रामप्रकाश पुरी ##
श्री विराट अनुपमको पुस्तक “पहिलो आमनिर्वाचन २०१५” यही सालको गत फागुन महिनामा प्रकाशित भएको छ । उहाँको त्यो पुस्तक तयार पार्नुको उद्देश्य के थियो ? त्यो किताबको भूमिका वा “किताबी कुरा” मा २०१५ सालको चुनावलाई “महत्त्वपूर्ण” बताउँदै त्यसलाई नेपालको पहिलो संसदीय निर्वाचनको आँखीझ्याल पनि बताइएको छ । त्यस सन्दर्भमा “पहिलो संसदीय चुनावमा जोडिएका जिउँदो लिजेन्डको अनुभव आओस्” भनेर पनि त्यो किताब लेखिएको बताइएको छ ।
त्यो पुस्तकको दोस्रो परिच्छेद “जिउँदो आर्काइभ” मा लेखिएको छ– “२०८२ फागुन २ गते अस्ताएका विश्वबन्धु थापासँगै नेपालको पहिलो संसदीय राजनीतिक चुनावको एक्ला जीवित विजेता उम्मेदवारको अस्तित्व सकियो तर पहिलो संसदीय चुनावमा लडेका एक्ला जीवित उम्मेदवार अझै जीवित छन् ।”
“२०१४ मा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य भएका मोहनविक्रम सिंह २०१५ को संसदीय उम्मेदवार छान्ने संसदीय बोर्डमा पनि थिए ।” त्यो संसदीय बोर्डमा पुष्पलाल, केशरजङ्ग रायमाझी, तुलसीलाल, डी.पी. अधिकारी, कमर शाह, कृष्णराज बर्मा थिए । त्यो पुस्तकमा अगाडि लेखिएको छ– “अहिले सिंहबाहेक संसदीय बोर्डका कोही जीवित छैनन् ।”
त्यो बेला कम्युनिस्ट पार्टीले १०९ चुनाव क्षेत्रमध्ये ४७ स्थानमा चुनाव लडेको थियो । उनीहरूमध्ये ललितपुरबाट तुल्सीलाल अमात्य, पाल्पाबाट कमलराज रेग्मी, रौतहटबाट शेख फर्मान, हरदयाल महतो निर्वाचित भएका थिए भने राज्यसभामा शम्भुराम श्रेष्ठ निर्वाचित भएको कुराको विवरण पुस्तकमा दिइएको छ तर त्यो बेला पहिलो संसदीय चुनावमा उम्मेदवार भएका वा विजय बनेका सांसदमध्ये अब अरू कोही पनि जीवित नभएको कुरा त्यो पुस्तकमा बताइएको छ । त्यो पुस्तकको विवरणबाट विश्वबन्धु थापाको मृत्युका साथै त्यो बेलाका सबै विजयी उम्मेदवारको मृत्यु भइसकेको कुरा थाहा हुन्छ तर त्यो बेला कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टीबाट उम्मेदवार भएका कुनै उम्मेदवार अहिले कतै जीवित छन् कि छैनन् ? त्यो कुराको विवरण पुस्तकमा दिइएको पाइँदैन । त्यसरी यो कुराको अनुमान गर्न सकिन्छ कि “नेपालको पहिलो आमनिर्वाचन” पुस्तकमा लेखिएजस्तो एक मात्र जिउँदो आर्काइभका रूपमा मोहनविक्रम सिंह नै जीवित छन् ।
त्यो पुस्तकमा यो पनि लेखिएको छ– २०१४ सालमा सम्पन्न नेकपाको काठमाडौँमा सम्पन्न द्वितीय महाधिवेशनमा मोहनविक्रम सिंह केन्द्रीय समितिमा निर्वाचित भएका थिए । पुस्तकका लेखकले सिंहको अन्तर्वार्ताको उल्लेख गर्दै त्यो बेला केन्द्रीय समितिमा चुनिएका सदस्यमध्ये अब अरविन्द रिमाल र उनी मात्र जीवित भएको पनि बताएका छन् तर त्यो बेला पहिलो संसदीय चुनावमा कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार भएका वा विजयी बनेका अन्य व्यक्तिमध्ये अब अरू कोही पनि जीवित नभएको कुरा त्यो पुस्तकमा बताइएको छ । त्यो प्रकृति वा जीवनको अपृय र दु:खद पक्ष हो तर त्यसलाई स्वीकार गर्नुबाहेक हाम्राअगाडि अन्य कुनै विकल्प छैन । त्यो पुस्तकको विवरणबाट विश्वबन्धु थापाको मृत्युका साथै त्यो बेलाका सबै विजयी उम्मेदवारको मृत्यु भइसकेको कुरा थाहा हुन्छ तर त्यो बेला कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टीबाट उम्मेदवार भएका कुनै उम्मेदवार अहिले कतै जीवित छन् कि छैनन् ? त्यो कुराको विवरण पुस्तकमा दिइएको पाइदैन । त्यसरी यो निष्कर्ष निकाल्न सकिन्छ कि नेपालको पहिलो आमनिर्वाचनमा, पुस्तकमा लेखिएजस्तो, एक मात्र जिउँदो आर्काइभको रूपमा मोहनविक्रम सिंह नै जीवित छन् ।
नेपालीमा आर्काइभको अर्थ अभिलेख हुन्छ । त्यसरी उक्त पुस्तकको व्याख्याअनुसार मोहनविक्रम सिंहलाई नेपालको पहिलो आमनिर्वाचनको एक मात्र जिउँदो आर्काइभ बताउन सकिन्छ तर त्यसको अर्काे यो पक्ष पनि उल्लेखनीय छ कि उनी अहिलेसम्म पनि नेपालको राजनीतिक कम्युनिस्ट आन्दोलन वा साहित्यमा पनि जीवित र लगातार क्रियाशील पनि छन् ।
त्यो पुस्तकमा त्यो बेला प्युठानमा भएको आमचुनाव र त्यसमा कम्युनिस्ट पार्टीको तर्फबाट भएका उम्मेदवारको पनि उल्लेख गरिएको छ । त्यो कुराको विवरण दिँदै पुस्तकमा लेखिएको छ– त्यो बेला अहिलेको रोल्पा पनि प्युठानमा नै थियो । त्यो बेलाको रोल्पा र प्युठानको माडीखोला क्षेत्र पर्दथ्यो भने ८५ नम्बरको निर्वाचन क्षेत्रमा प्युठानको बाँकी भाग पर्दथ्यो । त्यो बेला कम्युनिस्ट पार्टीको तर्फबाट प्युठानको ८३ नम्बर क्षेत्रमा खगुलाल गुरुङ, ८४ नम्बरमा श्यामबहादुर थापा र ८५ नम्बर क्षेत्रमा मोहनविक्रम सिंह उम्मेदवार थिए । ती तीनओटै क्षेत्रमा नेपाली कङ्ग्रेसका उम्मेदवार विजय भएका थिए भने कम्युनिस्ट पार्टीका तीनै जना नै उम्मेदवार पराजित भएका थिए । त्यो बेला ८३ नम्बर क्षेत्रबाट नेपाली कङ्ग्रेसका खडानन्द पाध्या, ८४ नम्बर निर्वाचन क्षेत्रबाट अनिरुद्र उपाध्याय र ८५ नम्बर क्षेत्रबाट पुरुषोत्तम शर्मा विजय भएका थिए ।
त्यो बेला प्युठानमा क्षेत्र नं. ८५ बाट नेपाली कङ्ग्रेसका पुरुषोत्तम शर्मा विजय बनेका थिए भने मोहनविक्रम सिंह दोस्रो स्थानमा आएका थिए । कङ्ग्रेसका उम्मेदवारले ३,९८७ मत प्राप्त गर्दा मोहनविक्रम सिंहले २,५४६ मत प्राप्त गरेका थिए । त्यो बेला नेपाली कङ्ग्रेसको उम्मेदवार विजय हुनुको कारण के थियो ? विजय हुनुको कारणलाई मोहनविक्रम सिंहले वास्तविक नभएर “प्राविधिक” बताएका छन् । त्यस सन्दर्भमा लेखकले त्यसबारे सिंहसित अन्तर्वार्ता लिँदा उनले बताएका थिए– “नेकपाको राम्रो आधार मानिने प्युठानमा काङ्ग्रेसले किन जित्यो भन्नेमा सिंहले प्राविधिक कारण सुनाए । ‘सही चुनाव भएन’ उनले विस्तारमा भने– ‘अहिले इन्डिया र नेपालमा चुनाव फरकफरक मितिमा भए पनि मत सबै जम्मा गरेर एकैपटक गनिन्छ । नेपाली कङ्ग्रेसले पूर्वमा चुनाव गर्ने तुरुन्त मतघोषणा गर्ने । पूर्वमा नेपाली कङ्ग्रेस बलियो थियो । बी.पी. पूर्वकै थिए । पूर्वको जित हुँदै आएको थियो । त्यसको असर पश्चिममा पर्यो । त्यो सही थिएन । प्युठानसम्म आउँदा पाल्पा, पोखरा, काठमाडौँ सबैतिरको गणना घोषणा भइसकेको थियो । त्यसले मत र मनोविज्ञानमा धेरै प्रभाव पार्यो ।”
