• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रेमको कथा विश्वको दर्शन हो ‘कामरेड जलजला’ : मोहनविक्रम सिंह (भिडिओ अन्तर्वार्ता)


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • ने.क.पा. (मसाल)का महामन्त्री एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘का. जलजला’ अबको केही दिनमा पाठकहरूको हातमा आउँदैछ ।

    Advertisement

    सिंहले झण्डै २३ वर्ष लगाएर लेख्नुभएको यो उपन्यास लेखनको सुरुवातदेखि नै चर्चामा छ । पाँच लाख शब्द रहेको यस पुस्तक १,३२० पृष्ठको छ । त्यसमा करिब ५०० पात्रहरू छन् । पुस्तक दुई खण्ड, आठ भाग, ७० परिच्छेद र २७२ अङ्कमा विभाजित छ ।

    ३ हजार रुपैयाँ मूल्य तोकिएको यस उपन्यासको विमोचन आगामी मंसिर १५ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा दिउसो १ बजे हुँदैछ ।

    वास्तवमा का. जलजला उपन्यासको सार के हो ? उच्च राजनीतिक जिम्मेवारीसँगै यति ठुलो पुस्तक तयार पार्न कसरी सम्भव भयो ? यसका विषयवस्तु र पात्रहरू के हुन् ? यिनै विषयवस्तुमा केन्द्रित रहेर हामीले उपन्यासका लेखक मोहनविक्रम सिंहसँग कुराकानी गरेका छौँ ।

    दुई दशकभन्दा बढी समय लगाएर ‘का जलजला’ तयार पार्नुभएको छ । यो उपन्यासलाई यहाँले कसरी चिनाउन चाहनुहुन्छ ?
    यो उपन्यासमा विश्वलाई हेर्ने दृष्टिकोण समाविष्ट भएको छ । माक्र्सवादी लेनिनवादी दर्शनले यो मान्दछ कि, संसारका प्रत्येक चिज, प्रत्येक व्यक्ति सम्पूर्ण विश्वको अङ्ग हो । विश्वसँग त्यसको घनिष्ट सम्बन्ध छ । एउटा व्यक्तिमा सारा विश्व समावेश भएको हुन्छ । एउटा व्यक्ति पनि सम्पूर्ण विश्वसँग मिलेको हुन्छ । व्यक्तिसँग विश्वको अभिन्न सम्बन्ध छ ।
    त्यसैले यो उपन्यासलाई मैले सम्पूर्ण विश्वलाई, जीवनलाई हेर्ने एउटा माध्यमको रूपमा लिएको छु । जस्तो कि उपन्यासको प्राक्कथनमा भनिएको छ, ‘जलजला सम्पूर्ण विश्वमा अन्तरनिहित छन् र सम्पूर्ण विश्व जलजलामा अन्तरनिहित छ ।’ त्यसको अर्थ उनको कुनै असाधारण व्यक्तिव्व थियो भन्ने होइन । माक्र्सवादी– लेनिनवादी सिद्धान्तको सार पनि यही हो । लेनिनले भनेका छन्, प्रत्येक व्यक्ति विश्वमा अन्तरनिहित हुन्छन् र प्रत्येक व्यक्तिमा विश्व अन्तरनिहित हुन्छ । त्यही प्रकारको सोचाइ हेगेलको पनि रहेको छ ।

    त्यसैले यो उपन्यास जलजलासित सम्बन्धित भएपनि त्यसमासम्पूर्ण विश्व, समाज र मानव जीवनलाई अध्ययन गर्ने प्रयत्न गरिएको छ । पूरै उपन्यासको रचना त्यही दृष्टिकोणद्वारा निर्देशित छ ।

    का. जलजला राजनीतिक इतिहास हो वा साहित्यिक कृति ? वा यो दुवैको मिश्रण हो ?
    सम्भवतः यो धेरै कुराको मिश्रण हो । यसमा दर्शन छ । राजनीति छ । यो ऐतिहासिक उपन्यास पनि हो । नेपालको मात्रै होइन, विश्वका पनि धेरै ऐतिहासिक प्रशङ्गहरू यसमा समाविष्ट छन् । साथै यो अन्तर्राष्ट्रिय उपन्यास पनि हो किनभने यसमा सारा विश्वको अध्ययन गर्ने प्रयत्न गरिएको छ । महासागरहरूदेखि लिएर सुदुरअन्तरिक्षसम्मको अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यसमा जीवनका धेरै पक्षहरूलाई अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यो उपन्यासले प्रकृतिलाई पनि विस्तृत र गहन प्रकारले अध्ययन गर्ने प्रयत्न गरेको छ । हिमालयदेखि अन्तरिक्षको रहस्य र महासागरहरूको गहिराइसम्म माथि त्यो उपन्यासले प्रकाश हाल्ने प्रयत्न गरेको छ ।

