काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
राष्ट्रियसभाको सोह्रौँ अधिवेशनको पहिलो दिन २०८१ वैशाख २८ गते शुक्रबार मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘सडकमा सहकारीपीडित, मिटरब्याजपीडित, लघुवित्तपीडितको आन्दोलन चल्यो तर सरकारले उनीहरूको माग सम्बोधन गर्न सकिरहेको छैन । यो सरकारका गृहमन्त्रीबारे पनि चर्चापरिचर्चा छ’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा आफै सचेत भएर गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने हो ।’
उहाँले यस्तो अवस्थामा देशका महान्यायाधीवक्ता र प्रहरीका प्रमुखले सफाइ दिएकोमा आपत्ति प्रकट गर्नुभयो ।
‘तर उल्टै महान्यायाधीवक्ता, प्रहरीका प्रवक्ताहरूले गृहमन्त्रीलाई क्लिनचिट दिने नाटक गरिँदै छ । यो कुनै पनि प्रजातान्त्रिक मुलुकलाई सुहाउने विषय होइन’ सांसद विश्वकर्माको भनाइ थियो ।
आफूलाई लोकतान्त्रिक मात्रै नभएर कम्युनिस्ट बताउने सत्तासिनको आलोचना गर्दै उहाँले भन्नुभयो– ‘हामी आफूलाई लोकतान्त्रिक, गणतान्त्रिक त्यसमाथि आफूलाई कम्युनिस्ट भन्छौँ । हामीले के गरिरहेका छौँ ? त्यसबारे विचार गरौँ ।’
सांसद विश्वकर्माले भन्नुभयो– ‘यसलाई आत्मसीक्षा गरेर अगाडि बढ्न सकेनौँ भने यसको परिणाम राम्रो आउँदैन । यो निश्चित छ ।’
नोट प्रकरणमा अडिग बढौँ
मन्तव्यको क्रममा सांसद विश्वकर्माले सयको नोटमा देशको नेपालको पूर्ण नक्सा राख्ने विषयमा अडिग रहन सरकारसित आग्रह गर्नुभयो ।
‘हामीले सयको नोटमा नेपालको पूर्ण नक्साको चित्र राख्दा छिमेकीको टाउको दुखेको कुरा आयो । उसलाई साह्रै टाउकोदुखाइ भएर प्रतिक्रियासमेत आएको छ’ उहाँले भन्नुभयो– ‘सधैँ नेपालमा केही नयाँ भयो भने छिमेकीको टाउको दुख्छ, पेट दुख्छ ।’
उहाँले परम्परादेखि भारतले आफूलाई बडे भाइ र नेपाललाई छोटे भाइ ठान्ने मानसिकताको परिणामस्वरूप अहिले यस्तो प्रतिक्रिया आएको विश्लेषण गर्नुभयो ।
‘यो छोटे भाइ र बडे भाइको अवधारणामा अझै सुधार आएको छैन । यो गलत छ’ उहाँले भन्नुभयो– ‘सरकारले यस सम्बन्धमा दह्रो भएर सामना गर्नुपर्दछ ।’
उहाँले अगाडि भन्नुभयो– ‘सरकारले दह्रो भएर जवाफ दिनुपर्दछ, हामी छोटे भाइ र बडे भाइ होइनौँ बरु समान भाइ हौँ । आकारमा सानो वा ठुलो भए पनि अलग राष्ट्रियता भएपछि हामी सबै समान हौँ । यो अन्तर्राष्ट्रिय मान्यता हो ।’
सङ्घीयताको विरोध राष्ट्रियता पक्षमा
सांसद विश्वकर्माले मन्तव्यको क्रममा यसअघि मन्तव्य राख्ने सांसदहरूले सङ्घीयतालाई यसका विरोधीले किनारा लाउँछन् कि भन्ने प्रसङ्गमा टिप्पणी गर्नुभयो ।
‘सङ्घीयताका विरोध गर्नेहरू सबै एउटै डालेमा हाल्ने जस्ता छन् कि छैनन् ? तपाईंहरूले विचार गर्नुहोला’ उहाँले भन्नुभयो– ‘कतिपयले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयतालाई एउटै कुम्लोमा राखेर विरोध गर्दछन् । यता, सङ्घीयता नचाहने हामी पनि हौँ तर हामीले गणतन्त्र, लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता जोगाउन सङ्घीयताको विरोध गरेका छौँ ।’
मन्तव्यको क्रममा उहाँले सङ्घीयता एउटा शासकीय प्रणाली मात्रै भएको बताउँदै नेपालको सन्दर्भमा सङ्घीयता अनुपयुक्त भएको बताउनुभयो ।
उहाँको निष्कर्ष थियो– ‘हाम्रो देशलाई सङ्घीयता चाहिन्न भन्ने पक्षमा हामी छौँ ।’