भीष्म जोशी ##
एउटा यस्तो ठाउँ रहेछ, जहाँ आँखाबिनाका मान्छे बस्दा रहेछन् । एक दिन त्यो ठाउँमा बाहिरबाट आँखा भएको मान्छे पुगेछ । उसले आँखा भएका मान्छे नदेखेपछि भनेछ, कि तिमीहरूको आँखा छैन ? कसरी हेर्छौ ? कसरी काम गर्छौ ? तर उनीहरू आँखाबिना नै सबै काम गर्न अभ्यस्त भइसकेका हुँदा रहेछन् । त्यो आँखा देख्ने मान्छेले तिमीहरूको आँखा छैन भन्नु त्यो ठाउँमा अपराध मानिँदो रहेछ । त्यो नयाँ मान्छेले आँखा छैन तिमीहरूको ? कसरी काम गर्छौ ? कसरी हेर्छौ भन्न नमिल्ने रहेछ ।
त्यहाँका मान्छेले यो यस्तो भन्दै छ भनेर उसलाई पक्रेर पुलिसकोमा लगेछ । पुलिसको पनि आँखा रहेनछ । पुलिसलाई पनि त्यही भनेछ त्यो मान्छेले, तिम्रो आँखा छैन ? किन पक्रेको मलाई ? मैले त देखिराछु त । किन पक्रेको मलाई ? त्यसैलाई आधार र प्रणाम बनाएर पुलिसले अदालत सामुन्ने लगेछ । अदालतको अगाडि पनि त्यही भनेछ त्यो मान्छेले– श्रीमान मैले त आँखा देखिरहेको छु त, किन मलाई पक्रेका हुन् यिनीहरूले ? किन मुद्दा चलाइयो ? तपाईंहरू सबै आँखा नभएका नै रहेछौ । के नै अपराध गरेर मैले र, पक्राउ गरेर यसरी अदालतमा पेस गर्दै छौ ?
अदालतसामु पनि त्यही बयान गरेपछि अदालतले उसलाई १० वर्ष कैद हुने सजाय सुनाएछ किनकि त्यो ठाउँमा आँखा नभएका मान्छेले सबै काम गर्दा रहेछन् र आँखा छैन भन्यो भने सजाय हुने कानुनी व्यवस्था रहेछ ।
त्यो समाजमा आँखा हुनु अपराध भए झैँ हाम्रो समाजमा सदाचार र नैतिकवान् हुनु कतै अपराधी हुनु जस्तै त होइन ? आज नैतिकता र इमान बोकेका मानिसहरूले समाजमा टाउको लुकाएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । जहाँसुकै काम गर्ने भए पनि जीवननिर्वाह गर्न आवश्यक ज्याला कसैले पाइरहेको अवस्था छैन । चाहे डाक्टर, इन्जिनियर, प्रशासक, प्राध्यापक, कर्मचारी वा श्रमिक जो सुकै भए पनि जीवननिर्वाह गर्न सक्ने ज्याला पाइँदैन । म नेपालमा बसेर ढुक्कले आफ्नो मिहिनेतको कमाइले सन्तुष्ट छु र मेरो खर्च चलेको छ । अलि अलि बचत पनि हुन्छ भन्ने मानिस विरलै भेटिन्छन् । यो अवस्था काम पाएका मानिसहरूको छ भने काम नपाएका बेरोजगार मानिस कसरी बाँचिरहेका छन् ? बयान नै गर्न नसिकिने अवस्था छ ।
बेरोजगारी चरम छ । अधिकांश युवाहरू वैदेशिक रोजगारीको भरमा जीवन गुजारा गरिरहेका छन् । समग्रमा नेपाली समाज अहिले पनि चरम गरिवीमा बाँच्न विवश छ तर अर्कोपट्टि भने अर्कै स्वर्ग छ । नियमित आम्दानीको स्रोत केही छैन । नेता हौँ भनेका छन् । राजनीतिलाई पेसा बनाएर हिँडेका छन् । जनताले सुन्न नसकिने पैसामा घरघरेडी जोडेका छन् । मनको गतिअनुसारको जीवनशैली बाचेका छन् । स्वास्थ्योपचार विदेशका सुविधासम्पन्न अस्पतालमा गर्छन् । आफ्ना सन्तान विदेशका महङ्गा विश्वविद्यालयमा पढ्न पठाउँछन् । उनीहरूका लागि दुनिया बेग्लै छ ।