    साथै यसमा कम्युनिस्ट आन्दोलनको बिस्तृतरूपमा समीक्षा गर्ने प्रयत्न गरिएको छ । समाजवाद आजको विश्वको ऐतिहासिक आवश्यकता हो । कम्युनिस्टहरूको दृष्टिकोण, क्रियाकलाप, चिन्तनमा जुन बिचलन आएको छ, त्यसले गर्दाखेरी कम्युनिस्ट आन्दोलन धेरै कमजोर बनेको छ । यसको कारण के हो ? त्यसबारे पनि त्यो पुस्तकले समीक्षा र विवेचना गर्ने काम गरेको छ । त्यसैले यो पुस्तकमा एकै साथ धेरै कुराहरुको समिश्रण हुन गएको छ ।

    का. जलजला लेखनको सोच कसरी आयो ? यसको सुरुवात कसरी गर्नुभयो ?
    का. जलजला उपन्यास वास्तवमा कैयौँ कुराहरूको सम्मिलित परिणाम हो । पहिलो कुरा त म हाइस्कुलमा पढ्दादेखि नै मेरो कथा लेखनतिर रुचि थियो । तर मैले जुन कथाहरू लेखेँ, ती सबै जसो हराउँदै गए । जस्तो २००९–१० सालतिर मैले एउटा कथा लेखेँ, जस्तोकि इलाम वा झापामा एउटा राष्ट्रिय कथा प्रतियोगिताको आयोजना गरिएको थियो । पछि समाचारमा पढेँ, मेरो त्यो कथा प्रथम भएर पुरस्कृत भएको रहेछ। त्यो कथा मैले फेरि पछि कहिँ पाइन ।

    त्यस्तै मैले कैयौँ उपन्यासहरू लेखेँ । खासगरीपाल्पा जेलमा हुँदाखेरी मैले दुईवटा उपन्यास लेखेँ । ती उपन्यासहरु एकजना मित्रलाई राख्न दिएको थिएँ । पछिती सबै नष्ट भए । तौलिहवा जेलमा लेखेको उपन्यास पनि नष्ट भयो । पछि मैले कैयौँ उपन्यास लेख्दै गएँ । यो उपन्यास बाहेकमैले अहिलेसम्म पाँचवटा उपन्यास लेखिसकेको छु । त्यसमध्येमा तौलिहवा जेलमा लेखेको ‘ओखरकोट’ उपन्यास विशेषरूपले उल्लेखनीय छ । त्यसलाई पूरा गर्न मलाई ४ बर्ष लागेको थियो । त्यो जेलको पूरैजसो अवधी मैले एउटै उपन्यासको लेखनमा लगाएको थिएँ । त्यो उपन्यासको सम्पूर्ण क्षेत्र ओखरकोट मात्रै थियो । ओखरकोटसँग सम्बन्धित त्यो उपन्यास पछि जेलबाट चलान हुँदा मैले टेकबहादुर पन्थीलाई राख्न दिएँ । म जेलमा भएकै बेला उहाँको निधन भयो ।

    त्यसैगरी पाल्पा जेलमा लेखेका धेरै कथाहरू थिए । ती पनि नष्ट भए । एउटै मात्र बच्यो, ‘त्यो’ । त्यो कथाकतिपय पत्रिकाहरूमा छापिएको पनि छ ।अरू सबै नष्ट भए । यसरी कथा र उपन्यासबारे मेरो लामो समयदेखिको दुखान्त कथा रहेको छ । त्यस प्रकारको पृष्ठभूमिमामैले ‘कामरेड जलजला’ उपन्यास लेख्ने प्रयत्न गरेको हुँ ।

    अर्को कुरा, हाईस्कुलमा पढ्ने बेलामा मेरो बढी रुचि इतिहास बिषयमा नै थियो । मैले सोचेको थिएँ, मैले आफ्नो सारा जीवन इतिहासको अध्ययन र अनुसन्धानमा लगाउनेछु । मेरो त्योइच्छा पूरा हुन पाएन । प्रस्तुत इतिहासमा मैले इतिहासको पक्ष माथि पनि धेरै ध्यान दिएको छु । उदाहरणका लागि, यो उपन्यासको एउटी महत्वपूर्ण पात्र सुनन्दा हुन् । उनी जेएनयू युनिभर्सिटीकी इतिहासकी शोध छात्रा हुन् । उनको माध्यमबाट मैले मेरो इतिहासप्रतिको दबेको रुचिलाई अगाडि राख्ने प्रयत्न गरेको छु ।

    उपन्यास लेख्नुको अर्को कारण जलजलाको मृत्यु पनि हो । जलजलाको मृत्युबाट मलाई धेरै दुःख पुग्यो । त्यसकारण उनको स्मृतिमा मैले उपन्यास लेख्ने कोशिश गरेँ जस्तोकि, साहजाहँले मुमताजको स्मृतिमा ताजमहल बनाए । त्यस्तै खड्ग शमशेरले रानी तेजकुमारीको स्मृतिमा गण्डकीको घाटमा दरबार बनाए । त्यस्तै माधव घिमिरेले आफ्नी पत्नी गौरीको समझनामा गौरी काव्य लेख्नुभयो । यो पनि एक प्रकारले भन्ने हो भने मेरो जलजलाप्रतिको प्रेमको एउटा स्मृति, उपहार पनि हो । यसरी उपन्यास लेखनमा अरु पनि धेरै चिजले काम गरेका छन् ।

