• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वैश्विक ध्रुवीकरणमा पत्रकार जगतको भूमिका


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • डिल्ली अम्माई ##

    Advertisement

    प्रदर्शनमा पत्रकार समुदायभन्दा एक कदम अगाडि र दुःखमा समुदायसँग एकसाथ हुनुपर्छ । उसको विवेक समुदायको हित अधिनस्त भएन भने समाजसँग उसको इन्ट्रेस्ट बाझिने खतरा उत्पन्न हुन्छ । त्यसले सूचना विश्वसनीयतामा खतरा पैदा गर्छ । त्यो भनेको उसले जीवनभर गरेको पत्रकारिताको मृत्यु हो । त्यसैले पत्रकारले आफ्नो पत्रकारितामा तथ्यको बलियो भर्याङ बनाएर आफूलाई माथि उकाल्नुपर्दछ ।भर्याङ कमजोर भयो भने लड्ने सम्भावना रहन्छ र लडेपछि मर्ने बाँच्ने उत्तिकै सम्भावना हुन्छ । त्यसैले कलम समाचारमा दोहोरो जाँच गर्दै, विश्लेषणमा समुदायको हितलाई मानक मानेर र सम्पादकीय आलेखमा भविष्यको आशालाई मर्न नदिएर बग्नुपर्दछ ।

    कलमको प्रयोगको सम्बन्ध समयसापेक्ष, परिवेशजन्य, कानुनी, राजनैतिक परिदृश्य, कलागम्य दार्शनिक विचारको उत्खनन् तथा सामाजिक मूल्यभित्रका उपयोगितासँग अभिन्न रूपले जोडिएर आउँछ । त्यसैले सामाजिक अस्तित्वरूपी उत्पादन सम्बन्धले कलारूपी चेतनाको निर्माण गर्दछ भनिएको हो ।

    वैश्विक प्रणालीगत आधारमा उत्पादन प्रणाली र उत्पादन सम्बन्धसँग जोडिएको हुन्छ । अहिले पश्चिमा उत्पादन सम्बन्ध नाफा र प्रणाली कर्पोरेट पुजीपतिसँग जोडिएको छ । वितरण प्रणाली असमान छ । अर्थतन्त्र बजारमुखी छ । पुँजीवादको यही वैचारिक समिष्टलाई हामीले अधिरचनाको रूपमा बुझ्नुपर्छ अर्थात् अधिरचना आधारको रक्षार्थ निर्माण गरिएको विचारधारा हो । त्यसलाई आधारको विचारधारात्मक प्रतिबिम्बनको रूपमा बुझ्दा पनि हुन्छ । आर्थिक धरातल (आधार) माथि उभिएको विशाल अधिरचनालाई विचारधारात्मक अधिरचना वा मूल्य पनि भन्दा हुन्छ । राजनीति, धर्म, कानुन, दर्शन, पत्रकारिता जस्तै कलासाहित्य पनि विचारधाराकै एउटा रूप हो । त्यसैले अहिलेको वैश्विक पत्रकारिता ठुलो भाग साम्राज्यवादको नियन्त्रणमा छ । सानो भाग भुइँ मान्छेको पक्षमा पनि छ तर त्यो कमजोर छ ।

    पश्चिमा पुँजीवादले मिडिया नियन्त्रण कर्पोरेट हाउसको लगानीमार्फत गर्दछ भने जर्ज सोरस जस्ता व्यक्ति, कूटनैतिक नियोग वा आइएनजिओमार्फत सहयोगको नाममा आर्थिक दिएर पनि मिडिया नियन्त्रण गर्दछ । अर्कोतर्फ, सामुदायिक पत्रकारितामा अधिकतम जनसमुदायका सरोकारको मुद्दा उठाइन्छ ।

    उनीहरूका मधुरा आवाजलाई दबाबको रूपमा राज्यसम्म पुर्याउने काम सामुदायिक पत्रकारितामा हुन्छ ।

