लक्ष्मण बेलबासे ##
भारतको प्रत्यक्ष सहयोगमा २०४६ सालमा बहुदल आयो । राजाका अधिकार कटौती गर्यो । राजा कमजोर भए । खाँटी कम्युनिस्ट भएर बाँच्न सकिन्न भन्ने बुझेका मदन भण्डारीले बहुदलीय जनवादको व्याख्या गरे तर पनि कसैले जोगाउन सकेन । राजनीतिक गडबडीका नायक गिरिजाप्रसाद कोराला भारतकै नजिक थिए । जति बेला भारत पनि भारतीय कङ्ग्रेसको नेतृत्वमै थियो ।
नेपाल पनि एक स्वतन्त्र राष्ट्र हो भनेर विश्व मञ्चमा पहिलो पक्षधरता देखाएको अब दूरको मित्र अमेरिकाले पनि आफ्नो मान्छे खोज्यो र यता कङ्ग्रेसमा विद्रोह । कङ्ग्रेसभित्रै बाट शेरबहादुर देउवाको नेतृत्व खोजियो । उति बेला नै भनिथ्यो, शेरबहादुर देउवा अमेरिकाका मान्छे हुन् । शेरबहादुर देउवा कङ्ग्रेसमा शक्तिशाली हुँदै गए । कम्युनिस्टबाट पनि बेग्लै प्रयोग हुँदै थियो ।
२०५२ सालमा प्र्रत्यक्ष/प्र्र्रत्यक्ष भारतकै सहयोगमा देउवालाई मागपात्र बुझाउँदै जनयुद्धको उद्घोष भयो । देश घरेलु युद्धमा फस्यो । युद्धको भुमरीमा शेरबहादुर रक्षात्मक बन्न पुगे । शेरबहादुर देउवाबाट पश्चिमा उद्देश्य पूरा हुने सम्भावना कमजोर हुँदै गयो । अब युद्ध नै आफ्नो पोल्टामा लैजाने रणनीतिमा उनीहरू लागे । कुनै बेला श्रीलङ्कामा पनि यस्तै समस्यामा भारत परेको थियो । युद्ध लम्बिँदै गयो । जनयुद्ध भारतको पोल्टाबाट युरोपियन युनियन र अमेरिकाको पोल्टामा पुग्यो । राजदरबार हत्याकाण्ड हुँदै यसको प्रभाव संविधान लेखन र घोषणासम्म आइपुग्दा सतहमै देखिन थाल्यो । यहीबिचमा देउवाकै विकल्पमा गगन थापालाई तयार गरियो । २०६२–६३ सम्म पुग्दा कङ्ग्रेस संवैधानिक राजतन्त्रको मान्यतालाई छोडेर गणतन्त्रमा पुगेकै हो । यसको अग्रभागमा तिनै गगन थापा थिए ।
२०७२ वैशाखमा भूकम्प गयो । यसले घर र मन मात्रै उदाङ्गो बनाएन, देशकै वास्तविक अवस्था छर्लङ्ग बनाइदियो । बिपत् व्यवस्थापनको लागि न एक दाना औषधी, न एक दाना चामल, राज्यविहीनताको अवस्था प्रष्ट देखियो । यही मौकामा विभिन्न सहयोगको माध्यमबाट अमेरिका र युरोपलाई कुनाकुना पुग्ने अवसर जुर्यो ।
गणतन्त्रवादीसँगै अन्तरघुलित भएर २०७२ सालको संविधानमा युरोपको प्रभाव बढी देखियो । देश गणतन्त्र, धर्मनिरपेक्ष, र सङ्घीयतामा गयो । यही संविधानको घोषणासँगै भारतको असन्तुष्टि छताछुल्ल भएर पोखियो, जसले गर्दा नाकाबन्दीसम्मको अवस्था बन्यो । जति बेला भारतमा कङ्ग्रेस कमजोर हुँदै बिजेपीको सत्तारोहण भइसकेको थियो । भारत मैदान बाहिरबाट ढुङ्गा हान्ने अवस्थामा पुग्यो ।
यही खाली ठाउँ अमेरिकाले र युरोपले पूरा गर्ने मौका मिल्यो । माओवादीकै नेतृत्वकालमै यसैको परिणाम भनौँ, नेपाल एमसिसीको माग गर्ने तहमा पुग्यो । केही समयको अन्तरालमा पास पनि भयो । यसको अग्रभागमा पनि तिनै गगन थापा थिए । एमसिसी सँगसँगै अब गगनको विकल्पको आधार निर्माणको कार्य पनि सुरु भइसकेको थियो, त्यो पनि वैकल्पिक शक्तिको नाममा । नारा थियो, पुराना दलबाट केही हुँदैन । विचारविहीन, सिद्धान्तविहीन र स्पष्ट नेतृत्वविहीन वैकल्पिक शक्तिको निर्माण हुँदै थियो । अमेरिकन युथ काउन्सिल यसको सुरुआती बिन्दु थियो । यहीँबाट सुरु भएको हो, विद्यालय र कलेजमा राजनीतिक दलका भ्रातृ सङ्गठनलाई प्रवेश निषेधको यात्रा । त्यसको अर्को कार्य भार थियो । दलका विरुद्ध नकारात्मक धारणाको विकास गर्ने र दलका कमजोरी छरपस्ट पार्ने । दल र दलको नेतृत्वलाई रक्षात्मक अवस्थामा पुर्याएर दबाबमा एसपिपी पास गर्ने । यो सूत्र यति बेलै प्रयोगमा आउन सकेन ।
यसका लागि देउवा–केपी तयार देखिएनन् । यसैको परिणाम यही एमसिसीको विकसित रूप भदौ २३ र २४ मा रौद्र रूपमा देखियो । यसपछि बालेन्द्र र सुदन गुरुङ नेपाली राजनीतिको अग्रभागमा देखिए । गगनलाई लाग्यो, पालो मिचियो । थाहै पाएनन् । उनीबाट जे लिनु थियो, लिइसकियो तर पनि महामन्त्रीले दोष जति सभापतिको जिम्मा लाएर घाइते शेरबहादुरलाई त्यही अवस्थामै छोडेर सभापति हत्याउने बाटोमा लागे । अमरेश पनि नयाँ भएर रास्वपा पसेको सायद आँकलन गर्नै सकेनन् । पछि मात्रै थाहा पाए होलान्, उनलाई अनुमोदन गर्न कसैले मानेनन् । उनले एकतामा हैन, विभाजनमा देखेको सम्भावनाको परिणाम कमजोर देखिएको छ । चाहे त्यो पार्टीमा होस् या चुनावमा, छेउमै बसेर च्याँखेदाउ हेरेर बसेका प्रचण्ड पनि हेरेकोहेर्यै हुन पुगे । जेनजी आन्दोलन हाम्रो पनि थियो भन्न भ्याइसकेका प्रचण्डले बुझ्नै सकेनन् । उनको उपयोगिता सकिएको छ । “विधाता” को नियति बेग्लै थियो । हुन त सत्ताबाहिर रहेका उनले देउवाको नियति भोग्नुपरेन ।