तिनीहरू नै स्थानीयदेखि केन्द्रीय चुनावमा करोडौँ खर्च गरी चुनाव पनि जित्छन् र जनताका प्रतिनिधि पनि बनेका हुन्छन् । यो किन यस्तो भइरहेको छ भन्दा जनताको चेतनामा यस्तै यस्तै कुरा भरिएको छ । जसरी पनि पैसा कमाउनुपर्छ । पैसा नै सबैथोक हो । पैसा भयो भने सबै चिज किन्न मिल्छ । राजनैतिक पद पनि सजिलै किन्न सकिन्छ भन्ने कुरा जनमानसमा भ्रम पैदा गरिएको छ । यसै जगमा जनतालाई भ्रममा पारी जनविरोधीहरू चुनाव जित्न सफल बनिरहेका छन् र जनतामाथि बेरोजगारी, अभाव, अज्ञानता, गरिबी, शोषण जस्ता बज्रप्रहार गरिरहेका छन् तर आफूलाई भने एक से एक राम्रो भएको भान पारिरहेका छन् ।
यदि कसै जनताले तिमीहरूले भ्रष्टाचार गरी यो मोजमस्ती, यो आलिसान जिन्दगी बाँचिरहेका छौँ भन्यो भने उल्टै भ्रष्टाचार गरेको प्रमाण ल्याउनुस्, म राजनीति नै छोडिदिन्छु भनेर भन्ने गर्छन् । जनतासँग तिमीहरूले गरेको भ्रष्टाचारको प्रणाम खोज्ने हैसियत भएको भए तिनीहरूलाई नै भोट किन दिन्थे होला र ? जुन दिन तिमीहरूले जनताप्रतिको यो शोषण, दमन, अत्याचार गरेको प्रमाण खोज्ने जनताले हैसियत निर्माण गर्नेछन्, त्यो दिन पक्कै पनि तिनीहरूले जनतालाई प्रणाम खोज्नुहोस् भन्ने मौका नै पाउने छैनन् । त्यो दिन हामिद कार्जाईले आफ्नो देश अफगानिस्तान छोडेर भागे जस्तै भाग्नुपर्ने छ ।
आज नेपालमा जनताका विरुद्ध जनताका दुस्मनले हद पार गर्दै छन् । जनतालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपले चरम शोषण गरिँदै छ। निमुखा जनतालाई कागजी बाघले लपेट्दै छन् । जनता चारैतिर असहजता र निस्सासिएको अवस्था छ । हामीले जनताका समस्याको बारेमा बोल्नुपर्छ । जनतालाई राहत प्रदान गर्न राज्यलाई बाध्य बनाउनुपर्छ किनकि यो देश, यो राज्य हाम्रोको हो । हामीले हाम्रा दुस्मनलाई राज्यको ब्रह्मलुट मच्चाउन दिनुहुन्न । आज जसले जे गरे पनि, जति लुटे पनि चारैतिर मौनता र सन्नाटा छाएको जस्तो देखिन्छ । यो देश र जनताका निम्ति राम्रो सङ्केत होइन । हामीले गलतका विरुद्ध र न्याय, सत्य, सुशासन र सदाचारका पक्षमा निरन्तर र लामो सङ्घर्षको उद्घोष गर्न आवश्यक छ ।