    रूपमा जे देखिए पनि सारमा यिनै दुई पक्षका लागि संसारभरि पत्रकारिता गरिन्छ । त्यसैले साहित्य जस्तै पत्रकारिता पनि सापेक्ष हुन्छ भनिएको हो । त्यो कुरा हामीले विशेष गरी साम्राज्यवादद्वारा थोपरिएका युद्धमा देख्दै भोग्दै आएका छौँ । अहिले विश्वका ठुला मिडियाले इजरायली सेनाले प्यालेस्टाइनी भूमिमा गरिरहेको आम नरसंहारको समाचार बाहिर आउन दिएका छैनन् बरु उनीहरूले अमेरिका र इजरायलीकै धिमा आवाजमा समर्थन गरिरहेका छन् । नेपालमा पनि झन्डै अवस्था त्यही छ । नेपालका मूल धार भनिने मिडियाले पनि सोरोस फन्ड म्यानेजमेन्ट र ओपन सोसाइटी इन्स्टिच्युटका अध्यक्ष जर्ज सोरोसबाट आर्थिक लाभ लिइरहेको आरोप लाग्दै आएको छ । यसरी उनको पैसा खाने संसारभरि थुप्रै गोदी मिडिया हाउस रहेको बताइन्छ ।

    वास्तवमा ऐतिहासिक परिवर्तन तथा समाज विकासको निर्णायक र आधारभूत तत्त्व, उत्पादन पद्धतिमा आउने परिवर्तन नै हो तर त्यसलाई गति तथा ऊर्जा दिने काममा अधिरचनारूपी (अन्य तत्त्व जस्तै) कला, लेख, पत्रकारिता र साहित्यको पनि भूमिका हुन्छ । त्यसकारण वर्तमान राज्याधारले निर्माण गरेका मूल्यपद्धतिका विरुद्ध गरिने पत्रकारिता, लेखन वा साहित्यिक धारलाई विद्रोही वा कानुन विरोधीको निहुँमा संसारभरि दमन गरिँदै आएको छ । यस क्रममा संसारभर खग्गोसी जस्ता धेरै पत्रकार मारिएका छन् ।

    उनीहरूको मिडियाले दिएको रिपोर्टअनुसार अहिले सही सूचना खोजेर सम्प्रेषण गरेकै कारण १२० भन्दा बढी पत्रकार इजरायली सेनाले गाजामा मार्यो । साम्राज्यवादको विश्वव्यापी सूचना नियन्त्रणका कारण पुँजीवादी आधार र अधिरचनाको विरुद्ध विकल्प खोज्न नपाउनुले लेखनमा चलिआएको प्रचलित मान्यता (स्वतन्त्र, निष्पक्ष र भुइँमान्छेका सूचनाको न्यायपूर्ण प्रस्तुति) जस्ता कुरासँग मेल खाँदैन । विद्रोही लेखक वा पत्रकारले सबै थोपरिएका कथित आचारलाई तोड्नुको मुख्य कारण यही विरोधाभाषपूर्ण अवस्थाले गर्दा हो ।

    स्थापित आधारमा बनेका मान्यता नयाँ मूल्य आधारमा बनेका मान्यतासँग मेल खाँदैनन् । विपरीत हित भएका कर्पोरेट मालिक र आम उपभोक्ताका हितबिच सदैव टक्कर चलिरहन्छ । त्यसैले लेखकीय धारमा जस्तै पत्रकारितामा पनि सर्वमान्य निरपेक्ष मान्यता छैनन् वा आमहित विरुद्ध थोपरिएका मान्यता समुदायको आवाजको सापेक्षतामा नापेर विवेकसङ्गत ढङ्गले तोड्न लेखक वा पत्रकारले कसैको अनुमति लिइरहनुपर्दैन ।

    तेस्रो विश्वका भुइँमान्छेको स्वार्थको प्रतिनिधित्व गर्ने गरी फरक आधारको निर्माण, रक्षा र त्यसको मर्मत भविष्यको सार्वभौम महत्त्वको कुरो हो । गतिको नियमानुसार यो परिस्थितिको निर्माण सदैव भइरहन्छ । त्यसैअनुरूप वर्तमान विश्व व्यवस्थाको अर्को नयाँ समाजवादी आधारले विस्थापित नगरुन्जेल पत्रकारितामा सापेक्षता रहिरहन्छ ।