    यो उपन्यास लेख्न मलाई करिब २३ वर्षलाग्यो । उपन्यास लेख्ने काम बाहेक मैले पार्टीका अरु जिम्मेवारीहरु पनि पूरा गर्नु पर्दथ्यो । अरु पुस्तक र लेखहरू लेख्ने काम पनि गर्नु पर्दथ्यो ।त्यसैले उपन्यास पूरा गर्न धेरै समय लाग्यो ।

    यहाँले जेलमा बस्दा लेखेका कैयौँ कृति हराए भन्नुभयो । हराए वा छापिन पाएनन् ? के कामरेड जलजलाले तिनको अभाव पूर्ति गर्छ ?
    अब पूर्ति नै गर्न सक्छ त नभनौँ । पहिले लेखेका कथा वा उपन्यासहरू बेग्लाबेग्लै सन्दर्भमा लेखिएका थिए । तिनका विषयबस्तु बेग्लाबेग्लै थिए । उदाहरणका लागि ओखरकोटमा लेखिएको उपन्यास ओखरकोटसँग सम्बन्धित थियो । त्यो उपन्यास मैले ४ भागमा लेख्ने योजना बनाएको थिएँ । पहिलो भाग कोटसित मात्रै सम्बन्धित थियो । त्यहाँको इतिहास र संस्कृति, त्यहाँको जीवन, त्यहाँको चालचलन, पात्रहरू पनि त्यहीँका थिए ।

    दोस्रो भाग २००७ सालको आन्दोलनसित सम्बन्धित थियो । तेस्रो भाग प्युठानको रातामाटामा चलेको शिविरसित समबन्धित थियो । चौथो भाग कम्युनिस्ट आन्दोलनसित समबन्धित थियो । तर पहिलो भाग नै हराएको हुनाले मैले अरु बाँकी भागहरु लेख्ने कामलाई पनि निरन्तरता दिन सकिन । काठमाडौंको हनुमानढोका खोरमा बस्दा मैले ‘बुढा बा’ शीर्षकको एउटा उपन्यास लेखेको थिएँ । त्यो उपन्यास पाल्पा जेलमा लेखेको ‘बुढा बा’ उपन्यासको परिमार्जित रुप थियो । पाल्पा जेलमा लेखेको उपन्यास ‘बुढा बा’ खाली प्यूठानको किसान आन्दोलनसित मात्र सम्बन्धित थियो भने काठमाडौंको हनुमान ढोका खोरमा लेखेको उपन्यास नेपालको सम्पूर्ण किसान आन्दोलन र कम्युनिस्ट आन्दोलन समेतसित सम्बन्धित थियो । तर त्यो पनि कतै हरायो ।

    पछि लेखेको ‘तारा’ उपन्यास एउटा सामान्य प्रकारको प्राकृतिक जीवनसित सम्बन्धित थियो । त्यसमा प्रकृतिको सौन्दर्यको चर्चा गरिएको थियो ।

    त्यो बेलाका ती उपन्यासहरूका कैयौँ अंश यसमा (कामरेड जलजलामा) सामेल छन् । जस्तो, ओखरकोटको विषय । यो उपन्यासमा ओखरकोट भन्ने एउटा बेग्ले परिच्छेद छ । त्यसमा त्यहाँको जनजीवन, इतिहास, त्यहाँको विकास कार्यक्रमहरु आदि सामेल गरिएका छन् । पहिलेकाउपन्यासका कैयौँ विषयबस्तुहरु प्रस्तुत उपन्यासमा पनि सामेल गरिएका छन् । यसले ती सबैको पूर्ति गर्छ भन्ने होइन, तैपनि मेरा पहिले हराएका उपन्यासहरू कुनै न कुनै रूपमा एक वा अर्को प्रकारले यो उपन्यासमा पनि प्रतिबिम्बित भएका छन् । ‘ओखरकोट’ उपन्यासका मुख्य पात्रहरु हर्के र उजेली थिए । ती दुबै पात्रहरु ‘कामरेड जलजला’मा पनि सामेल गरिएका छन् । प्रस्तुत उपन्यासमा ‘हर्के र उजेली’ शिर्षकको एउटा बेग्लै परिच्छेद नै छ । त्यो एउटा उदाहरण मात्र हो ।

