काठमाडौँ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले गणतन्त्रमाथि भइरहेको आक्रमणका विरुद्ध एकजुट हुन सम्पूर्ण न्यायपूर्ण जनमुदायलाई आह्वान गरेको छ ।
सङ्घर्ष समितिको तर्फबाट संयोजक दलजित श्रीपालीले २०८२ जेठ १५ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै सो आह्वान गरिएको हो ।
वक्तव्यमा २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र परिवर्तन पक्षधर नेपालका दलितलगायत सम्पूर्ण नेपाली जनताले विजय हासिल गरेको सङ्घर्षको प्रतिफल भएको बताइएको छ ।
गणतन्त्र स्थापनाको यति लामो समय भइसक्दा पनि दलित जातिसमेतका समस्या समाधान नभएकोमा वक्तव्यमा असन्तुष्टि व्यक्त गरिएको छ ।
“तर शासनसत्ताको आधारभूत चरित्र, चिन्तन, सोच, शैली र संस्कारमा अपेक्षित रूपमा परिवर्तन हुन नसकेको हुनाले सबैभन्दा उत्पीडन तथा विभेदको मार नेपालमा दलित समुदायले खेप्नुपरेको छ” वक्तव्यमा अगाडि भनिएको छ– “यसले केवल दलित समुदाय मात्र होइन, आज लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै क्रमशः आक्रमण भइरहेको सर्वविदितै छ ।”
वक्तव्यमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न आग्रह गरिएको छ ।
संयुक्त सङ्घर्ष समितिमा जातीय समता समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित सङ्घ, नेपाल उत्पीडित दलित मुक्ति समाज, नेपाल दलित मुक्ति सङ्गठन, श्रमिक समुदाय मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र, समाजवादी दलित मुक्ति मोर्चा, समाजवादी दलित मुक्ति सङ्गठन, नेपाल समाजवादी दलित मुक्ति सङ्गठन र समाजवादी दलित शिल्प मुक्ति सङ्गठन सहभागी छन् ।