    कृषिपत्रकारिता, कलापत्रकारिता, व्यवसायिक पत्रकारिता, सेलिब्रेटी पत्रकारिता, नागरिक पत्रकारिता, सामुदायिक पत्रकारिता, अपराध पत्रकारिता, सांस्कृतिक पत्रकारिता, साइबर पत्रकारिता, मौसम पत्रकारिता, खेलपत्रकारिता, राजनीतिक पत्रकारिता, वैज्ञानिक पत्रकारिता, जीवनशैली पत्रकारिता, शिक्षा पत्रकारिता, रक्षापत्रकारिता, फेसन पत्रकारिता, वातावरणीय पत्रकारिता, खोजीपत्रकारिता, हाँस्य र ग्राफिक पत्रकारिता, ट्याब्लोइड पत्रकारिता सबैमा वर्ग सापेक्षताको केही न केही अंश हुन्छ । साहित्य, भाषा, सूचना वा पत्रकारिता स्वतन्त्रताका बिम्ब भएकाले त्यसमा राजनीतिको लेस देखिनुहुँदैन भन्नु एक भ्रम हो वा यी विषयमा तात्कालिक मतविभाजनमा तटस्थ जस्तो देखिए पनि मूल्यागत निरपेक्षता हुँदैन ।

    भाषा, साहित्य र सूचना (पत्रकारिता) आधार तथा विचार प्रणालीबाट आधारभूत रूपले भिन्न कुरा हुन् भन्ने कुरामा विज्ञ पत्रकारका मत फरक फरक छन् ।

    उनीहरूका अनुसार यी राज्य संरचनासँग मूलभूत रूपमा सहमतिमा चल्छन् ।

    सम्प्रभुता अलग हुँदा रसियामा धेरै पत्रकार मारिए । स्वतन्त्र प्यालेस्टाइन राज्य माग्दा गाजामा सयौँ पत्रकार मारिए । कारण थिए, अलग राष्ट्रियताको लागि लेखिएका लेख, तथ्यगत आवाज वा औपनिवेशिक दासताको विरुद्ध विद्रोहको पक्षपोषण । त्यस्तै, अन्य उदाहरणका लागि नेपालमा भएका विभिन्न क्रान्ति, आन्दोलन र परिवर्तनपछिका अवस्थालाई समेत लिन सकिन्छ । यहाँ पुरानो सामन्ती राजतन्त्र समाप्त भएको छ र अर्को दलाल चरित्रको पुँजीवादी आधारसहितको नयाँ राजनैतिक प्रणाली निर्माण हुँदै गइरहेको छ । अर्का हिसाबले भन्दा सामान्ती अधिरचनाको ध्वस्त तर सारमा कार्पोरेट दलाल पुँजीवादका नयाँ मान्यताको निर्माण हुँदै गइरहेको छ । फलस्वरूप पुरानो राजतन्त्रात्मक व्यवस्थाले स्थापना गरेका आधारको स्थानलाई दलाल चरित्रको गणतन्त्रात्मक मान्यताले विस्थापित गरिसकेको छ ।

    वर्तमान अवस्थामा केही लेखक, पत्रकार र राजनीतिकर्मीले विद्रोहको औचित्य अझै देखेका छन् र सोअनुरूप उनीहरूले आफ्नो विद्रोही भूमिका खेल्दै छन् ।

    केही यथास्थिति मन नपराउनेले योभन्दा अघिल्लो अवस्था ठिक थियो भन्ने ढङ्गले पनि विचार पस्केको देखिन्छ । त्यसैले निर्णायक कुरा विश्लेषण वा व्याख्या मात्र हैन, दृष्टिकोण हो । सत्य के हो भने हाम्रो पत्रकारिता गुणात्मक रूपले नयाँ आधारको सेवामा समर्पित हुन सकिरहेको अवस्था अझैसम्म देखिएको छैन ।

    यसो हुनुको एउटा कारण मानव चेतनाको रूपान्तरण समस्या हो ।

    भाषा, साहित्य वा पत्रकारिताको क्षेत्र अधिरचनाका आधारभित्र मूल्यमान्यताको नाममा निकै लामो समयसम्म अल्झिरहेको हुन्छ । यी देखिने गरी अकस्मात परिवर्तन हुने विषय पनि हैनन् । त्यही पनि अहिले भइरहेको वैश्विक ध्रुवीकरण र प्रविधिको गुणात्मक विकासले हाम्रो चेतना र त्यसको व्यावहारिक प्रयोगमा पूर्ण परिवर्तन हुँदै गइरहेको छ । त्यसको प्रभाव पत्रकारिता क्षेत्रमा झन् घनीभूत रूपले परेको महसुस गर्न सकिन्छ ।

