काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा (सीआईबी) ले ‘वुल्फ ७७७ अनलाइन क्यासिनो’ साइटबाट सट्टेबाजी (अनलाइन जुवा) खेलाउने ६ जना व्यक्ति पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा उक्त ‘वुल्फ ७७७ अनलाइन क्यासिनो’ का सञ्चालकहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जाल मार्फत पठाइ अनलाइन जुवा खेलाएको सीआईबीले फेला पारेको हो।
करिब २ महिना अगाडिदेखि अन्दाजी २४ करोड रकम बराबरको शंकास्पद अनलाइन कारोबार गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–२९ बस्ने वर्ष २५ को आकाश मिश्र, रुपन्देहीकै सिदार्थ नगर नगरपालिका ६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, वुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी, सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठ रहेका छन्।
उनीहरूउपर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गतको सट्टाबाजी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।