#काजिराम श्रेष्ठ
रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनीहरूको घर मात्र होइन मन पनि जोडिएको छ । मेलापात सुख दुःखमा उनीहरू सँगै हुन्थे । वन जंगल जाँदा, पधेँरा जाँदा मेला पर्म जाँदा उनीहरूका श्रीमतिहरू सल्लाह गरेरसँगै जान्थे । उनीहरूका केटाकेटीहरू पनि खेल्दा गाइगोठालो जाँदा सँगसँगै जान्थे । यसरी हेर्दा उनीहरूको पुरै परिवार एक आपसमा मिलेर बसेको देखिन्थ्यो ।
सधैंझैँ एकदिन उनीहरूको छोराछोरीहरूले गाइभैंसी फुकाएर चराउन लगे । वस्तुभाउलाई ठूलो चौरभित्र छोडेर छोराछोरी खेल्नतिर लागे । उनीहरू खेल्दै घरिघरी गाइभैंसीलाई पनि हेर्दथे । गाइभैंसी पनि आफ्नै सुरमा चरिरहेका हुन्थे । चौर कट्ने बेला चैं अरुको बाली खान पुग्ला भनेर उनीहरू आ–आफ्नो वस्तुभाउ फर्काउन जान्थे ।
एकदिन गाइभैँसी चराउँदै गर्दा केटाकेटीलाई तिर्खा लाग्यो । रामबहादुरको छोरा कर्कलोको पात लिएर अलि परको तुरतुरे धारामा पानी लिन गयो । हरिबहादुरको छोरालाई गाइवस्तु हेर्ने जिम्मा पर्यो । चैतमासको टन्टलापुरे घाम, उखुम गर्मी । हरिबहादुरको छोरा गाइभैँसी हेर्दै चौतारीमा बस्यो । चौतारीमा सिरसिर हावाले शितलता प्रदान गरिरहेको थियो । ऊ मुग्ध भएर यसो पल्टेर हावा खाँदै थियो हरिबहादुरको छोरा भुसुक्क निदायो ।
पानी लिन गएको रामबहादुरको छोरा कर्कलोको पातमा पोको पारेर पानी लिएर आयो र सुतिरहेको हरिबहादुरको छोरालाई ब्युँझाएर पानी खान दियो । पानी खाना साथ हरिबहादुरको छोराले सरर गाईवस्तुतिर नजर डुलायो । दोहर्याएर हेर्दा पनि उसले माली गाइलाई देखेन । तत्पश्चात उनीहरू माली गाईलाई खोज्न निस्किए । निकै बेर खोजेपछि हरिबहादुरको माली गाई रामबहादुरको मकैबारीमा भेटियो । माली गाईले हरिया घोगा हालिसकेका मकैका दुइटा गरा चैट पारेछ । तत्पश्चात दुई गोठालोको भनाभन भयो । भनाभन धक्कामुक्कामा बदलियो । रामबहादुरको छोराको नाकमा हरिबहादुरको छोराको मुक्का बज्रीयो । मुक्का खानेको नाकबाट रगतको धारा चुहियो । रामबहादुरको छोरा चिच्याउँदै घरतिर दौड्यो र आमालाई सम्पूर्ण बेलिबिस्तार लगायो । छोराको हालत देखेर आमाको मन न हो, दुख्यो । तत्पश्चात दुबैको आमा विच दोहरी चल्यो ।
बेलुकी दुबैले आ–आफ्नो लोग्नेलाई कुरा लगाए । फलतः दुबैको लोग्नेविच हात हालाहाल भयो, दुबैका स्वास्नीले आ आफ्नो लोग्नेलाई तानेर घरभित्र लगे । दुबैले एक अर्काको सेखी झार्ने विचार गरे । मर्का धेरै रामबहादुरलाई परेको थियो । भोलिपल्ट समाज जोड्ने उसको धम्कीले हरिबहादुरको अहममा ठेस पुगेको महसुस भयो । त्यो सम्झदा हरिबहादुरको रिसको पारो निकै माथी चढ्यो । उसलाई आधारातसम्म निद्रा परेन । त्यसपछी तुरुन्तै सलाई लिएर रामबहादुरको खरको पालीमा आगो सल्काएर ओछ्यानमा पल्ट्यो र मस्त निद्रामा सुत्यो । आगो सल्किएर रामबहादुरको पालीबाट धुरी हुँदै हरिबहादुरको धुरी नाप्न पुग्यो । आगोले न रामबहादुरको घर चिन्यो न हरिबहादुरको घर चिन्यो ।