या, ऐतिहासिक अनुभव, तथा व्यवहारिक राजनीति जस्ता विविध स्रोतहरू सक्रिय देखिन्छन् । यी फरक स्रोतहरूले फरक–फरक “सत्य” निर्माण गर्छन्, जसले अन्ततः वैचारिक विवाद र संगठनात्मक फुटलाई जन्म दिन्छ । मिचेल फोकल्टको “सत्य र शक्ति”को अवधारणाअनुसार सत्य कुनै स्थिर वा निरपेक्ष वस्तु नभई शक्ति सम्बन्धसँग गाँसिएको हुन्छ । उनले यस्तो भनिरहँदा नेपाली सन्दर्भमा पनि नेताहरूले आफ्नो शक्ति प्रयोग गरी आफ्नै सत्यलाई वैध ठहर्‍याउने प्रयास गरेका देखिन्छन् । यस सन्दर्भमा मुख्य द्वन्द्व वस्तुगत र सिद्धान्तमा आधारित ज्ञान—जस्तै मार्क्सवादी–लेनिनवादी दृष्टिकोण र व्यक्तिगत, नेतृत्वकेन्द्रित तथा राजनीतिक स्वार्थद्वारा प्रभावित व्याख्याबीच देखा पर्छ । साथै, ज्ञानको चयनात्मक प्रयोग, विगतको वर्तमान स्वार्थअनुसार पुनर्व्याख्या, बहुसत्यको अस्तित्व, तथा जनस्तरका अनुभव र औपचारिक ज्ञानबीचको असमान मूल्याङ्कनजस्ता ज्ञानमीमांसीय चुनौतीहरूले यस द्वन्द्वलाई अझ फराकिलो बनाउँछन् । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको फुट केवल राजनीतिक वा संगठनात्मक समस्या मात्र नभई ज्ञानको उत्पादन, व्याख्या र वैधतासँग सम्बन्धित गहिरो ज्ञानमीमांसीय समस्या हो ।

    विवादहरू मुख्यतः ज्ञान निर्माणका विभिन्न आधारहरूबाट प्रभावित हुन्छन् । पहिलो, वैचारिक भिन्नता—मार्क्सवाद–लेनिनवाद, माओवाद वा माओविचारधारा र क्रान्तिकारी रणनीतिबारे फरक व्याख्याले दीर्घकालीन फुट जन्मायो । दोस्रो, नेतृत्वकेन्द्रित सत्य—नेताहरूका अभिव्यक्तिलाई अन्तिम सत्यको रूपमा स्वीकार गर्ने प्रवृत्तिले समूहगत निष्ठा र रणनीतिलाई निर्धारण गर्‍यो । तेस्रो, अन्तर्राष्ट्रिय वैचारिक प्रभाव—जस्तै चीन–सोभियत विभाजनले स्थानीय ज्ञान प्रणालीलाई प्रभावित गर्दै पार्टीभित्र द्वन्द्व बढायो । चौथो, अनुभवमा आधारित ज्ञान र संस्थागत ज्ञानबीचको द्वन्द्व—जसमा तल्लो तहको अनुभव पार्टी सिद्धान्तसँग ठोक्कियो । अन्ततः, सङ्गठनात्मक संरचनाले कुन ज्ञान वैध मान्ने भन्ने निर्धारण गर्‍यो, जसले आन्तरिक सङ्घर्षलाई थप गहिरो बनायो ।

    ऐतिहासिक दृष्टिले, १९५०–६० को दशकमा दरभंगा प्लेनम (१९६०) र त्यसपछिका घटनाहरूले ज्ञानमीमांसीय विवादको स्पष्ट उदाहरण प्रस्तुत गर्छन् । मोहन बिक्रम सिंहको प्रस्ताव स्वीकृत भए पनि रायमाझी र पुष्पलालबिचको वैचारिक विभाजनले पार्टीभित्र ज्ञानको बहुलता र वैधतामाथिको विवाद देखायो । पछि रायमाझीको राजतन्त्र समर्थनले उनलाई निष्कासनसम्म पुर्‍यायो, भने तुल्सीलालको “राष्ट्रिय प्रजातन्त्र” लाइनलाई पनि विभिन्न समूहहरूले फरक–फरक रूपमा व्याख्या गरे । यसले देखाउँछ कि पार्टीभित्र सत्यको निर्धारण औपचारिक संरचनाभन्दा बढी वैचारिक, व्यक्तिगत र भावनात्मक पक्षबाट प्रभावित थियो । साथै, विश्वास र विश्वसनीयताको संकट, एउटै घटनाको फरक–फरक व्याख्या, जसले सत्यहरुको बहुलतालाई प्रस्तुत गर्दछन् अर्थात् एउटै वस्तु, घटना वा वास्तविकतालाई फरक फरक सत्यको रुपमा बुझ्‌ने समस्याबाट नेपालको कम्युुनिस्ट आन्दोलन बाहिर आउन सकेन । यसबाट शक्ति–ज्ञान सम्बन्धले कुन सत्य स्वीकार हुन्छ भन्ने कुरालाई निर्धारण गरेको स्पष्ट बुझ्‌न सकिन्छ ।