    यहाँले भने अनुसार यसका पात्रहरूले नेपालको रोल्पा, प्युठानदेखि भारतको कुमाउ गढवालसम्म, जर्मनदेखि अन्तरिक्षसम्मको वर्णन गरेका छन् । ती पात्रहरूमार्फत त्यसखालको ब्याख्या गर्न कसरी सम्भवव भयो ?
    मैले भनिसकेँ, माक्र्सवादी दर्शनले कुनै एउटा चिजलाई समग्र रूपमा वा समष्टिगत रुपमा बुझ्ने प्रयत्न गर्छ । जस्तो लेनिनको भनाइ छ, एउटा व्यक्ति बेग्लै हुँदैन । ऊ सम्पूर्ण विश्वको अंश हुन्छ । विश्व उसमा अन्तरनिहित भएको हुन्छ । सम्पूर्ण विश्व व्यक्तिमा अन्तरनिहित भएको हुन्छ ।

    त्यस्तै, मैले प्रस्तुत उपन्यासमा सबै चिजलाईसमग्र रूपमा बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । त्यसैले यो उपन्यासमा मैले जलजलाको विषयमा लेख्न थाल्दा या कतिपय पात्रहरूको चित्रण गर्न थाल्दा, तिनको बारेमा लेख्न थाल्दा, उनीहरुको सम्पूर्ण संसारसितको सम्बन्ध बारे हेर्ने प्रयत्न गरेको छु । त्यसको अर्थ प्रत्येक व्यक्तिको सम्पूर्ण विश्वसित र विश्वको प्रत्येक व्यक्तिसित सम्बन्ध जोडिएको हुन्छ भन्ने दार्शनिक सोचाइले नै काम गरेको हुन्छ भन्नु हो । जस्तो कि, प्रस्तुत उपन्यासको प्राक्कथनमा नै लेखिएको छ, जलजला एउटी व्यक्ति मात्रै होइनन्, उनको लामो इतिहास छ । प्रत्येक व्यक्तिको त्यही प्रकारको इतिहास हुन्छ ।हरेक व्यक्ति लामो इतिहासको परिणाम हुन्छ । किनभने संसारमा मानव जीवन प्रारम्भ नभएको भए हामी कुनै व्यक्ति हुने थिएनौँ । कैयौं ग्रहहरूमा जीवन नै छैन । सृष्टिको एउटा खास विकास वा चरणको परिणामस्वरूप नै पृथ्वीमा जीवनको उत्पत्ति भएको हो ।

    त्यस्तै, नेपालमा बस्ने विभिन्न जातिहरू कहाँ–कहाँबाट आयौँ? खस जातीहरू कति लामो प्रक्रियाद्वारा यहाँ आएका छन् ? त्यही प्रकारले थारु, मगर, गुरु∙, नेवार वा तराईमा बस्ने विभिन्न जातिहरुको पनि नेपालमा आउनु भन्दा पहिलेको बेग्लाबेग्लै प्रकारको लामो इतिहास हुन सक्दछ ।

    जलजला काठमाडौँको बत्तिसपुतलीमा जन्मिइन् । चितवनको तोरिखेतमा हुर्किईन् ।त्यसका पछाडि लामो इतिहास छ ।
    त्यस्तै, सुनन्दा उपन्यासकी अर्की महत्त्वपूर्ण पात्र हुन् । उपन्यासको प्राकथनमा नै लेखिएको छ, सुनन्दाबिना यो उपन्यास अगाडि बढ्न सक्दैन । सुनन्दा सौका जनजातीकी कन्या हुन् । उनको घर कुमाउ हो ।नेपालको दार्चुलापारि इन्डियाको धार्चुला छ । त्यसमा एउटा दार्माप्रगन्ना छ । दार्मा प्रगन्नाअन्तर्गत दाँतु गाउँ छ । त्यहाँको सौका जातीमा उनी जन्मिइन् । उनले जेएनयू युनिभर्सिटीबाट पीएचडी गर्न थाल्छिन् । त्यसरी उनी सम्पूर्ण कुमाउको इतिहाससित जोडिएकी छन् । उनी त्यहाँको प्रकृति, त्यहाँको जनजीवन, त्यहाँको मानवजीवन, त्यहाँको इतिहास र सँस्कृतिकि सम्मिलित गरिणाम हुन । यसरी कुनै एउटा सामन्य विषयलाई पनि यो उपन्यासमा बिस्तृत रूपले अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

    त्यसैगरेर नेपालको कम्युनिस्ट आन्दोलन यहाँको मात्रै बेग्लै कम्युनिस्ट आन्दोलन होइन । विश्व कम्युनिस्ट आन्दोलनको इतिहास हो । त्यसको सम्बन्ध विश्वको सम्पूर्ण कम्युनिस्ट आन्दोलनसित जोडिएको छ । त्यसको विकाश र पतन एउटा बेग्लै प्रक्रिया होइन र त्यसको सम्पूर्ण प्रक्रिया विश्व कम्युनिस्ट आन्दोलनसित जोडिएर नै अगाडि बढ्दछ । त्यो, सारा विश्वको कम्युनिस्ट आन्दोलनसँग जोडिन्छ । भनाइको अर्थ मैले सबै पात्रहरूलाई त्यही रुपमा बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छु ।