यो कुरा स्पष्ट छ कि २०१५ सालमा चुनाव र मतगणनाको जुन विधि अपनाइयो, त्यो अवश्य पनि प्रजातान्त्रिक पद्धति थिएन । पछि त्यो अन्तर्वार्तामा बताइएजस्तै नेपाल वा भारतमा चुनाव बेग्लाबेग्लै मितिमा भए पनि मतगणना एकैदिनमा गर्ने गरिन्छ । एक ठाउँको चुनावको परिणामबाट अन्यत्रको चुनाव प्रभावित नहोस् भन्नका लागि त्यसो गर्ने गरिन्छ तर त्यो बेला स:नियत नै अप्रजातान्त्रिक तरिकाले चुनाव गराएर बहुमत प्राप्त गर्नका लागि मत गणनाको त्यस प्रकारको विधि अपनाइएको थियो । इतिहासले नेकाले त्यो बेला अपनाएको त्यस प्रकारको मत गणनाको विधि अप्रजातान्त्रिक थियो भन्ने कुरा प्रमाणित गर्छ ।
त्यो पुस्तकमा त्यो बेलाको चुनाव सञ्चालनको लागि नेपाली कङ्ग्रेसका तर्फबाट १० जना र कम्युनिस्ट पार्टीका तर्फबाट ७ जना कमान्डर तोकिएको चर्चा गरिएको छ । नेपाली कङ्ग्रेसबाट बेग्लाबेग्लै क्षेत्रका लागि तोकिएका कमान्डरको नाम यस प्रकार छ : १. विश्वेश्वरप्रसाद कोइराला, २. रुद्रप्रसाद गिरी, ३. सुवर्णशमशेर, ४. गणेशमान सिंह, ५. सूर्यप्रसाद उपाध्याय, ६. टेकबहादुर पन्थी, ७. भरतमणि शर्मा, ८. ललित चन्द, ९. शिवराज पन्त, १०. महेन्द्रविक्रम शाह ।
त्यसै गरेर कम्युनिस्ट पार्टीका तर्फबाट बेग्लाबेग्लै क्षेत्रका लागि तोकिएका कमान्डरको नाम यस प्रकार छ : १. केशरजङ्ग रायमाझी, २. पुष्पलाल, ३. तुलसीलाल, ४. डी.पी. अधिकारी, ५. कमर शाह, ६. कृष्णराज बर्मा, ७. मोहनविक्रम सिंह ।
त्यो पुस्तकमा प्रथम आमचुनावमा नेकपाका तर्फबाट बनेका उम्मेदवारको नाम पनि दिइएको छ, जो निम्न प्रकार छ : काठमाडौँ उपत्यका क्षेत्र नं. १ पुष्पलाल, क्षेत्र नं. २ शम्भुराम श्रेष्ठ, ललितपुर उपत्यका क्षेत्र नं. ३ तुलसीलाल, भक्तपुर उपत्यका क्षेत्र नं. ४ गणेशप्रसाद मानन्धर, रामेछाप उत्तर आलामपुर क्षेत्र नं. १४ वासुदेव श्रेष्ठ, सिन्धुली क्षेत्र नं. १५ रामहरि बराल, भोजपुर मध्य क्षेत्र नं. १९ हर्षबहादुर श्रेष्ठ, भोजपुर उत्तर पूर्व क्षेत्र नं. २१ महेन्द्रबहादुर राई, धनकुटा दक्षिण पश्चिम क्षेत्र नं. २२ भरतराज जोशी, इलाम मध्यपूर्व क्षेत्र नं. २९ ज्ञानीराम भट्टराई, झापा क्षेत्र नं. ३० गोपालचन्द्रसिंह प्रसाई, मोरङ विराटनगर पूर्व क्षेत्र नं. ३१ हरिप्रसाद उपाध्याय, मोरङ विराटनगर उत्तर पश्चिम क्षेत्र नं. ३३, दिव्यराज आचार्य, सप्तरी पूर्वान्त क्षेत्र नं. ३५ गुगाई यादव, सप्तरी मध्य क्षेत्र नं. ३६ कमर शाह जिसी, सप्तरी पश्चिम क्षेत्र नं. ३७ कृष्णराज बर्मा जिसी, सप्तरी पश्चिम धछवार क्षेत्र नं. ३८ चन्द्रशवशलाल दास, सिरहा मध्य क्षेत्र नंं. ३९ राम शर्मा, सिरहा पश्चिम क्षेत्र नं. ४० जयगोविन्द तेली, महोत्तरी दक्षिण पूर्व क्षेत्र नं. ४१ महेन्द्र चौधरी, महोत्तरी दक्षिण पूर्व क्षेत्र नं. ४२ पाण्डवराज बटेश्वर, महोत्तरी प्रगन्ना पूर्व क्षेत्र नं. ४४ गणेश ठाकुर, महोत्तरी प्रगन्ना पश्चिम क्षेत्र नं. ४५ विजेन्द्रनाथ झा, असिभौ कोद्राहा क्षेत्र नं. ४६ कृष्णप्रसाद रजखोर, सर्लाही पश्चिम क्षेत्र नं. ४७ शङ्करलाल श्रेष्ठ, रातहट पश्चिम दक्षिण क्षेत्र नं. ४८ भोला ठाकुर, रौतहट मध्यपूर्व क्षेत्र नं. ४९ शेख फर्मान, रौतहट उत्तर दोस्तिया क्षेत्र नं. ५० हरदयाल महतो, बारा मध्यदक्षिण क्षेत्र नं. ५१ हरिहर मेषा, बारा मध्यउत्तर क्षेत्र नं. ५२ मधु सिंह, चिसापानी चितौन क्षेत्र नं. ५६ सङ्घरत्न तुलाधर, पाल्ही पश्चिम माझखण्ड मध्य क्षेत्र नं. ५८ पूर्णबहादुर मल्ल, माझखण्ड पश्चिम क्षेत्र नं. ५९ लक्ष्मीनारायण पाण्डे, दाङदेउखुरी दक्षिण पूर्व क्षेत्र नं. ६२ नारायण प्रसादशर्मा, बाँके क्षेत्र नं. ६३ रूपसिंह क्षेत्री, बर्दिया क्षेत्र नं. ६४ भगवान, दैलेख पूर्व क्षेत्र नं. ७७ निर्मल लामा, सल्यान दक्षिण पूर्व फलाङ क्षेत्र नं. ८० छबिलाल थारू, प्युठान उत्तर पश्चिम क्षेत्र नं. ८३ श्यामबहादुर थापा, प्युठान मध्यपूर्व क्षेत्र नं. ८४ खगुलाल गुरुङ, प्युठान पूर्व दक्षिण क्षेत्र नं. ८५ मोहनविक्रम घर्तीक्षेत्री, पाल्पा पश्चिम क्षेत्र नं. ९३ केशरजङ्ग रायमाझी, पाल्पा पूर्व क्षेत्र नं. ९४ कमलराज रेग्मी, पोखरा दक्षिण पश्चिम क्षेत्र नं. १०२ तुलसीप्रसाद श्रेष्ठ, पोखरा दक्षिण पूर्व क्षेत्र नं. १०३ एकदेव मगर, गोर्खा उत्तर क्षेत्र नं. १०४ जगतबहादुर श्रेष्ठ, गोर्खा दक्षिण क्षेत्र नं. १०५ हिक्मतसिंह भण्डारी ।
श्री विराट अनुपमले करिब साढे ६ दशकभन्दा पहिले सम्पन्न नेपालको प्रथम संसदीय चुनावबारे गहन अध्ययन र अनुसन्धान गरेर त्यस सम्बन्धि महत्त्वपूर्ण सामग्री हाम्राअगाडि ल्याउनु भएको छ । त्यसरी उहाँले नेपालको राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण कडीमाथि प्रकाश हाल्ने काम गर्नुभएको छ । नेपालको प्राग्इतिहास, प्राचीन इतिहास र मध्यकालिन इतिहासबारे मात्र होइन, आधुनिक इतिहाससित सम्बन्धित कैयौँ पक्षबारे पनि अध्ययन, अनुसन्धान गरेर प्रकाश हाल्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा अहिले उहाँले अगाडि ल्याएको “पहिलो आमनिर्वाचन–२०१५” अवश्य पनि प्रशंसनीय कार्य हो र त्यसका लागि हामीले उहाँलाई धेरै धन्यवाद दिनुपर्दछ । त्यस सिलसिलामा उहाँले नेपाल कम्युनिस्ट पार्टीका पुराना करिब करिब विस्मृतिको गर्भमा बिलाइसकेका तथ्यलाई अगाडि ल्याएर जुन योगदान दिनुभएको छ, त्यसका लागि पनि हामीले उहाँलाई धन्यवाद दिन्छौँ । उहाँले गरेको अथक अध्ययन र अनुसन्धानका लागि हामी उहाँप्रति अत्यन्त आभारी छौँ ।