    १९९० मा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि, विवादहरू अझ बढी रणनीतिक ज्ञानमीमांसा वरिपरि केन्द्रित भए । मुख्य बहस संसदवादी सहभागिता र क्रान्तिकारी सङ्घर्षबिच थियो । एक पक्षले प्रजातान्त्रिक प्रक्रियालाई व्यावहारिक र ऐतिहासिक रूपमा उचित ठाने भने अर्को पक्षले वर्गसङ्घर्ष र द्वन्द्वात्मक भौतिकवादमा आधारित क्रान्तिलाई मात्र वैज्ञानिक मार्ग माने । यसरी, यी विवादहरू केवल रणनीतिक नभई सामाजिक परिवर्तनसम्बन्धी ज्ञानको उत्पादन र वैधताबारे गम्भीर ज्ञानमीमांसीय द्वन्द्वको अभिव्यक्ति थिए ।

    वैचारिक दायरा अन्तर्गत मार्क्सवाद–लेनिनवाद र माओवादका विभिन्न व्याख्याहरूले रणनीतिक निर्णयलाई प्रभाव पारेका छन । नेतृत्वकेन्द्रित सत्यका कारण नेताहरूका आकर्षक अभिव्यक्तिहरू नै ज्ञानात्मक सन्दर्भ बिन्दु बने, जसले गुटप्रतिको निष्ठा निर्धारण गर्‍यो । साथै, अनुभवमा आधारित कार्यकर्ता तहको ज्ञान र औपचारिक ज्ञानबिचको द्वन्द्वले जनस्तरमा बुझाइ र नेतृत्वका निर्देशनबिच तनाव सिर्जना गर्‍यो ।

    २०२० मा नेपाल कम्युनिस्ट पार्टीको विभाजनले आधुनिक सन्दर्भमा पनि ज्ञानमीमांसीय आधार कति सशक्त छ भन्ने देखाउँछ । यो विभाजन मुख्यतः नेतृत्व प्रतिस्पर्धा र संवैधानिक राजनीतिसँग सम्बन्धित थियो, तर यसको मूलमा ज्ञानसम्बन्धी विवाद नै थिए । विभिन्न नेताहरूले पार्टी सिद्धान्त, राज्य सञ्चालन, र आधुनिक नेपालमा मार्क्सवादी सिद्धान्तको प्रयोगबारे फरक–फरक व्याख्या प्रस्तुत गरे । उनीहरूले आफ्नो दाबीलाई बलियो बनाउन ऐतिहासिक उदाहरण, कानुनी व्याख्या र रणनीतिक विश्लेषण प्रयोग गरे, जसले ज्ञानात्मक अधिकारको दाबीलाई दर्शाउँछ । यस अवस्थामा पनि गुटप्रतिको निष्ठा त्यही व्याख्यामा आधारित रह्यो जुन “सही” वा “वैध” ठानियो, जसले नेतृत्वकेन्द्रित ज्ञानलाई अझै कायम रहेको पुष्टि गर्छ ।

    यसका अतिरिक्त, बहुसत्यको अवस्थाले संवैधानिक र राजनीतिक रणनीतिमा फरक–फरक ज्ञानात्मक संरचनाहरू देखायो । अन्तर्राष्ट्रिय प्रभावले पनि विश्व समाजवादी अभ्यासहरू मार्फत स्थानीय व्याख्यालाई प्रभावित गर्‍यो । अन्ततः, ज्ञान–शक्ति सम्बन्ध, जसलाई मिचेल फोकल्टले स्पष्ट गरेका छन्, अनुसार नेतृत्वको प्रभुत्वले कुन व्याख्या संस्थागत हुन्छ भन्ने निर्धारण गर्‍यो, जसले पुनः गुट द्वन्द्वलाई पुनरुत्पादन गर्‍यो ।