नेपाली समाज नकारात्मक चिजलाई नै राम्रो देख्ने दिशामा अगाडि बढिरहेको त छैन ? यो आजको गम्भीर चिन्ताको विषय हो तर हामीले त्यसो हुन दिनुहुन्न किनकि नेपाली समाज शान्त, धैर्य, संयम, निडर, मिहिनेती, वीरता, सहनशीलता, इमानदारिता, अनुशासन, नैतिकवान्, स्वाभिमानी, स्वतन्त्र र एकताको सूत्रमा आबद्ध समाज हो । यहाँ विभिन्न धर्म, जातजाति, संस्कृति, वर्ग, लिङ्ग, क्षेत्र, भाषाभाषी, भेषभूषा, लवाइखवाइ, अध्ययन, श्रमदान, योगदान, भूत, वर्तमान र भविष्यको बारेमा गहन बहस र छलफल चल्छन् । यो नेपाली समाजको विविधता र सुन्दर पक्ष हो । यही हो, विविधताबिचको एकता ।
धेरै टाढा नजाऊँ । २०६२–६३ सालको आन्दोलनपूर्वको राज्य र विद्रोही पक्षबिचको सशस्त्र द्वन्द्वलाई नेपाली समाजले कति धैर्य, सहनशील, शान्तिपूर्वक विश्व समुदायलाई नै आश्चर्यमा पार्दै कुशलतापूर्वक व्यवस्थापन गर्यो ? यो द्वन्द्व नेपाली समाजका लागि कम पीडादायक थिएन तर यसको सहज व्यवस्थापन गर्नु पनि कम चुनौतीपूर्ण भने थिएन, नेपाली समाजको लागि । त्यो द्वन्दको व्यवस्थापन भएपछि सबैले सोचेका थिए, अब नेपालका दुःखका दिन गए† अब नेपाल साँच्चै दिगो शान्ति, सुशासन र विकासको हब बन्ने छ । त्यो हुन सकेन । जे हुँदै छ, सो हामी भोग्दै छौँ । सबैका आँखाअगाडि देशको स्थिति छर्लङ्ग नै छ ।
अहिले देशमा त्यो द्वन्द्वभन्दा भयङ्कर र डरलाग्दो गरी आर्थिक अराजकता व्याप्त छ । महङ्गी, बेरोजगारी, भ्रष्टाचार, व्यापारघाटा, सहकारी ठगी, तस्करी जस्ता कुराले असामान्य रूप लिए पनि यो सामान्य नै हो† यस्तो सबैले गर्छन् भन्ने स्थितिको सिर्जना हुन थालेको स्थिति देखिन्छ । यस्तो हुनु सामान्य होइन, गम्भीर र खतरनाक स्थिति हो ।
आज समाजको गरिखाने वर्गका लाखौँ जनताले रगत र पसिना बगाएर आर्जेको बचत हिनामिना हुनुलाई सामान्य कुरा भन्न सकिन्न । यो गम्भीर अपराध हो । यसका दोषी र मतियारलाई कडाभन्दा कडा सजाय हुनुपर्दछ तर आज जनता मौन छन्, राज्य निरीह बनेको छ । किन यस्तो हुँदै छ ? के माथि उल्लेख गरिएको नेपाली समाजको सदाचारको दिव्यचक्षुमा बादल लागेको हो ?
सदाचारको यो दिव्यचक्षुमा लागेको बादललाई शल्यक्रिया गरेर हटाई नयाँ लेन्स हाल्ने वा झन् मोतिबिन्दु हुन् दिई कहिल्यै काम नलाग्ने गरी फुट्न दिने ? सोच्न जरुरी छ । यदि हामीले यो आर्थिक अराजकताको समयमै उपचार गर्न नसक्ने हो भने नेपाली समाजको सदाचारको दिव्यचक्षु सधैँका लागि बन्द हुने छ र यसले निर्माण गर्ने नयाँ परिस्थिति कति धेरै भयावह हुने छ ? कल्पनासम्म गर्न सकिन्न । देख्दा पनि देख्दैनन् कसैले, कतै संसार नदेख्ने भयो कि ?
हामीले माथिको कथाबाट समयमै शिक्षा लिन सक्नुपर्छ ।