    जस्तो, जर्मन गएर हेरौँ, जर्मनको इतिहासविश्वकै इतिहासको अङ्ग हो । त्यहाँको दर्शन वा आन्दोलनको पृष्ठभूमि वा त्यहाँको साहित्यको पृष्ठभूमि बारे विचार गरौं । कार्ल माक्र्स त्यहीँ जन्मिएका हुन् । त्यहाँ हिटलरले यहुदीविरुद्ध नरसंहार गर्यो‌ । त्यहाँ फासिवाद विरुद्ध ठूलो संघर्ष भयो । त्यहाँको कम्युनिस्ट आन्दोलन ती सबै कुराहरुसित जोडिएको छ । यस्तै, भारतको इतिहास अत्यन्त गौरवमय छ । ठिक त्यस्तै प्रकारले त्यहाँको कला, संस्कृति सबै महत्त्वपूर्ण छन् । उपन्यासमा जोनअफ अर्कको चर्चा छ । उनी १७ वर्षीयाफ्रेन्च युवती थिइन् । उनले अंग्रेजका विरुद्धको युद्धमा ठूलो विरता देखाएकी थिइन् । अन्त्यमा उनलाई अङ्ग्रेजले पक्रेर ज्युँदै आगोमा जलाएर मारे ।

    उपन्यासमा यस प्रकारका सबै घटनाहरुलाई विश्व इतिहासका अङ्गका रुपमा हेर्ने वा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । माक्र्सवादी दर्शनले वा द्वन्द्ववादी दर्शनले भन्छ, प्रत्येक चिजलाई समष्टिगत रुपमा हेर्नुपर्छ । उदाहरणको लागि हाम्रो पार्टीको सम्मेलन वा महाधिवेशनमा हामीले कुनै एउटा घटनालाई एउटा बेग्लै घटनाको रूपमा मात्रै चर्चा गर्दैनौँ । हामीले सम्पूर्ण देशको परिस्थिती, अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्ने प्रयत्न गर्दछौँ । त्यही पद्धती मैले यो उपन्यासमा पनि अपनाएको छु ।

    त्यस्तै, उपन्यासमा पात्रहरू पनि जर्मनका, फ्रान्सका, रूसका विभिन्न देशका पात्र छन् । जस्तो भ्यालेन्टिना रुसकी एकजना पात्र हुन् । उनी रुसकी सैनिक अफिसर हुन् । उनको अत्यन्त उच्च प्रकारकोदृष्टिकोण छ ।मैले उपन्यासमा त्यसलाई देखाउने प्रयत्न गरेको छु ।

    यस्तै, डा. जगदीश उपन्यासका खलनायक हुन् । उनी गढवालका बासिन्दा हुन । उनी उपन्यासमा सुरुदेखि अन्त्यसम्म रहन्छन् । खलनायक भएपनि उनी उच्च प्रकारको बौद्धिक व्यक्ति हुन् ।

    यसरी मैले सबै चिजलाई समष्टिगत रुपमा नै बुझ्ने प्रयत्न गरेको छु र प्रस्तुत पनि गर्ने प्रयत्न गरेको छु । त्यसैले मैले उपन्यासमा संसारका धेरै देशहरुका पात्रहरुलाई लिनु परेको छ । पात्रहरू लिँदा त्यहीँको स्थिति अनुसार नै मैले उनीहरूलाई बुझ्ने प्रयत्न गरेको छु । त्यसको लागि मैले कतिपय अवस्थामा ती ठाउँमा गएर स्थलगत अध्ययन गर्ने पनि प्रयत्न गरेको छु । त्यहाँका सामग्रीहरुको अध्ययन गर्नुपर्यो ।

    उपन्यासको कुनै पनि घटना वा व्यक्तिलाई समग्र विश्वको परिस्थितिको पृष्ठभूमिमा नै अध्ययन गर्ने वा प्रस्तुत गर्ने मेरो प्रयत्न रहेको छ ।

    यहाँले उपन्यास लेखनको शिलशिलामा कैयौँ ठाउँमा पुगेको कुरा पनि उल्लेख गर्नुभएको छ । तपाईंले राजनीतिक जिम्मेवारीकै सिलसिलामा पुगेका ठाउँ वा भोगेका अनुभवलाई उपन्यासमा उतार्नुभएको छ वा उपन्यास लेखनकै लागि भनेर ती ठाउँमा पुग्नुभएको छ ?
    आम रूपमा राजनीतिक जिम्मेवारीको शिलशिलामा गएको ठाउँहरूको नै मैले उपन्यासमा उल्लेख गरेको छु । जस्तो युरोपको नै कुरा गरौँ । त्यहाँ उपन्यासका लागि बेग्लै कुनै देशमा जानु सम्भव थिएन । पार्टीका कतिपय अन्तर्राष्ट्रिय मिटिङ, भेला, सेमिनारहरूमा जाने शिलशिलामा नै मैले त्यहाँको अध्ययन गर्ने प्रयत्न गरेँ । फ्रान्सको कुरा गरौँ । फ्रान्समा रिमको स्थापनाको बेलामा सन् १९८४मा म त्यहाँ गएको थिएँ । पछि पनि अन्तर्राष्ट्रिय कार्यक्रमहरूको शिलशिलामा म कैयौंपल्ट युरोपका विभिन्न देशहरुमा जानु परेको थियो । जर्मनमाआईसीओआरको स्थापनाको र पछि विभिन्न बैठकहरूको शिलशिलामा जानु परेको थियो । युनानमा वा कैयौँ ठाउँमा जाँदा आउँदा बाटो पर्यो ।