    लेखक वा पत्रकारले भाषाको दैनिक लेखन नगर्ने हो भने भाषा खुम्चिदै र मर्दै जान्छ । भाषा रूपान्तरण हुने विषय नभएर प्रयोगले समृद्ध हुँदै जाने विषय हो ।

    जसरी मानव समुदायलाई भाषाले सेवा गर्दछ, त्यसरी नै प्रत्येक सानाठुला परिवर्तनले भाषाको सेवा गरिरहेको हुन्छ अर्थात यी दुवैको द्वन्द्वात्मक सम्बन्ध हुन्छ ।

    हाम्रो भाषाको अधिरचनाभित्र भाष्यको आधार परिवर्तित नयाँ राजनैतिक परिदृश्यबाट पनि प्रभावित हुन्छ। भाषामा थपिएका नयाँ शब्दको सबैभन्दा बढी लाभ कसैले लिएको छ भने त्यो लेखक र पत्रकार हो । त्यसैले परिवर्तनको चक्रमा लेखक वा पत्रकार सेकेन्ड, जनता मिनेटको सुइ जस्तै हुन् भने भाषा युगको एक चक्र हो । यही कारणले हो, पत्रकारमा युगसापेक्षित विवेक चाहिने ।

    पत्रकारले सकारात्मक वा नकारात्मक परिवर्तन गुण पहिचान गर्न सकेन वा परिवर्तनले मानवहितको संरक्षण गर्ने अवस्था आएन भने कलमले वितण्डा मच्चाउन सक्छ । त्यसैले विद्रोह वा क्रान्तिलाई एउटा विवेकशील पत्रकारले मानवहितको मानकले परीक्षण गरिरहनु पर्दछ । भुइँमान्छे कुन अवस्थामा छ र त्यसको जीवनयापनलाई के कस्ता उपायद्वारा रूपान्तरण गर्न सकिन्छ ? लेखन त्यही दिशामा केन्द्रित हुनुपर्दछ ।

    हरेक देशको परिवर्तनलाई संस्थागत गर्ने आधार भनेको मुख्य रूपले त्यो देशको राज्यप्रणाली नै हो । नयाँ राजनैतिक प्रणालीका हरेक अवयवलाई अग्रगामी दिशा दिन, समय र गतिका विविध दिशालाई विषयान्तर नगरिकन क्रमशः र अविछिन्न रूपमा सम्बन्ध स्थापित गर्दै भाषा, साहित्य, पत्रकारिता वा संस्कृतिकर्मीको कर्मले आधारको नै सेवा गरिरहेको छर्लङ्ग देखिन्छ । पत्रकारिताले पनि चलिरहेको राज्यप्रणालीद्वारा स्थापित हुँदै गरेका मान्यताभित्र स्वनियमन गर्दै आफूलाई गतिशील बनाउँछ । खासमा पत्रकारितालाई आधार र अधिरचनाको एक भाग नै मान्नुपर्दछ ।

    स्वतन्त्र पत्रकारिता, भाषा, साहित्य वा कानुन, राज्य प्रणालीसँग कहिल्यै निरपेक्ष हुन सक्दैनन् । राज्यको कानुन र पत्रकारिता त झन् तटस्थ हुनै सक्दैन ।

    पत्रकारिता अधिरचना (बृहत् संरचना) र आधारको एक अङ्ग हो । यो कदापि आफैमा सम्पूर्ण हैन, यसले कसैको सेवा गरिरहेको हुन्छ । कहिलेकाहीँ पत्रकारितामा विवेक मौन हुन्छ र स्वनियमन हावी हुन्छ । दुवैको सन्तुलन बिग्रे पत्रकार, लेखक वा सञ्चारकर्मीको दुर्घटना हुन सक्छ । स्वतन्त्र पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र अधिकार सामाजिक मूल्यमान्यताभन्दा तल बस्दछन् भने पनि कहिलेकाहीँ यसलाई भत्काउनुपर्छ । सड्ढटको बेला पत्रकार भविष्यद्रष्टा बन्न सक्नुपर्दछ । पत्रकारितामा मानव चेतना शून्य बिन्दुमा बस्छ भन्नु महाझुट हो । यो पश्चिमा मूल्यरक्षाको लागि बनाइएको एक गुलियो मन्दविष हो।