    सोभियत संघको प्रभावलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी र वैचारिक विभाजनसँग ज्ञानसम्बन्धी दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । सोभियत सङ्घ विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद–लेनिनवादको प्रमुख केन्द्र भएकाले यसले एक प्रकारको प्रमुख ज्ञान–संरचना प्रदान गर्‍यो, जसलाई नेपाली कम्युनिस्टहरूले वैचारिक वैधताको स्रोतका रूपमा ग्रहण गरे । यसका कारण स्थानीय स्तरमा मार्क्सवाद–लेनिनवादको व्याख्या सोभियत मापदण्डसँग तुलना गरेर गरिन थाल्यो । तर, चीन–सोभियत बिचको महान बहस (१९५०–६० को दशक) पछि नेपाली कम्युनिस्टहरू पनि दुई धारमा विभाजित भए—एक पक्षले मस्को–आधारित व्याख्या (संसदीय सहभागिता र केन्द्रीकृत संगठन) लाई समर्थन गर्‍यो भने अर्को पक्षले माओत्सेतुङ विचारधारा वा माओवाद प्रेरित दृष्टिकोण (क्रान्तिकारी संघर्ष, ग्रामीण वर्गसङ्घर्ष र विकेन्द्रीकरणलाई प्राथमिकता दियो । यी भिन्नताहरू केवल रणनीतिक नभई फरक–फरक ज्ञानात्मक संरचनाहरू थिए, जसमा दुवै पक्षले आफूलाई “सही” ज्ञानको वाहक ठान्थे । साथै, सोभियत मोडेललाई प्रत्यक्ष रूपमा नेपालमा लागू गर्ने प्रयास गर्दा स्थानीय सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थसँग असंगति देखियो । औद्योगिक मजदुर केन्द्रित सोभियत रणनीति नेपाल जस्तो कृषिप्रधान र अर्धसामन्ती समाजमा पूर्ण रूपमा लागू हुन सकेन, जसले वैचारिक द्वन्द्वलाई अझ गहिरो बनायो । यसले आयातित विचारधारा र स्थानीय ज्ञानबिचको द्वन्द्व सिर्जना गर्‍यो, जहाँ प्रश्न उठ्यो—के “सही” मार्क्सवाद विदेशी व्याख्यामा आधारित हो कि स्थानीय यथार्थअनुसार पुनःनिर्मित ? यही विवादले गुटबादलाई ज्ञानमिमांसात्मक सङ्घर्षमा रूपान्तरण गर्‍यो ।

    अन्ततः, ज्ञान–शक्ति सम्बन्धको सन्दर्भमा सोभियत समर्थक समूहहरूले बाह्य वैधतालाई आफ्नो शक्ति बनाउँदै आफ्ना दृष्टिकोणलाई “वैज्ञानिक” ठहर्‍याए र विरोधीहरूलाई अवैध देखाए । यसरी, शक्ति र ज्ञान एकआपसमा गाँसिएर गुट विभाजनलाई संस्थागत बनाउँदै लगे । परिणामस्वरूप, संसदीय राजनीति विरुद्ध क्रान्तिकारी संघर्ष, केन्द्रीकरण विरुद्ध विकेन्द्रीकरण, र अन्तर्राष्ट्रिय विरुद्ध राष्ट्रिय मोडेलजस्ता बहसहरू केवल रणनीतिक विवाद नभई “कुन ज्ञान सही हो ?” भन्ने गम्भीर ज्ञानमिमांसात्मक द्वन्द्वका रूपमा विकसित भए ।

    नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दीलाई ज्ञानसम्बन्धी दृष्टिकोणबाट विश्लेषण गर्दै सोभियत संघ र चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावलाई व्याख्या गर्दा यो निष्कर्ष अगाडि आउँछ कि गुटबन्दी र वैचारिक विखण्डन केवल सङगठनात्मक कमजोरी नभई ज्ञानको उत्पादन, व्याख्या र वैधतामाथिको सङ्घर्षका रूपमा बुझिनुपर्छ । बाह्य वैचारिक मोडेलहरू—जस्तै सोभियत वा चिनियाँ—लाई बिना समालोचनात्मक रूपमा ग्रहण गर्दा ती स्थानीय सामाजिक यथार्थसँग ठोक्किन्छन्, जसले विभाजनलाई जन्म दिन्छ । साथै, स्थानीय नेताहरूले यी आयातित विचारहरूको पुनर्व्याख्या गर्दा विभिन्न “सत्य” निर्माण हुन्छन्, जसले अधिकार, वैधता र सत्यको निरन्तर विवाद सिर्जना गर्छ । यसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनको गुटबन्दी वा गुटवादलाई बुझ्न आयातित विचारधारा, स्थानीय सन्दर्भ र शक्ति सम्बन्धबिचको अन्तरक्रियालाई विश्लेषण गर्न आवश्यक हुन्छ ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले नेपाली कम्युनिस्ट आन्दोलनको ज्ञानात्मक ढाँचालाई गहिरो रूपमा प्रभावित गरेको देखिन्छ । सीसीपीले माओविचारधारा वा माओवाद, दीर्घकालीन जनयुद्ध, ग्रामीण संगठन र कार्यकर्ता निर्माणजस्ता अवधारणामार्फत “वैज्ञानिक क्रान्तिकारी ज्ञान” को मोडेल प्रदान गर्‍यो, जसलाई नेपालमा माओको लाइन मान्नेहरुले व्यवहारमा लागू गरे । तर, यही ज्ञानको आयातले विभिन्न व्याख्याहरू जन्मायो—केही समूहले ग्रामीण सशस्त्र संघर्षलाई प्राथमिकता दिए भने अन्यले संसदीय राजनीति र सहरी आन्दोलनलाई महत्व दिए । यसले सीसीपीको सिद्धान्तको “सही प्रयोग” के हो भन्ने ज्ञानमिमांसात्मक विवाद सिर्जना गर्‍यो, जसले गुटवादलाई थप तीव्र बनायो । साथै, सीसीपी शैलीको केन्द्रीकृत निर्णय प्रक्रिया र नेतृत्वकेन्द्रित ज्ञान संरचनाले केही नेताहरूलाई ज्ञानात्मक प्राधिकारीका रूपमा स्थापित गर्‍यो, जसले “कसको व्याख्या सही हो ?” भन्ने आधारमा समूहगत सङ्घर्षलाई संस्थागत बनायो ।

    यस सन्दर्भमा अन्तर्राष्ट्रिय वैचारिक द्वन्द्व—विशेषगरी चीन–सोभियत बहसले नेपाली कम्युनिस्टहरूलाई दुई फरक ज्ञानात्मक मार्गबिच छनोट गर्न बाध्य बनायो । सीसीपी वा सोभियत पक्षमा उभिनु केवल राजनीतिक निर्णय नभई “सही ज्ञान” को दाबी पनि थियो । साथै, स्थानीय कार्यकर्ता स्तरको अनुभवले कतिपय अवस्थामा सीसीपीको सैद्धान्तिक मोडेलसँग मेल खाएन, जसले आयातित विचारधारा र स्थानीय अनुभवबिचको द्वन्द्वलाई अझ गहिरो बनायो । अन्ततः, यही ज्ञानमिमांसात्मक असङ्गति—स्थानीय अनुभव बनाम बाह्य सिद्धान्त—ले गुटबन्दीलाई केवल शक्ति सङ्घर्ष नभई “कुन ज्ञान वैध हो ?” भन्ने गहिरो दार्शनिक विवादका रूपमा स्थापित गर्‍यो ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को प्रभावलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दीवाद र वैचारिक विभाजनसँग गहिरो ज्ञानमिमांसात्मक सम्बन्ध छ । सीसीपीको प्रभावले विभिन्न क्रान्तिकारी रणनीतिबारे फरक–फरक व्याख्या जन्मायो, जसले ज्ञानात्मक विविधता सिर्जना गर्‍यो । साथै, ज्ञान–शक्ति सम्बन्ध अन्तर्गत सीसीपी–आधारित वैधताको दाबी गर्ने समूहहरूले प्रायः निर्णय प्रक्रियामा प्रभुत्व जमाउँदै गुटीय गठबन्धनलाई संस्थागत बनाए । यसैगरी, सन्दर्भअनुसार ज्ञानको वैधता परिवर्तन हुने भएकाले स्थानीय र ऐतिहासिक अवस्थाअनुसार वैचारिक सिद्धान्तको पुनर्मूल्याङ्कन हुँदै गयो । समग्रमा, सीसीपी एकातिर “अधिकारिक ज्ञानको मोडेल” बनेको छ भने अर्कोतर्फ त्यसकै व्याख्यामाथि हुने प्रतिस्पर्धा गुटबन्दीवादको मुख्य स्रोत बनेको छ । विभिन्न समूहहरूले ऋऋए सिद्धान्तको “सही व्याख्या” मा आधारित भएर आफ्नो नेतृत्व र रणनीतिलाई वैध ठहर्याउने प्रयास गरे, जसले अन्तर्राष्ट्रिय वैचारिक प्रभाव र स्थानीय अनुभवसँग मिलेर निरन्तर विभाजन र बहसलाई जन्म दियो। यसरी गुटबन्दीवादलाई ज्ञानमिमांसात्मक दृष्टिले हेर्दा यो केवल सङ्गठनात्मक वा व्यक्तिगत द्वन्द्व नभई ज्ञानको उत्पादन, वैधता र अधिकारमाथिको सङ्घर्षका रूपमा देखिन्छ ।