    तर, कुमाउमा पार्टीको कार्यक्रमको शिलशिलामा म जानुपरेको होइन । इन्डियामा भूमिगत अवस्थामा हुँदाखेरी प्रायः म कैयौँ पटक कुमाउँ वा गढवाल जाने गर्थें । त्यसरी त्यहाँ जाँदा मैले त्यहाँको अध्ययन गर्ने प्रयत्न गरें । ठिक त्यसैगरेर नेपालका विभिन्न जिल्लाहरूमा जाने काम परिरहन्छ । थवाङमा म धेरै पहिले नै गएको हुँ ।जब २०१३ सालमा सल्यान जेलबाट छुटेँकामरेड खगुलाल गुरुङ र कामरेड रुम बहादुर पाण्डे सहित हामी थवाङ गएका थियौँ र त्यहाँ पार्टीको स्थापना गरेका थियौँ । पछि दुईपटक यही उपन्यासका लागि म सामग्री जुटाउने सिलसिलामा थवाङ गएको थिएँ । एकपटक गएँ, धेरै सामग्री नोटहरू मैले त्यहाँबाट ल्याएँ । पछि त्यो कापी हरायो ।

    पछि फेरि त्यही थवावङकै विषयमा अध्ययन गर्नका लागि फेरि म जानुपर्यो । नेपालका अन्य ठाउँहरूको जहाँसम्म सवाल छ, आउने जाने काम परिरहन्छ । प्युठान त आफ्नै जिल्ला हो । प्युठान, लुम्बिनी, बुटवल, कपिलवस्तु, दाङ, कतिपय ठाउँमा पार्टी कामकै क्रममा गइरहनुपर्छ । खाली उपन्यासकै लागि भनेर सामग्री जुटाउन थवाङ दुईपटक जानुपर्यो । अन्यत्र त्यसरी जानु परेको छैन ।

    प्रायः पार्टीका साथीहरू कुनै जिम्मेवारी लिएर कुनै स्थानमा गएपछि पार्टीको काम गर्छन् वा घुम्छन् । तर, मेरो हमेशा के प्रयत्न हुन्छ भने म कुनै ठाउँमा गएँ भने त्यहाँको अध्ययन गर्ने प्रयत्न गर्छु । त्यहाँ सामग्री जुटाउने प्रयत्न गर्छु । नोट गर्ने प्रयत्न गर्छु । यसरी मैले यात्राकै सिलसिलामा ती ठाउँहरूको अध्ययन गर्ने प्रयत्न गरेँ । सामग्रीहरू जुटाउने प्रयत्न गरेँ । किताबहरूको खोजी गर्ने प्रयत्न गरेँ ।त्यसबाट मलाई यो उपन्यास तयार पार्न अत्यन्त ठुलो मद्दत पुग्यो ।

    कामरेड जलजला अर्थात् विद्या ढकालसँग यहाँको प्रेम सम्बन्ध थियो भन्ने कुरा यहाँले नै खुलासा गर्दै आउनुभएको छ । उहाँको बारेमा जिज्ञासा राख्ने नयाँ पुस्तालाई जलजलाको परिचय कसरी गराउनुहुन्छ ?
    निश्चितरूपमा जलजलासँग मेरो प्रेम थियो र त्यो प्रेम विवादग्रस्त पनि रहेको छ । त्यो विषय नेपालमा धेरै आलोचना र विरोधको विषय पनि भएको छ । तर, ती सबै भएपनि जलजला एउटा क्रान्तिकारी दृष्टिकोण भएकी महिला थिइन् । मसँगको प्रेमको कारणले उनले धेरै दुःख भोग्नुपर्यो । धेरै आलोचना पनि सहनुपर्यो । धेरै बदनाम पनि भइन् र, धेरै कारबाही पनि उनीमाथि भयो । ममाथि पनि भयो ।

    तैपनि मैले के पाएँ भने उनमा विशिष्ट प्रकारको क्रान्तिकारी दृढता थियो । तीसबै परिस्थितीमा पनि उनमा पार्टीप्रति वा क्रान्तिप्रतिको आस्था, निरन्तरता, सक्रियतामा कहिले पनि कमी आएन । जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि उनको मप्रतिको प्रेममा कहिल्यै कमी आएन । त्यो रूपमा नै मैले उनको व्यक्तित्वको उपन्यासमा चित्रण गरेको छु ।