    लेखकीय विधामा स्वतन्त्र लेखकीय शैली र पत्रकारिताको गफ गर्नेहरूले बुझ्दा हुन्छ, मूल्यसापेक्ष सूचनाको गतिलाई सम्मोहन गर्दै मुख्य रूपमा समुदायको राजनैतिक प्रणालीलाई दिशानिर्देश गर्ने कार्य सम्पादकको हो । पत्रकारिता समुच्च राजनैतिक आधारको संवाहक र सम्मोहन कर्म हो तर त्यसको अर्थ यसले खालि आधारलाई मात्र प्रतिबिम्बित गर्दछ भन्ने हैन । पत्रकारिताले आधारको यात्रामा जनताको भाग्य र अधिकार प्रणालीको चरित्रप्रति सक्रिय, आलोचनात्मक र संवेगात्मक उत्खनन् गरिरहन्छ । यो प्रणालीअन्तर्गतको सक्रिय चेतन शक्ति पनि हो र त्यसले आधारलाई रूपान्तरण गर्न र सुदृढ पार्न सक्रिय सहयोग गर्छ ।

    यसको साथै पुराना आधार तथा अवशेष निर्मूल पार्न वैश्विक मूल्यको मर्मत पनि गरिरहन्छ ।

    अहिलेसम्म पत्रकारिताको सूचना इमान्दारिता र समुदायप्रतिको जिम्मेवारीलाई छोडेर अन्य कुरामा न सम्पादकीय स्वतन्त्र हुन्छ अथवा लेख । राष्ट्रियतामा खलल, साम्प्रदायिकता, राज्यविप्लब वा सम्प्रभुताको कुरामा सूचना खुलाउन कुनै पनि आधारमा बनेका अधिरचनाले अनुमति दिँदैंन । पत्रकारितामा सम्प्रभुता अविचलित मान्नु, राष्ट्रियता अविछिन्न मान्नु, राज्यको प्रणालीलाई दीर्घायु मान्नु र अधिकारका कुरामा संविधानका बाधालाई स्वनियमनले किचिदिनु आधारसापेक्ष पत्रकारिताका बाध्यता हुन् । आवश्यक बेलामा पत्रकारले त्यो मानवनिर्मित पर्खाल भत्काउँदै आएका पनि छन् ।

    दुई मूल्यको लडाइँमा पत्रकारले अग्रगामी मूल्य रोज्नुपर्छ । व्यक्ति र समुदायमा पत्रकारले समुदाय र त्यसको हित रोज्नुपर्छ । यी पत्रकारिताका विवेकशील मानक हुन् तर यो पेसा कति व्यावसायिक हो त भन्ने कुरामा कानुन व्यवसायीले गर्ने वकालत जस्तो पत्रकारिता व्यवसाय होइन । उद्योगी व्यवसायीले गरे जस्तो उद्योग व्यवसाय पनि होइन । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धतासँग चल्ने पेसा हो तर केही मूलभूत कुरामा आचारसंहिता मान्नु र आफूले आफैलाई स्वनियमन गर्नुपर्ने वैधानिक कानुनी बाध्यता छ । साहित्यमा पनि अवस्था झन्डै उस्तै छ । यी पनि उज्यालो खोज्ने यात्रामा बाधक भए भने मिल्क्याएर अगाडि बढ्ने प्रयास गर्नु सामुदायिक पत्रकारिताको बाध्यता हो ।

    ‘म अझै विश्वस्त छु कि यदि तपाईंको चाहना संसार परिवर्तन गर्ने छ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो’ भन्ने विश्वविख्यात बेलायती नाटककार टोम स्टोपार्डको भनाइले प्रष्ट पारेको छ, पत्रकारिता सकारात्मक परिवर्तनको बाधक नभएर सहयोगी हो । टोमको भनाइले अन्यायको विरुद्ध, सामाजिक कुरीतिका विरुद्ध संसार बदल्ने हतियारको रूपमा पत्रकारिता र त्यसको कुशल सिपाहीको रूपमा पत्रकारलाई अथ्र्याएको छ  । त्यसैले पत्रकारितालाई सामाजिक कुरीतिको व्याख्या गर्ने, घटना बताउने र वर्तमान सामाजिक तस्बिर जस्ताको तस्तै देखाउनेभन्दा पनि समाजको रुग्णतालाई यथास्थितिबाट बदल्ने माध्याम बनाउनु आजको आवश्यकता हो ।