    विभिन्न विद्वानहरूको अध्ययनले पनि यही निष्कर्षलाई सुदृढ बनाउँछ । माइकल हट र प्रत्युष वन्त (२०१७) ले साहित्यिक शिक्षाले वैचारिक धारणा निर्माणमा प्रभाव पारेर नेतृत्व र जनस्तर बिच अन्तर सिर्जना गरेको देखाएका छन् । सारा स्हेनेइडेरमन (२००३) ले पिस्कार गाउँका किसानहरूले माओका विचारलाई आफ्नै सामाजिक सन्दर्भअनुसार पुनर्निर्माण गरेको देखाउँदै अनुभवजन्य ज्ञानको महत्त्व देखाउँछन् । कैलमेल र पेरीअर(२००७) र अधिकारी (२०२३) ले नेतृत्वद्वारा उत्पन्न ज्ञानात्मक द्वन्द्वले सङ्गठनात्मक एकता कमजोर बनाउँदै गुटबादलाई बढाएको तर्क गर्छन् । साथै, चौँलागाइले (२०२४) ले वैचारिक द्वन्द्व र लोकतान्त्रिक प्रक्रियाबिचको अन्तर्सम्बन्ध देखाउँदै नीति निर्माणमा ज्ञानमिमांसात्मक संघर्षको भूमिका स्पष्ट पारेका छन् । यी सबै अध्ययनहरूले देखाउँछन् कि नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी केवल राजनीतिक वा सङ्गठनात्मक समस्या मात्र नभई ज्ञान निर्माण, नेतृत्वको व्याख्या, वैचारिक द्वन्द्व र सङ्गठनात्मक प्रक्रियासँग गाँसिएको गहिरो ज्ञानमिमांसात्मक प्रक्रिया हो ।