    जलजलासँगको प्रेम सम्बन्धका कारण तपाईंको राजनीतिक जीवनमा पनि उतारचढाव आएको देखिन्छ नि ?
    उतार चढाव भन्दा पनि उनीसँगको प्रेमको कारण ममाथि कारबाही गरियो । म पार्टीको महामन्त्री थिएँ । महामन्त्रीबाट हटाइयो । केन्द्रीय समितिबाट हटाइयो । पार्टीको सदस्यताबाट निष्काशित गरियो । त्यो निष्काशित जीवन बिताउन केरलतिर गएँ । तर, त्यसले मेरो विचार वा राजनीतिक जीवनमा कुनै उतारचढाव आएन । जस्तोसुकै अवस्थामा पनि यहाँसम्म कि पार्टीबाट निष्काशित भएको अवस्थामा समेत मैले पार्टीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गरेँ । पार्टीप्रतिको मेरो आस्थामा कहिल्यै कमी आएन । मैले सँधैँ पार्टीको अनुशासनमा बस्ने प्रयत्न गरेँ ।त्यसकारण पार्टी काममा मेरो निरन्तरता रहिरÞयो । त्यसकारण जलजलासँगको प्रेमले वा त्यसबाट गरिएको कारबाहीले मेरो पार्टीप्रतिको आस्था, निरन्तरता, अनुशासन र क्रियाशीलतमा कुनै कमी आएन ।

    भिडिओ :

    यही २०८१ मंसिर १५ गते जलजलाको विमोचन हुँदैछ । अबको केहीदिनमानै पाठकहरूले जलजला पढ्न पाउने भएका छन् । जलजलाको प्रतिक्षा गरिरहेका पाठकलाई यहाँले के सन्देश दिन चाहनुहुन्छ ?
    हो, यही मंसिर १५ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान कमलादीको पारिजात हलमा यसको विमोचन हुँदैछ । यो उपन्यासको संक्षेपमा, साररूपमा मैले यसरी ब्याख्या गर्छु : यो प्रेमको कथा हो र विश्वको पनि दर्शन हो । किताबको शिर्षकमा पनि त्यही लेखिएको छ, प्रेमको कथा, विश्वको दर्शन ।

    यसलाई मैले खाली प्रेमको रूपमा प्रस्तुत गरेको छैन । हामी सबै समाजको लामो विकासक्रमका परिणाम हौँ । त्यसमा भएका उथलपुथलका परिणाम हौँ । हामी आज जुन रूपमा छौँ, त्यसका लागि हामी व्यक्ति मात्रै जिम्मेवार छैनौं । यहाँको समाज, साहित्य, कला, इतिहास, दर्शन हामीहरु यी सबैको सम्मिलित परिणाम हौँ । त्यसकारण हामीले प्रेमलाई पनि समाजको विकाशक्रमको एउटा अङ्गको रूपमा लिनुपर्छ । समाजमा सङ्घर्ष भइरहन्छ । एउटा पुरानो व्यवस्था, जसले समाजलाई दबाएर राखिरहन चाहन्छ, त्यसका विरुद्ध परिवर्तनका लागि सङ्घर्ष भइरहेको छ ।

    हामीले प्रेमलाई पनि समाजको विकासक्रम, त्यसभित्र चल्ने अन्तद्र्वन्द्व वा समाजको अग्रगामी परिवर्तनका लागि चल्ने संघर्षको अङ्गको रूपमा लिनुपर्छ । प्रेमलाई पनि हामीले समाज सेवाको माध्यमका रूपमा लिनुपर्छ ।त्यसकारण प्रस्तुत उपन्यासमा मैले प्रेमलाई पनि यही रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । समग्ररूपमा उपन्यासमा प्रेमका प्रशङ्गहरू अत्यन्त कम छन् । त्यसका जो मुख्य पात्रहरू छन्, तिनिहरूको प्रायः आपसमा भेटै हुँदैन । उपन्यासको प्रारम्भमा एकपटक भेट हुन्छ, उपन्यासमा त्यसपछि उनीहरुको कहीँपनि भेट हुँदैन । उपन्यासमा उनीहरुबारे चर्चा वा परिचर्चा अवश्य हुने गर्दछ । तर उनीहरुका बीचमा प्रत्यक्ष भेट भएका दृष्यहरु उपन्यासमा छैनन् भनेपनि हुन्छ ।

    उपन्यासमा प्रेमलाई दार्शनिक रूपमा, ऐतिहासिक रूपमा वा उच्च क्रान्तिकारी आन्दोलनको प्रवाहको अङ्गको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । हाम्रो समाज बिग्रेको वा पतनको एउटा मुख्य कारण के हो भने मानिसहरुले प्रेमलाई विशुद्ध व्यक्तिगत रूपमा वा व्यक्तिगत स्वार्थको परिधिभित्र नै ग्रहण गर्छन् । प्रेमलाई मुख्य ठान्छन् र अरू सबैकुरालाई गौण ठान्छन् । प्रेम पतिपत्नीका बिचमा हुन्छ, बाबुआमाप्रति हुन्छ, छोराछोरीप्रतिहुन्छ, प्रेम र प्रेमीकाहरुका बीचमा हुन्छ । यी सबै प्रेमलाई हामीले समाजको एउटा अङ्गको रूपमा नै ग्रहण गर्नुपर्छ र, प्रेमलाई कुनैपनि बेला हामीले सामाजिक हितका विरुद्ध जान दिन हुँदैन । उपन्यासमा प्रेमलाई त्यही रूपमाब्याख्या गर्ने प्रयत्न गरिएको छ ।