    पत्रकारितामा निष्पक्षता
    निष्पक्षता भन्नु कुनै वा कसैको समर्थन वा विरोधमा नरहनु हो । पीडक वा पीडित कुनै पनि पक्षको वकालत नगर्नु हो । घटना जे जस्तो छ र जसरी भएको छ, त्यसलाई जस्ताको त्यस्तै सञ्चारमाध्यमबाट प्रस्तुत गर्नु हो । उक्त घटनाबारे समाचार सामग्रीमै पत्रकार र सञ्चारकर्मीले आफ्ना मत वा धारणा नदिनु हो ।

    सूचनाका लागि पत्रकार यस्तो हुनु जरुरी छ तर फिचर, लेख वा सम्पादकीयमा व्यवहारतः निष्पक्षताबारे विरोधाभास देखिन्छ । त्यो पक्षबारे पत्रकारको ध्यान खासै पुगेको देखिन्न ।

    पत्रकार, सम्पादक, सञ्चारकर्मी आफैमा अमूर्त र निर्विवेकी वस्तु होइन, ऊ यही समाजको अङ्ग हो, उत्पादन हो । ऊसँग सामाजिक चेतना हुन्छ† मानवीय संवेदना हुन्छ† उसका व्यक्तिगत विचार र दर्शन हुन्छन् । सत्य र असत्य छुट्याउने, विश्लेषण गर्ने खुबी हुन्छ । त्यसैले लेख वा सम्पादकीय लेखेर भए पनि उसले आफ्नो निर्णय नसुनाइरहन सक्दैन ।

    यसर्थ एउटा सञ्चारकर्मी, सम्पादक, पत्रकार कहिल्यै पनि निरपेक्ष रहन सक्दैन । घटना वा विषयको पक्ष वा विपक्षमा घोषित–अघोषित रूपमा ऊ रहेकै हुन्छ।

    हरेकजसो मिडिया (विशेषगरी छापा र अनलाइन) मा पत्रकार–सम्पादकले कुनै तात्कालिक विषय वा सन्दर्भमा लेख वा सम्पादकीयमार्फत् आफ्ना विचार र दृष्टिकोण दिइरहेका हुन्छन् । शुद्ध सूचना वा समाचारमा पत्रकारले तर्क दिनुलाई जायज मानिँदैन । त्यसमा दोहोरा प्रमाण, भनाइ राखिदिनेसम्म गरिन्छ तर निर्णय गर्ने जिम्मा अदालतको हुन्छ ।

    विवादित घटनामा समेत पत्रिकामा सम्पादकीय लेखेर निर्णय सुनाउने चलन अहिले ह्वात्तै बढेको छ । ती लेख र सम्पादकीय पत्रकार वा सम्पादकले नै लेख्ने हुन् । त्यसमा उनीहरूले समाचारमा जस्तो ‘निष्पक्षता’ देखाउन जरुरी छैन तर अगाडि नै भनिसकियो कि कतिपय सूचनासमेत सापेक्ष (कुनै देखाउनुपर्ने र लुकाउनुपर्ने) हुन्छन् । वित्तीय पुँजीवादले आफ्नो मूल्य रक्षा र बर्चस्वको लागि बनाएका कर्पोरेट पत्रकारिताका सबै सीमाको सम्मान गर्न जरुरी छैन । त्यसमा विवेकसम्मत निर्णय लिने पत्रकार स्वयम्ले हो ।

    सूचना साम्राज्यवादबारे बुझ्नैपर्ने कुरा
    अहिलेको सूचना तथा सञ्चार स्वतन्त्र र निस्पक्ष छैन भन्ने कुरा हामीले सञ्चारमा संसारलाई नियन्त्रण गरिरहेको अमेरिकाको आमसञ्चार नीति हेरेर सहजै अनुमान गर्न सक्छौँ । अमेरिकालगायत पश्चिमाले अहिले संसारका अधिकांश देशमा समाचार उत्पादनको अन्यायपूर्ण शैली पैठारी गरिरहेका छन् ।