    पार्टीभित्रका फुट र विवादहरू केवल संगठनात्मक कमजोरी वा व्यक्तिगत द्वन्द्व होइनन्, बरु ज्ञानको स्रोत, त्यसको वैधता र सही व्याख्याबारे हुने संघर्ष हुन् । पहिलो, गुटबन्दी स्वयंमा ज्ञानमिमांसात्मक सङ्घर्ष हो, जहाँ विभिन्न समूहहरूले वैज्ञानिक समाजवाद, नेतृत्वकेन्द्रित अधिकार, विदेशी मोडेल वा व्यावहारिक राजनीतिक अनुकूलनका आधारमा आफ्नो वैधता स्थापित गर्न खोज्छन् । १९६० को दरभंगा प्लेनम जस्तो घटनाले देखाउँछ कि बहुमतको निर्णय र नेतृत्वको व्याख्यामध्ये कुन “सत्य” मान्ने भन्ने प्रश्न नै मुख्य विवादको विषय थियो । दोस्रो, आन्दोलनभित्र बहुसत्यको अवस्था देखिन्छ, जहाँ एउटै घटनालाई नेपालक विभिन्न कम्युनिस्ट नेताहरूले फरक–फरक तरिकाले व्याख्या गरे, जसले फरक ज्ञानात्मक सत्य निर्माण गर्‍यो । तेस्रो, सत्य स्थिर नभई सन्दर्भअनुसार परिवर्तनशील रह्यो—कहिले संसदीय सहभागिता “सही” ठानियो भने कहिले संशोधनवाद भनेर अस्वीकार गरियो । चौथो, ज्ञान–शक्ति सम्बन्ध अत्यन्त महत्त्वपूर्ण रह्यो, जहाँ कुन सत्य वैध हुन्छ भन्ने कुरा सिद्धान्तभन्दा बढी नेतृत्व र गुटको शक्ति सन्तुलनले निर्धारण गर्‍यो । यस प्रक्रियामा नेपालका कम्युनिस्ट नेताहरूको प्रभाव निर्णायक रह्यो, र सोभियत वा चिनियाँ पक्षसँगको निकटताले पनि ज्ञानात्मक वैधता निर्माण गर्‍यो ।

    पाँचौँ, सत्य उत्पादन स्थिर नभई अन्तरक्रिया, बहस र प्रतिस्पर्धाबाट निर्माण हुने प्रक्रिया हो । पार्टी सम्मेलन, जनसभा र संगठनभित्रका छलफलहरूले ज्ञानलाई निरन्तर पुनर्निर्माण गरे, जहाँ व्यक्तिगत भावना, निष्ठा र अनुभवले पनि भूमिका खेले । यसले देखाउँछ कि ज्ञानमिमांसा सामाजिक रूपमा निर्माण हुने प्रक्रिया हो । साथै, गुटबन्दीवादलाई ज्ञानमिमांसात्मक संघर्षको रूपमा हेर्दा, सोभियत र चिनियाँ मोडेलबिचको विभाजनले फरक–फरक ज्ञान दाबीहरूलाई जन्म दियो—एक पक्षले मस्को–आधारित नीतिलाई “सही” ठान्यो भने अर्कोले माओको व्याख्यालाई वैज्ञानिक सत्यका रूपमा ग्रहण गर्‍यो ।

    अन्ततः, आयातित विचारधारा र स्थानीय अनुभवबीचको अन्तर्क्रियाले ज्ञानात्मक बहुवादको सिर्जना गर्‍यो । नेपालजस्तो कृषिप्रधान समाजमा विदेशी मोडेलहरू पूर्ण रूपमा लागू हुन नसक्दा जनस्तरमा नयाँ व्याख्याहरू उत्पन्न भए, जसले थप विभाजनलाई संस्थागत बनायो । चीन–सोभियत विभाजन जस्ता अन्तर्राष्ट्रिय वैचारिक द्वन्द्वहरूले पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई गहिरो रूपमा प्रभावित गर्दै गुटीय राजनीति र नेतृत्वको वैधता निर्धारण गरे ।

    समग्रमा, नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दीवाद र फुट मूलतः “कुन ज्ञान सही हो ?” भन्ने गहिरो ज्ञानमिमांसात्मक प्रश्नसँग सम्बन्धित छ, जसले संगठनात्मक दिशा, रणनीति र एकतालाई निरन्तर प्रभावित गर्दै आएको छ । विभाजनहरू केवल संगठनात्मक कमजोरी वा व्यक्तिगत स्वार्थका कारण नभई मार्क्सवादी सिद्धान्त, नेतृत्वको व्याख्या र विदेशी मोडेलबिचको द्वन्द्वका कारण उत्पन्न भए । वर्गआधारित दृष्टिकोण बलियो हुँदा एकता सम्भव देखिए पनि नेतृत्वकेन्द्रित व्यक्तिवाद हावी हुँदा फुट तीव्र भयो । विदेशी (सोभियत/चिनियाँ) मोडेलको अन्धानुकरणले स्थानीय ज्ञान र यथार्थलाई कमजोर बनाउँदै वैचारिक असंगति बढायो । यसरी, फुट आकस्मिक नभई सत्यको परिभाषा र ज्ञान–शक्ति सम्बन्धमा आधारित संरचनात्मक समस्याका रूपमा बुझ्नुपर्छ ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.