    उपन्यासले सम्पूर्ण विश्वलाई बुझ्ने प्रयत्न गरेको छ । उपन्यासमा अन्तरिक्षलाई, घटनाक्रमलाई, मानव जीवनलाई, चाहे त्यो अमेरिका होस्, चाहे अफ्रिका होस्, चाहे अस्ट्रेलिया होस्, इन्डिया होस् यी सबैलाई बुझ्ने प्रयत्न गरेको छ । ती सबैलाई सरसर्ती रूपमा अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

    संसारमा मानिसको चिन्तनभौतिक परिस्थितिको परिणाम हुन्छ । त्यसले सारा कुरालाई प्रभावित गर्छ, घटनाक्रमलाई प्रभावित गर्छ । त्यसले कुनै समाज, कुनै व्यक्ति, कुनै देशको विकासमा प्रत्यक्ष रुपले प्रभावित गर्दछ । हाम्रो दार्शनिक सोच उच्च प्रकारको हुनुपर्छ । उच्चप्रकारको हुनुपर्छ भन्नुको अर्थ समाजमा प्रचलित प्रकारको हुनुपर्छ भन्ने होइन । त्यसको अर्थ हाम्रो सोचाई समाजमा आम रुपमा व्याप्त सोचाईको भन्दा केही माथि उठेको हुनु पर्दछ ।

    अहिले तपाईं देख्नुहुन्छ, धेरै राजनीतिक पार्टीको पतनभइरहेको छ, नेताहरूको पतन भइरहेको छ, कम्युनिस्टहरूको पतन भइरहेको छ । किनभने उनीहरुको चिन्तन सही हुनसकेको छैन । उनीहरुको दार्शनिक चिन्तन सही हुनसकेको छैन । उनीहरूले सम्पूर्ण समाजलाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थ वा महत्वकांक्षालाई माथि राख्न चाहन्छन् । व्यक्तिलाई समाजभन्दामाथि राखेर समाजको सामाजिक हितमाथि कुठाराघात गर्न थाल्दछन् । त्यही विन्दुमा गएर कुनै राजनीतिक पार्टी, नेता वा एउटा कम्युनिस्टको पनि पतन हुन थाल्दछ । त्यसकारण त्यस प्रकारको चिन्तनविरुद्ध यो उपन्यासले एउटा दृष्टिकोण दिने प्रयत्न गरेको छ । दार्शनिक दृष्टिकोण दिने प्रयत्न गरेको छ । त्यही सर्वहारा विश्व दृष्टिकोण पनि हो । मैले सबै पाठकहरुको उपन्यासको त्यही पक्ष प्रति नै विशेष ध्यान आकर्षित गराउने प्रयत्न गर्दछु ।

    सरसर्ती भन्ने हो भने संसारमा आमाको सन्तानप्रतिको प्रेम सबैभन्दा उत्तम हुन्छ । आमाको प्रेमको विशेषता के हो ?उनले आफ्नो व्यक्तिगत स्वार्थमा केहीपनि ध्यान नदिइकन आफ्ना सन्तानका लागि काम गर्छिन्, आफ्ना सन्तानका लागि सम्पूर्ण दुःख कष्ट सहन तयार हुन्छिन्, कुनैपनि प्रकारको त्याग र बलिदान गर्न तयार हुन्छिन । हामीले आमाको प्रेमलाई सम्पूर्ण समाजमा लागू गर्ने प्रयत्न गर्नु पर्दछ । आमाको प्रेममा एउटा कमजोरी हुन्छ ।त्यो कमजोरी के हो भने त्यो प्रेम उनको आफ्ना सन्तानप्रति मात्रै हुन्छ । तर, हाम्रो प्रयत्न आमाको सन्तानप्रतिको प्रेमलाई सम्पूर्ण समाजप्रति विस्तार गर्न प्रयत्न गर्ने प्रति हुनुपर्दछ । उपन्यासले सार रुपमा यही कुरामा जोड दिएको छ ।

    युगदर्शनलाई आफ्नो महत्त्वपूर्ण समय दिनुभयो । यहाँलाई धेरैधेरै धन्यवाद ।
    पहिलो पटक मैले यो उपन्यासको विषयमा अलिकति ब्याख्या गर्ने प्रयत्न गरेँ । त्यसका लागि अवसर दिनुभएकोमा मैले युगदर्शन परिवारप्रति धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

    (प्रस्तुति : विद्यानाथ अधिकारी/गोविन्द शर्मा)

     
    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.