    साम्राज्यवाद नियन्त्रित सूचना सञ्चारको आधुनिक प्रविधिमार्फत उनीहरूले सूचना अफवाह फैलाई संसारलाई तथ्यगत जानकारीबाट धेरै टाठा पु¥याइरहेका छन् । जुन तथ्य टकर काल्सनले पुटिनको अन्तर्वार्ता लिएपछि पुनः संसारले बुझ्ने मौका पायो । त्यो अन्तर्वार्ताद्वारा पश्चिमाले कसरी युक्रेनलाई खरानी बनाउँदै रुसलाई युद्धको लागि उकासिरहे भन्ने कुरा पुटिनकै बोलीमा सुन्न र बुझ्न पाए । त्यो घटनापछि साम्राज्यवादीले सूचना र सञ्चारमा संसारका सबै नागरिकलाई समान पहुँच दिएका छैनन् भन्ने कुराको राम्रोसँग पुष्टि भयो ।

    यिनै र यस्तै कारणले गर्दा साठीकै दशकबाट सूचना र सञ्चार क्षेत्रमा साम्राज्यवादी बाधा पन्छाउन विकासशील देशले नयाँ विश्व सूचना तथा सञ्चार व्यवस्था (एनडब्ल्युआइसिओ) स्थापना गर्नुपर्ने विषयमा बहसको थालनी गरेका थिए । परिणामतः संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्को) अन्तर्गत सन् १९८० मा मेकब्रिड आयोग गठन भएको थियो । सञ्चार जगत्मा निश्चित समूहको एकाधिकार हटाउन सो आयोगले विभिन्न सिफारिस गरेको थियो ।

    स्मरणीय कुरा, मेकब्रिड आयोगका सिफारिसलाई आफ्नो सञ्चार प्रभुत्व खुम्चाउन खोजेको ठानेर अमेरिका र बेलायतले प्रेस स्वतन्त्रतामाथि हमला भएको हवाला दिँंदै युनेस्कोबाट हात झिकेका थिए ।

    अमेरिकाद्वारा नियन्त्रित सूचना स्रामाज्यवादले संसारभरि आफ्नो स्वार्थअनुसार प्रोपागान्डा मच्चाउनको लागि सूचना नीति निर्माण गर्छ । आफ्नो प्राथमिकताका तहलाई क्रमबद्ध रूपमा लागु गर्नको लागि संसारभरिका कठपुतली सरकारद्वारा नियन्त्रित सञ्चार साधन, मिडिया हाउसका लगानीकर्ता र आफूद्वारा परिचालित पत्रकारलाई आदेश दिन्छ ।

    थाहा भएकै कुरा हो, पश्चिमाले विकासशील देशका मुद्दालाई सधैँ ओझेलमा राख्छ । त्यसको परिणामस्वरूप विश्व मामिलाको समाचार सम्प्रेषणमा साम्राज्यवादद्वारा नियन्त्रित सञ्चारमाध्यमले पक्षपात गर्नु सामान्य हो । साम्राज्यवादले आफूलाई हेर्ने तेस्रो विश्वको धारणासमेत पश्चिमा कोणले निर्धारण गर्ने गरेको छ । हामीलाई पुँजीवादी व्यवस्थाका सकारात्मक पक्षबारे सुनेर नथाक्ने खालका बखान सुनाइन्छ । क्रमशः हाम्रो मनोविज्ञान उनीहरूको स्वार्थअनुकूल बनाउँदै लगी मान्छेलाई रक्तवाहिनी रोबर्टमा रूपान्तरण गरिन्छ ।

    सूचना साम्राज्यवादको सबभन्दा ठुलो समस्या भनेको लक्षित क्षेत्रमा उसले दिने आर्थिक र राजनीतिक दबाब हो । त्यसले कुनै निश्चित राजनैतिक प्रणाली र विकासको ढाँचालाई जबर्जस्ती अब्बल प्रमाणित गर्दै त्यही व्यवस्था अन्य देशमाथि थोपर्ने प्रयास गर्छ । उसले थोपरिएको युद्धोन्माद, हत्या, लाखौँको आमहत्यालाई समेत सही कारबाहीको रूपमा व्याख्या गरिरहन्छ । उसले आफ्नो सङ्कटमा युएनको आदेशलाई पनि रद्दीको टोकरीमा फ्याँकिदिन्छ । त्यसको उदाहरण गाजामा अमेरिकी तथा इजरायली सेनाद्वारा गरिएको आम नरसंहार वा जातीय सफाया हो अनि नरसंहारको विरोध गर्ने देशमाथि गरिएको नाकाबन्दी र नेतृत्वको दानवीकरण पनि हो ।

    सूचना साम्राज्यवादका यस्ता धेरै उदाहरणमध्ये तिब्बत, हङकङ, ताइवान, सिन्च्याङ, इरान, इराक, उत्तर कोरिया, इजरायल, दक्षिण अफ्रिका, भेनेजुएला, क्युबा, हमास युद्धलगायतबारे पश्चिमा मिडियाद्वारा भइरहेको समाचार उत्पादनलाई नियाल्न सकिन्छ । पश्चिमा सञ्चारमाध्यमले हङकङमा कसरी शासन चलाउनुपर्छ भनी आदेश दिन खोज्दै छन् । सिन्च्याङका अतिवादीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरू चीनलाई सिकाउन खोजिरहेका छन् ।

    तिब्बतमा कुन संस्कृतिलाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा उपदेश दिन खोजिरहेका छन् । भारतले के गर्नुपर्ने पाठ पढाउँदै हिड्छन् तर आफ्नो देशको रङ्गभेदमा मारिएका जर्ज फ्लोयड, अमेरिकामा विद्यार्थीमाथि भइरहेको अतिदमन, बन्दुक आतङ्क, युरोपमा किसानका विशाल प्रदर्शनको बारेमा केही बोल्दैनन् ।

    इराकमा आमविनाशकारी हातहतियार भएको भनी अमेरिकी सञ्चारमाध्यमले दिएका बयानलाई हामीले सबभन्दा पछिल्लोपटक विश्वास गरेका थियौँ । यस्तै मिसनमा साम्राज्यवादी समाचार उत्पादनकै कारण मध्यपूर्वमा विपत्ति निम्तियो । जुडिथ मिलर जस्ता अमेरिकी पत्रकारलाई सन्देहास्पद पात्रले इराकमा आम विनाशकारी हतियार भएको समाचार बनाउन भीषण दबाब दिए । मध्यपूर्वको सिङ्गो शान्त देश मानव कङ्कालले भरियो । अझै उनीहरूले प्यालेस्टाइनजनताको रगत पिइरहेका छन् । हामी अझैसम्म त्यही आधारले उत्पादन गरेका न्युजको भ्रमले बाँचिरहेका छौँ ।

    पत्रकार, लेखक, साहित्यकार वा दार्शनिकले आफूलाई ठोस रूपमा लिन र सुदृढ पार्न सक्रिय बन्नु, पुरानो अधिरचनासहित मरणोन्मुख आधारको उन्मूलनको निम्ति जोखिम मोल्दै कलमलाई सक्रिय बनाउनु आवश्यक छ । त्यसैले यो वैश्विक साम्राज्यवाद विरुद्धको ध्रुवीकरणलाई तीव्रता दिने समय हो । साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न वैश्विक संयुक्त मोर्चा निर्माण गर्दै क्रमशः आफ्ना मौलिक विशेषतासहितको समाजवादी आधार तथा अधिरचनाबारे बहसलाई तीव्रता दिने समय हो । व्यक्तिवादभन्दा सामूहिकतावादतर्फको चिन्तन प्रणाली संसारको उत्कृष्ट सोच हो । त्यसका लागि लेख्ने, बोल्ने र भविष्यको उज्यालोबारे संसारलाई जागरुक गर्ने समय हो ।

    यदि अधिरचनाका अङ्गले आधारको सहायक भूमिका निभाउन छाडे भने, यदि अधिरचनाले आफ्नो आधारका प्रत्येक जोर्नीलाई कस्न छोडे भने अधिरचनाको स्वरूपले अर्को प्रणालीको माग गरिरहेको हुन्छ वा नयाँ प्रणालीको लागि राज्यविप्लवको । त्यति बेला सही सूचना र दिशानिर्देशको महत्त्वपूर्ण भूमिका हुन्छ । क्रमशः अग्रगामी परिवर्तनको लागि कलमले अघिल्लो आधारको सेवा गर्न छोड्छ र रूपान्तरणको लागि जोखिमपूर्ण भूमिका खेल्न थाल्दछ । अन्तमा कलम आस्थामा रूपान्तरण हुन्छ र समाजको नेतृत्व गर्न थाल्दछ । त्यसैले कलम हजारौँ मेसिनभन्दा शक्तिशाली हुन्छ भनिएको हो ।

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.